बैकल्पिक ऊर्जामा नियुक्ति दौड

दृष्टि न्यूज

काठमाडौं । वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक नियुक्तिको दौड सुरु भएको छ । केन्द्रको कार्यकारी निर्देशकका लागि नवराज ढकाल, मधुसुदन अधिकारी, रमेश मास्के र रविन्द्र ढकाल लागेका छन् ।
 नवराज ढकाल केन्द्रका कामु कार्यकारी निर्देशक हुन् । मधुसुदन अधिकारी म्यानमारमा जागिर खाइरहेका छन् । मास्के काठमाडौं  विश्वविद्यालयमा कार्यरत छन् भने ढकाल राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट)मा कार्यरत छन् । ऊर्जामन्त्री बर्षमान पुन केन्द्रको कार्यकारी निर्देशकको दौडमा रहेकाहरुसँग मोलमोलाईमा ब्यस्त छन् ।
केन्द्रको कार्यकारी निर्देशक ताक्ने मधुसुदन अधिकारी बुटवलका हुन् । उनी नेकपाका महासचिव बिष्णु पौडेलसँग निकट सम्बन्ध भएकाले उनकै दबाबमा नियुक्ति हुने दाउमा छन् । अधिकारी रातो पासपोर्ट प्रकरणमा मुछिएर पछि विशेष अदालतबाट सफाइ पाएका अध्यागमन विभागका पूर्व महानिर्देशक षडानन्द ढकाल ‘प्रतीक’का आफन्त पनि हुन् । ढकाल पनि उनलाई नियुक्ति गराउन शक्तिकेन्द्रमा धाइरहेका छन् । उनी नेकपाका नेता वामदेव गौतमदेखि प्रधानमन्त्री केपी ओलीसँग पनि कनेक्सन रहेको भन्ने गर्दछन् ।
मधुसुदनले ऊर्जामन्त्री बर्षमान पुनसँग पनि कनेक्सन मिलाइसकेको चर्चा छ । सभामुख कृष्णबहादुर महराका कानुनी सल्लाहकार दिनमणि पोखरेल पनि अधिकारीलाई केन्द्रको कार्यकारी निर्देशक बनाउनका लागि नेताहरुकोमा धाइरहेका छन् ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालको कार्यकाल सकिसकेपछि उर्जामन्त्री पुनले नवराज ढकाललाई ६ महिनाका लागि कामु दिएका छन् । ढकालले बर्षमान पुनको मन जितेर ६ महिनाका लागि कामु कार्यकारी निर्देशक पाएका हुन् । र, पुनको जोडमा आफ्नै नियुक्ति हुने कुरामा ढुक्क छन् । ढकाल गुल्मीका हुन् । उनी पनि ५ नम्बर प्रदेशका नेकपाका नेताहरुसँग कनेक्सन मिलाएर कार्यकारी निर्देशक हुन साम दाम दण्डभेदको नीति अंगिकार गरी लागेका छन् । यसअघि मधुसुदन अधिकारी र नवराज ढकाल धिताललाई हटाउन निकै मेहनतका साथ लागेका थिए । धितालको पुनर्नियुक्ति गर्ने भनेर मन्त्री पुनले आश्वासन दिएर लिनुसम्म फाइदा लिइसकेपछि बिदा गरेका छन् । धितालको बिदाईपछि केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा मन्त्री पुनले चारैजनासँग बार्गेनिङ गरिरहेको स्रोत बताउँछ ।  

Related News