​वैचारिक विचलनको फल

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । नेपाली कांग्रेसका नेताहरु कति अक्षम र अदूरदर्शी रहेछन् भन्ने कुरा उनीहरुको केन्द्रीय समितिको बैठकले गरेको निर्णय नै काफी छ । निर्वाचनको समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकले कांग्रेस पराजयको आन्तरिक कारणलाई लुकाएर एमाले–माओवादी गठबन्धनलाई आफ्नो हारको कारण बनाएको छ । त्यसो त स्थानीय निकायको निर्वाचन कांग्रेस र माओवादी मिलेरै लडेका हुन् भन्ने कुरालाई कांग्रेसले यो बैठकमा बिर्सिएजस्तो छ । यदि वाम गठबन्धनको कारण प्रतिनिधिसभाको निर्वाचन हारेको निष्कर्ष कांग्रेसले निकाल्ने हो भने स्थानीय निर्वाचन माओवादीसँग मिलेर लड्दाको परिणामबारे कांग्रेस रहस्यमय ढंगले मौन छ । कांग्रेस पराजयको भित्री कारण जे भए पनि बाहिरी कारण भनेको उसको अस्पष्ट राजनीतिक दृष्टिकोणको नै हो । भारतीय नाकाबन्दीको कारण एमालेले राष्ट्रवादी छवि बनाएको निष्कर्षले नै कांग्रेस राष्ट्रियताप्रति कति गम्भीर रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । जुन पार्टीको राष्ट्रियताप्रति नै स्पष्ट दृष्टिकोण छैन भने त्यो पार्टीलाई जनताले किन भोट दिने ? हुन पनि भारतीय नकाबन्दीताका कांग्रेसले जारी गरेको वक्तव्यमा भारतीय नाकाबन्दीलाई नाकाबन्दी भन्ने समेत आँट गरेन । त्यो नेतृत्वको नालायकीपन थियो । जसको जवाफ तिनै तहको निर्वाचनमा कांग्रेसलाई जनताले दिइसकेका छन् । अब अर्को निर्वाचन नभएसम्म पाँच वर्ष प्रतिपक्षमा बस्नुको विकल्प कांग्रेससँग छैन । जनताले दिएको त्यो सजाय बहुमत पाएको पार्टीलाई बिगार्न होइन । न कि फेरि राजनीतिक अस्थिरता मच्चाउनकै लागि नै हो । कांग्रेसलाई मत दिने जनताले पनि कांग्रेसले बहुमत ल्याओस् र देशमा स्थिर सरकार बनाओस् भनेरै हो । त्यो मत र मतभित्रको चाहनालाई कांग्रेसले स्वीकार्नु पर्छ । यदि कांग्रेस आफूले पाएको मतको चाहनाविपरीत हिंड्यो भने अर्को निर्वाचनमा पनि जनताले कांग्रेसलाई धुलो चटाउने छ । किनभने यो सातसाल अथवा सत्रसाल अथवा छयालिस साल होइन । सूचना प्रविधिको विकासले गाउँ गाउँका जनता सचेत भइसकेका छन् । उनीहरुलाई ढाँटछल गर्नु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नु हो ।
निर्वाचन अगाडि वाम गठबन्धनले जस्तै कांग्रेसले पनि घोषणपत्र सार्वजनिक गरेको थियो । त्यो घोषणापत्रमा के थियो भन्ने कुरा जनतालाई कांग्रेसले बुझाउन सकेनन् । स्वयं कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका सभाहरुमा हतोत्साही हुँदै ‘कम्युनिष्टको सरकार आए रुन पनि पाइन्न’ भनेर भाषण गरे । उनको यो भाषण सुनेर जनतालाई दया लाग्यो । मुलतः कांग्रेस चुनाव हार्नुको प्रमुख कारण राष्ट्रियताप्रति उसको धरमर नीति र नेतृत्वको विचलन नै हो । स्थानीय निकायको निर्वाचनमा आफ्ना कार्यकर्तालाई ‘हँसिया हथौडा’ मा छाप लगाउन निर्देशन दिने कांग्रेस नेतृत्वले प्रदेश र केन्द्रको निर्वाचनमा ‘हलो’ मा मत दिन आह्वान गरे । कांग्रेसले भनेजस्तै कार्यकर्ताले हसियाँ हथौडा र हलोमा भोट त हाले होलान्, तर हसियाँ हथौडा र हलोमा भोट हाल्नेले रुखमा भोट हालेनन् । यो अपरिपक्व सहमतिको परिणाम थियो । कांग्रेसले यो समीकरण आफू जित्न होइन, एमालेलाई हराउन गरेको षड्यन्त्र थियो । तर, त्यो जालोमा कांग्रेस आफैँ फस्यो । वास्तवमा विचार मिल्ने एमाले–माओवादीबीचको चुनावी गठबन्धन प्राकृतिक थियो भने विचारै नमिल्ने कांग्रेस–माओवादी र राप्रपाको गठबन्धन अपवित्र थियो । नेतृत्वको यही वैचारिक विचलनका कारण कांग्रेसका कार्यकर्ता नेतृत्वसँग रुष्ट भए । कार्यकर्ताको अभिमतविरुद्ध जाँदाको परिणाम कस्तो हुन्छ भन्ने शिक्षा पनि हो यो निर्वाचन ।
अब पनि कांग्रेस सुध्रिएन भने आगामी पाँच वर्षमा हुने निर्वाचनमा कांग्रेसको ठाउँ अन्य लोकतन्त्रवादी पार्टीले लिनेछ । किनभने कांग्रेस आफूलाई जतिसुकै लोकतन्त्रवादी भने पनि उसको चरित्र त्यस्तो छैन । प्रजातन्त्र राजाको पाउमा बुझाएको कांग्रेस नेतृत्वमा राजनीतिक संस्कार र चरित्र नभएको हुँदा उसको प्रतिपक्षको भूमिका पनि शंकास्पद नै देखिन्छ । अहिलेदेखि नै कांग्रेस सभापति देउवाले मुलुकमा अधिनायकवाद स्थापित भयो भनेर रोइकराई गरिरहेका छन् । वास्तवमा देउवा अधिनायकवादसँग होइन, शान्ति, स्थिरता, समृद्धि र सुशासनसँग डराएका हुन् । त्यसैले उनीले देशमा शान्ति, स्थिरता र सुशासन चाहान्नन् भन्ने देखिन्छ । 



Related News