वाग्मतीको अवस्था फेरि दयनीय

दृष्टि न्यूज

काठमाडौं, ३० पुस। मुहानदेखि नै वाग्मती सफा गरौं भन्ने नाराका साथ पुडासैनी मैत्री समाजको नेतृत्वमा संचालन भैरहेको वाग्मती सफाई अभियानको २०५ औं श्रृंखला २०७४ पुस २९ गते सम्पन्न भएको छ । वाग्मती अभियानकै क्रममा गतबर्ष यहि मौसममा लुगा धुने र नुहाउनेहरुको भीड देखिने गुह्येश्वरी भन्दा माथिल्लो भेगको वाग्मती नदी यसबखत पुन एकपटक मलमुत्रले बिकृत बनाएको छ । नदीमा खुल्ला रुपमा मिसाईएका ढलहरु र यत्रतत्र फालिन थालिएका फोहोरहरुले नदीलाई सफाई अभियान पूर्वको अवस्थातर्फ उन्मुख गराई रहेको अनुभूती जो कोहीले गर्नसक्छ । पछिल्लो समय नदीमा माछाहरु देखिन थालिएका समाचार बाहिर आईरहेको बखत नदीका माछाहरु धमाधम मर्न थालेको र वाग्मती नदी प्राणीबिहिन बन्न थालेको छ । गोकर्ण–सिनामंगल क्षेत्रको वाग्मतीमा सौन्दर्यीकरण परियोजना संचालन भैरहँदा नदी किनारको संरक्षण र नदी भित्र ढलको फोहोर खसाल्ने कार्यमा जनस्तरबाट निगरानी पुर्याउन नसक्नु र जिम्मेवार निकाय यसप्रति उदासिन हुनुको परिणतीका रुपमा वाग्मती नदी फेरि एकपटक फोहोर बनिरहेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान तत्कालै पुग्नु जरुरी छ । 
यसैबीच माथिल्लो भेगमा संचालन भैरहेको वाग्मती सफाई अभियानको २०५ हप्ताको कार्यक्रममा नदी र नदी किनारबाट फोहोर संकलन गर्नेकार्य सम्पन्न भएको छ । यसक्रममा नदीभित्र साना ठुला बग्रेल्ति मरेका माछाहरु फेला परेका थिए । नदीको पानीमा मलमुत्रको मात्रा बढ्न थालेको र अक्सिजनको मात्रमा कमि आएका कारण माछाहरु मरेको बिज्ञहरुको धारणा रहेको छ । 

Related News