​कहाँ अड्किएको पार्टी एकता ? बल प्रचण्डको कोर्टमा

दृष्टि न्यूज

रवीन्द्र श्रेष्ठ । एमाले–माओवादी पार्टी एकता अहिले आएर नेताहरुको व्यक्तिगत स्वार्थमा अल्झिएको छ । पार्टी एकतापछि कार्यकारी अध्यक्ष को हुने र महाधिवेशनपछि को अध्यक्ष को हुने ? भन्ने विषय मात्र होइन, प्रधानमन्त्री पद पाँच वर्षभित्र आधा आधा बाँड्ने कि एउटैले पाँच वर्ष कार्यकारी अध्यक्ष अर्को एउटैले पाँच वर्ष प्रधानमन्त्री खाने भन्ने विषयमा गएर पार्टी एकता अड्किएको छ । पार्टी एकताको विषय दुई अध्यक्षलाई टुंग्याउने जिम्मा दिइएको समाचार सार्वजनिक भएको धेरै समय भइसकेको छ । तर दुई अध्यक्षहरुले यसलाई अन्तिम स्वरुप दिन भने सकेका छैनन् । यसो हुनुको मुख्य कारण प्रचण्डलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पद एकै पटक चाहिएको छ ।
पार्टी एकता रोकिएको कारण वैचारिक होइन भन्ने कुरा यिनै घटनाबाट प्रष्ट भइसकेको छ । न त बहुदलीय जनवाद वा सूर्य चुनाव चिन्हले पार्टी एकता रोकिएको हो, न त माओवाद वा जनयुद्ध शब्दले नै पार्टी एकता रोकिएको हो । ती विषयमा सम्झौता गर्न नेताहरु तयार भइसकेका छन् । कार्यकर्ता पंक्तिमा लेनिनको फोटो राख्ने वा नराख्ने भन्ने विवाद चर्को रुपमा प्रकट भएपनि नेताहरुमा यस्ता विवादले खासै महत्व राख्न छोडेको धेरै भइसकेको छ । वैचारिक विषय मिलाउन वा नमिलाउन यी नेताहरु सिपालु भइसकेका छन् । कुनै जमाना यस्तो थियो कि  यी नेताहरु विचारका विषयमा ‘तेश्रो विश्व युद्ध’ लड्ने गर्दथे । एउटा शब्द, अर्धविराम र पूर्णविराममा पनि ठूलो वैचारिक संघर्ष चलाउने गर्दथे । त्यो कट्टरपन्थी उग्रविचारवादले अहिले आएर विचारभन्दा पनि व्यवहार ठूलो भन्दै वैचारिक विषयलाई कलियुगका पण्डितहरुको मन्त्रपाठ गरे जस्तो मात्र  गरिरहेका छन् । कलियुगका पण्डितहरुले यजमानहरुलाई धर्मकर्म सिकाउने भन्दा पनि दान र दक्षिणामा ध्यान केन्द्रित गरे जस्तै यी नेताहरुले पनि पद, पावर, प्रतिष्ठा र त्यसबाट प्राप्त हुने सुख सुविधामा ध्यान केन्द्रित गर्न थालेको हुनाले नै एमाले र माओवादी केन्द्रबीच हुनै आँट्यो भनिएको पार्टी एकता संकटमा पर्दै गएको छ । 
वाम गठबन्धनको बाध्यता
चुनावी तालमेल र पार्टी एकता दुवै पार्टीका लागि त्यो बेला बाध्यता थियो । यदि चुनावी तालमेल मात्रै भनी पार्टी एकता गर्ने उद्देश्य नभनिएको भए कार्यकर्ता तथा मतदाताले चुनावी तालमेललाई असफल बनाउने सम्भावना पनि थियो । पार्टी एकता चुनावलगत्तै छिटै गरिनेछ र समय अभावले मात्रै पार्टी एकता सम्पन्न गर्न नसकिएको हो भनेर नेताहरुले कुशलतापूर्वक जनता र कार्यकर्तालाई ढाँटन् सकेको हुनाले मात्रै त्यो बेलाको चुनावी तालमेल सफल हुन सकेको थियो । त्यो बेला जनता र कार्यकर्ताले नेताहरुका कुरा पत्याइदिए । तर अहिले आएर  धोका पाएको अनुभूति गर्न थालेका छन् । 
पार्टी एकताको पक्षमा जनता र कार्यकर्ताहरुको तर्क एकदम सरल छ, चुनावबाटै सरकारमा गएर देश र जनताका पक्षमा राम्रा कामहरु गछौं भन्ने कम्युनिष्ट पार्टीहरु सबै एउटै पार्टी बनाएर चुनाव लडे भने बहुमत पक्कै यस्ता कम्युनिष्टहरुले जित्नेछ  र देशमा वर्षै पिच्छे सरकार फेरिने अस्थिरताको रोग हट्नेछ । यसपछि देश र जनताको पक्षमा केही कामहरु हुने आशा जनताले लिएका थिए । सर्वसाधारण जनता र सोझासिधा कार्यकर्ताहरुको यस्तो विश्लेषण विल्कुल सही थियो । तर नेताहरुले बारम्वार यस सरल वैज्ञानिक र यथार्थवादी विश्लेषणका विरुद्ध काम गर्दै आएका छन् । 
पद र पावरमा अड्कियो
एमाले र माओवादीबीचको फुटको कारणले नै विगत १२ वर्षमा गम्भीर राजनैतिक अस्थिरताले देश आक्रान्त भइरह्यो । अहिले यसलाई सच्याएर अघि बढ्ने सुनौलो अवसर दुबै दलका नेताहरुलाई आएको छ । तर देश र जनताका लागि काम गर्न पार्टी एकता गर्ने घोषित उद्देश्य परित्याग गरेर नेताहरु आफ्नो पद, प्रतिष्ठा, पावर र त्यसबाट प्राप्त हुने फाइदाको बाँडफाँडमा छिनाझपटी गरेर पार्टी एकताको विषयलाई व्यक्तिगत स्वार्थको साधन बनाउने कसरतमा लागेका छन् । 
जसरी सिद्धान्तको विषय वा विचारका विषयहरु पार्टी एकतामा जाँदा लेनादेना हुने हुन्छ, त्यसरी नै पद र पावरको विषय पनि लेना देना हुनुपर्ने हो । दुबै पक्षले आफ्नो  विचार र सिद्धान्त तथा पद र पावरका विषयमा अडान नछोड्ने हो भने पार्टी एकताको सम्भावना नै रहँदैन । अहिले एमाले र माओवादी दुबै पक्षका नेताहरुले विचार र सिद्धान्तका विषयहरुमा लेनादेना गरेर सम्झौता गरिसकेका छन् । तर उनीहरुले पद, पावर र प्रतिष्ठाको विषयमा लेनादेना गर्न ढिलो गरेको कारणले ‘कम्युनिष्ट पण्डित’ हरुले भन्दै आएका शुभसाइतहरु   (लेनिन दिवस र माक्र्स दिवस)मा एकता घोषणा हुन सकेको छैन । अहिले पार्टी एकता नहुनुको प्रमुख दोषी बाह्य शक्ति नभएर मुख्य रुपमा प्रचण्ड नै हुन् । अन्य एकता नचाहने शक्तिहरुले त आफ्नो स्वार्थ अनुसार अनेक दाउ रच्ने नै भए । तर यी दुई पार्टीका प्रमुख नेताहरुले किन अरु शक्तिहरुलाई खेल्ने समय दिइरहेका हुन् ?
देश र जनताको भविष्य पार्टी एकता हुँदा बन्ने हुन्छ या यी दुई पार्टीबीचको पार्टी एकता नहुँदा हुने हुन्छ भन्ने कुरा यी पार्टीहरुका प्रमुख नेताहरुले देशको स्वार्थलाई प्रधानता दिन्छन् वा आफ्नो व्यक्तिगत स्वार्थलाई प्रधानता दिन्छन् भन्ने कुरामा भर पर्दछ । यदि व्यक्तिगत स्वार्थलाई नै प्रधानता दिने हो भने पार्टी एकता हुनु र नहुनुले देश र जनतालाई केही फरक पार्नेछैन । अहिले गृहमन्त्रालयले सुनकाण्डमा लिएको पहलकदमी तथा यातायात सिन्डिकेट विरुद्धका कदमहरुले जनतामा केही आशा पलाएको छ । जनता एकता  चाँडै होस् र यो सरकारले राम्रा कामहरु यसरी नै गर्दै जाओस् भन्ने अपेक्षा गरेको छ । तर पार्टी एकता पद पावर र प्रतिष्ठामा गएर अड्किएको समाचारले उल्टो सन्देश पनि गइरहेको छ । देश र जनताको पक्षमा पार्टी एकता गर्न यी दुई दलका प्रमुख नेतामध्ये जुन नेताले खोजेको छ, उसले पद पावर र प्रतिष्ठामा आफू पछि हटेर लेनादेना गरी पार्टी एकताको अन्तिम बाधा पन्छाई एकता घोषणा तत्काल गर्न लगाउने निर्णय हिम्मतका साथ गर्नु पर्दछ र पहलकदमी तथा जनता र कार्यकर्ताको समर्थन आफ्नो पक्षमा पार्नु पर्दछ र देशलाई नेतृत्व दिन पर्दछ ।
प्रचण्डले त्याग्लान् ?
जुन नेताले आफू जनपक्षीय र देशभक्त ठान्दछ उसले यस्तो पहलकदमी लिई त्यागको उदाहरण दिनु पर्दछ र एकताको डेढलक तोड्नु पर्दछ । स्टेटम्यानसीप भनेको यही हो । वास्तविक नेता भनेको यही हो । माक्र्सले माक्र्सवाद विरोधीहरुलाई समेत पनि लिएर पहिलो इन्टरनेशनल स्थापना गरेका थिए । लेनिनले आफू अल्पमतमा पर्ने थाहा पाउँदापाउँदै पनि सन् १९०६ मा मेन्सेभिकहरुसँग पार्टी एकता गरेका थिए । माओले पार्टी एकता बचाउन माओ विचारधारा हटाएर आठौं महाधिवेशन गरेका थिए । मदन भण्डारीले मनमोहनलाई अध्यक्ष बनाएर तथा तत्कालीन माक्र्सवादी समूहलाई सबैतिर पचास पचास प्रतिशत दिएर पार्टी एकता गरेका थिए । उनीहरु सबैले जब पार्टी एकताले आन्दोलन अघि बढ्ने र उत्पीडित जनताको भलो हुने देखे, पार्टी एकताका लागि जस्तोसुकै निर्णय पनि गरे । तर जब पार्टी एकताले भलो नहुने देखे, माक्र्स लेनिन माओहरुले पार्टी  फुटाउन पनि हिम्मत गरे । के प्रचण्डले पार्टी एकताका लागि त्याग गर्लान् ? गरे भने उनले भनेझैं ड्याम्मै पार्टी एकता सम्भव छ । होइन भने पार्टी एकता भएर पनि त्यो एकता प्रचण्डकै कारण नटिक्ने पनि उत्तिकै सम्भावना छ ।
प्रचण्डले देशको स्वार्थ हेरेर स्टेटम्यानसीपमा जाने हो भने पद र पावरमा पछि हटेर सम्झौता गरी पार्टी एकता घोषणामा लाग्ने बाटो समात्नेछ । यदि व्यक्तिगत स्वार्थ हेर्ने हो भने कि त एमालेलाई गलाएर आफूले भनेको लिएर पार्टी एकता गर्ने बाटो समात्ने छ, कि त पार्टी एकता प्रक्रिया तन्काउँदै लगेर अन्य पार्टीहरुसँग मिलेर नयाँ सरकार बनाउने वाटो समात्नेछ । यही कुरा एमाले नेताहरुमा पनि लागू हुन्छ । 

Related News