नेपालबाटै १८ करोड

काठमाडौं, ३० वैशाख । दस दिनमै विश्वभरबाट एक हजार करोड भारुको कीर्तिमानी कमाइ गरेको फिल्म ‘बाहुबली–२’ ले नेपालमा पनि दुई सातामै १८ करोड रुपैयाँ जुटाएको छ । यसअघि नेपालकै ‘छक्कापन्जा’ ले पुगनपुग १६ करोड रुपैयाँको व्यापार गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

‘बाहुबली–२ ले पहिलो सातामा मात्रै नेपालबाट १३ करोड रुपैयाँको कमाइ गरेको थियो,’ परिचय गोप्य राख्ने सर्तमा स्रोतले कान्तिपुरसँग भन्यो, ‘दोस्रो सातामा चुनावी माहोलले मोफसलका सिंगलस्क्रिन हलमा दर्शक चाप कम हुँदा ५ करोड रुपैयाँ मात्रै भएको छ ।’ एसएस राजामौलीद्वारा निर्दे्शित उक्त फिल्मलाई नेपालमा गोपीकृष्ण मुभिजले वितरणको जिम्मा लिएको थियो । फिल्म देशभरका एक सय २५ स्क्रिनमा एक्लो प्रदर्शन पाएको थियो । गोपीकृष्णका प्रबन्ध निर्देशक निरज पौडेलले पनि ‘बाहुबली–२’ ले यसअघिका सबै रेकर्डलाई तोडेको स्वीकार गरे । उनले कमाइको तथ्यांक खुलाउन भने चाहेनन् । 

उनले फिल्म एक करोड ८५ लाख भारुमा किनेको भने बताए । ‘लगभग तीन करोड रुपैयाँ मिनिमम ग्यारेन्टीसहित किनिएको हो । त्यसभन्दा माथिको व्यापारमा ७० प्रतिशत रकम हाम्रै हो ।’ तेस्रो सातामा चलिरहेको फिल्मले नेपालबाट मात्रै २० करोड बढीको कमाइ गर्ने व्यापार विश्लेषकहरू बताउँछन् । २० करोड रुपैयाँ व्यापार गर्दा नेपाली वितरकले झन्डै १२ करोड रुपैयाँ मुनाफा गर्नेछन् । ‘फिल्मको व्यापार अत्यधिक मात्रै हैन, महाअत्यधिक हो,’ गोपीकृष्णसँगकै सहकार्यमा ‘बाहुबली– २’ को वितरण गरेका सुनील मानन्धरले संक्षिप्त प्रतिक्रियामा भने । प्रभास, राणा दग्गुबती, अनुष्का सेट्टी, तमन्ना, रम्या कृष्णन, सत्यराजलगायतको मुख्य भूमिका रहेको तेलुगु फिल्म ‘बाहुबली–२’ ले बलिउडकै बक्सअफिस वर्चस्वलाई समेत तोडिदिएको हो । भारतीय बक्सअफिसमा पनि उक्त फिल्मले ४ सय करोड क्लबको नयाँ लक्ष्य पछ्याउँदै छ । वैशाख १५ देखि प्रदर्शनमा आएको फिल्मले नेपालमा दुई साता सोलो रिलिज पाएको थियो । नौ स्क्रिनको क्यूएफएक्स मल्टिप्लेक्सले मात्रै ‘बाहुबली–२’ लाई सर्वा्धिक ३४ शोजसम्म दिएको थियो । उक्त मल्टिप्लेक्समा तेस्रो साताको शनिबारसमेत ‘बाहुबली–२’ ले १५ शोज पाएको छ । ‘अझै पनि विकेन्डमा शतप्रतिशत अकुपेन्सी छ,’ क्यूएफएक्सका एक कर्मचारीले भने, ‘विक डेमा पनि ८० प्रतिशत सिट भरिभराउ छन् ।’

आफ्नो फिल्मको रेकर्ड तोडिएको खबर पाएपछि ‘छक्का पञ्जा’ का निर्मातासमेत रहेका दीपकराज गिरीले त्यसलाई स्वाभाविक रूपमा लिए । भने, ‘बलिउडकै शाहरूख खान, सलमान खान वा आमिर खानहरूका फिल्मको रेकर्ड त तेब्बर ब्रेक गरिरहेको छ । हाम्रो त ब्रेक मात्रै गरेको हो ।’ यसअघि विदेशी फिल्मको कमाइ रेकर्डमा सलमान खान अभिनीत ‘बजरंगी भाइजान’ को ६ करोड रुपैयाँ रहेको थियो । ‘‘बाहुबली–२’ ले सिंगल प्रतिस्पर्धामा त्यो रेकर्ड राख्न सक्यो । हामी आफ्नै फिल्मले राम्रो गर्दा पनि नाक खुम्च्याउँछौं । हामी नै हाम्रो दुश्मन भइरहेका छौं,’ दीपकराजले असन्तुष्टि पोख्दै भने, ‘‘बाहुबली’ चल्दा हामी खास देख्छौं । हाम्रै फिल्म राम्रै चल्दा पनि खासै केही देख्दैनौं । त्यसैले भारतीय फिल्मलाई गाली गर्नुभन्दा हामी नै स्वस्थ प्रतिस्पर्धामा उत्रनु जरुरी छ ।’ उनले राम्रो फिल्म भएमा दर्शकले साथ दिनेमा ढुक्क छन् ।

Related News