​नक्कली मधेसमैत्रीको पोल खोल्दै विजय दत्त र तुलनारायण

प्रा.डा. बद्रीविशाल पोखरेल । बौद्धिक तथा लेखकीय व्यक्तित्व तुलनारायण साहको चिन्तन,चेतना र चरित्रमा परिवर्तित तराइ मधेसको वास्तविक अनुहार अवगत हुन्छ । तिलाठीमा भारतीय बाँधका कारण डुवान परेर असह्य भई बाँध भत्काउन जाँदा सांघातिक आक्रमणमा परेका लोकतान्त्रिक देशभक्त व्यक्तित्व  देवनारायण यादवका मुहारमा परिवर्तित तराइमधेसको मुहार पढ्न सकिन्छ । तराइमधेसबाट उठेका बौद्धिक प्राज्ञिक व्यक्तित्व प्राध्यापक विजय दत्तका सारगर्भित स्वतन्त्र र समीक्षात्मक गहन तथा खोजपरक लेखबाट सामन्ती तथा अभिजात्यवादी कथित प्रजातन्त्रवादी नेताको कुटकलुषित नक्कली  मधेसमैत्री राजनीतिको पोल खोलिएको देखिन्छ । हुन पनि एक तथ्यांकले २०४६ सालपछि लामो समय शासन गर्ने पार्टी नेपाली काङ्ग्रेस  रहेको देखिन्छ । यस पार्टीले ५३ प्रतिशत समयावधि भरि देश र जनताको हित गर्छु भनी कसम खाएर शासन सत्ता सम्हालेको देखिन्छ । कांग्रेसले २०७४ भाद्र १० गतेसम्मका दिनमा कृष्ण प्रसाद भट्टराई देखि हालका  शेरबहादुर देउबाले गरी ४८८६ अर्थात् चार हजार छयासी दिन सरकार सञ्चालन गरेको रेकर्डले बताउँछ । त्यस पछि एमालेले मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्म गरी जम्मा १४०९ दिन अर्थात् १५ प्रतिशत समयावधिसम्म सरकार सञ्चालन गरेको देखिन्छ । त्यसपछि माओवादीले १२ प्रतिशत, राप्रपा ११, प्रतिशत, ज्ञानेन्द्र शाहले ५ प्रतिशत र स्वतन्त्रले ४ प्रतिशत समय अवधि सरकार सञ्चालन गरे । तर पनि एमाले नेतृत्वका सरकार लोकप्रिय रहेको र अझ यही पार्टी नेतृत्वका  दुई दुईवटा नौ महिने सरकार देश,जनता र जनजीविका, राष्ट्रहित र उत्थानमा अविस्मरणीय देखिन्छन् । जुन देशमा कांग्रेसले सबै भन्दा बढी सरकार सञ्चालन गरेर पनि देशका लागि सुल्टो भन्दा बढी उल्टो काम गरेपछि र त्यसमा पनि तराई मधेसको उत्थान र विकासमा खासै ठोस काम नगरेर कसरी त्यस पार्टीले मधेस र मधेसीको हित गरेको ठहर्छ  ? दातृ राष्ट्रहरुले नेपाललाई उपहार स्वरुप प्रदान गरेका सारा उद्योग धन्दा,कलकारखानाहरु मटोका मोलमा बेचेर वेरोजगारी फैलाउन मद्दत गर्ने कांगे्रस तराई मधेसका युवाहरुलाई रोजगार दिने फोस्रो कुरा कसले पत्याउला ढाँटको निम्तो खाइ पत्याउनु भन्छन् । अहिलेसम्म ढाँट्नेहरुले अब जनताको भलो गर्लान् र ? ११ प्रतिशत समयावधि सरकारमा बस्ने माओवादी केन्द्रले तराई मधेसको वास्तविक हितमा के के गरेको छ गन्ती गर्दा थाहा हुन्छ । अनि एमालेका देश,जनता र जनजीविकाका सबालमा गरेको सारा कामहरुलाई देखी नसहेर आम मधेसी जनताका बीचमा एमाले विरोधी भ्रम मात्र छरेर हुन्छ ? जनता यसै पनि लाटो छैन र जनता सधैँ लाटो हुँदैन । त्यसैले तराइमधेस कथित मधेसका मसिहाहरुको भ्रमजालबाट मुक्त हुन थालेका छन् । 
एमालेले सही कुराहरु बारबार आम जनतामा प्रवाह गर्दा अहिले मधेसको मुहार फेरिन थालेको छ । तर नेपाल बुद्धिजीवी परिषद्लगायत सबै मोर्चाहरु आआफ्ना प्रतिभा र क्षमताहरुलाई बेलैमा एक्कैचोटी प्रभावशाली रुपमा परिचालित गरेको भए अहिले मधेस देश र मधेसको विखण्डन विरुद्ध गुणात्मक रुपमा उठिसक्ने थियो । तर अहिले तराई मधेसको मुहारमा बदलाव आउन थालेको छ । बुद्धले अङ्गुलीमाल जस्तो हत्यारालाई सम्झाएर सज्जन बनाएझैँ सारा भ्रमित सिदासादा जनताहरुलाई सम्झाउनसक्ने हो भने तिनै जनताहरु देश मधेसको बलियो रक्षाकवच हुनेछन् र तिनै कहिल्यै नहल्लिने र नभत्किने एमालेका दरिला र बलिया आधार इलाका हुने छन् तर यसका लागि एमालेहरु सयौँ सही सिद्धान्तका आधार सहित एकै सही व्यवहारका साथ जनताका बीचमा अन्तरघुलन हुनसक्नु पर्छ ।      
   तुलनारायण साह तराइमधेसबाट प्रतिनिधित्व गर्ने बौद्धिक तथा लेखकीय व्यक्तित्व हुन् । उनले तराईमा प्रायोजित रुपमा परिचालित देश,तराई मधेस विखण्डनकारी कुरुप अभियान र आन्दोलनको यथार्थ विश्लेषण गरेका छन् । उनले संविधानको विफलता दोषी को ? नामको यही भाद्र ९ गते एक लोकप्रिय पत्रिकामा प्रकाशित लेखमा नेपाली काङ्ग्रेस सहित सत्ताधारीका प्रायोजनमा केही कथित मधेसी नेताका विखण्डनकारी हर्र्कतको पोल खोलिदिएका छन् । साहले तराइमधेस र त्यहाँका जनताका हितमा तात्कालिक र दीर्घकालीन विकास निर्माणका कामहरु गर्दागर्र्दै पनि एमाले पार्टी र यसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई मधेसविरोधी भनेर गरिएको आरोप फजुल र फरेबपूर्ण रहेको बताएका छन् । त्यसैगरी तराई मधेसका प्राध्यापक विजय दत्त बौद्धिक प्राज्ञिक लेखक हुन् । उनले पनि तराइ समस्याका वास्तविक समस्याहरुको यथार्थपरक व्याख्या र विश्लेषण गरेका छन् । उनले केही दिन अघि एक राष्ट्रिय स्तरको पत्रिकामा मधेसबारे उल्टो बहस शीर्षक लेखमा तथ्य तथ्याँक सहित लेखेको खोजपरक लेखमा तराइमधेसको वास्तविक अनुहार स्पष्ट पारेका छन् । दत्तले तराइमधेसमा आम सीमान्तीकृत जनताहरु त्यहाँ सुनियोजित रुपमा पछि पारिएको उल्लेख गरेका छन् । उनले तराईमा चिडीमार, लोघ, ताजपुरिया, राजवंशी, सखरिया, सतार, नटुवा, हलखोर, डोम, माली, धुनिया, बिन, हजाम, खत्वे, तत्मा, दुसाध, र मुसहरहरु मधेमा नै प्रताडित रहेको छन् । दत्तले नयाँ संविधानबारे दक्षिण छिमेकी र पश्चिमेली देशहरुको द्वैध चरित्रका कारण तराइ,पहाड हिमाल बीचको सम्बन्धमा रेखा कोरिएको अवस्था थियो । यसैको परिणाम स्वरुप नेपालले नाकाबन्दी व्यहोर्नु परेको बताएका छन् । र दत्तले मधेसमा एमाले प्रति भ्रमहरु छरिएको उल्लेख पनि गरेका छन् । त्यसैगरी लोकतान्त्रिक देश र मधेसभक्त देवनारायण यादव तिलाठीमा भारतले बाँधेको उच्च बाँधका कारण तिलाठीको क्षेत्र डुवानमा परेको परेको देखी नसहेर बाँध भत्काउन बाध्य भएका व्यक्तित्व हुन् । यादवले कतै कसैले केही नगरेपछि असहाय पीडाको अभिव्यक्ति स्वरुप देश मधेसमा भारतीय शासकबाट गरिएको चरम थिचोमिचोका विरुद्ध उठ्न बाध्य पारिएका व्यक्तित्व हुन् । 
नेपालको दक्षिण सीमावर्ती क्षेत्रमा त्यहाँका जनताहरुले भारतीय शाषकको सबै खालको थिचोमिचो भोगेका छन् । यसलाई मौन समर्थन गर्ने शेर बहादुर देउबा नामको  कांग्रेसी सरकार तमाम तराई मधेसको हित र उत्थानमा नभएको तराइबासी सचेत व्यक्तिहरुले बताइरहेका छन् । अहिले प्रदेश नं.२ को निर्वाचनको संघारमा छ ।
स्थानीय निर्वाचन अत्यन्त महत्वपूर्ण रहेको छ । यसमा अवसरवादी राष्ट्रवादी पक्षले बहुमत ल्याउँदा मधेसको पहिचान गुम्ने अवस्था टड्कारा देखिन्छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित फेरि दुई तिहाई पु¥याएर संविधान संशोधन गरेर हिन्दी भाषालाई साझा,सम्पर्क र काम काजको भाषा बनाएर यस भाषालाई स्थापित गर्ने अनि मैथिली,भोजपुरी लगायत नेपालका भाषाहरुलाई विस्थापित गर्ने दुष्कर्म हनसक्ने देखिन्छ । तसर्थ देशमधेस विखण्डनलाई जोगाउने यो अन्तिम घडी हो । यस निर्वाचनामा विखण्डनकारी पक्षले विजय हासिल गर्नु देश र मधेस विखण्डनमा जाने ठूलो खतरा हो । 

Related News