​राजधानीमा अचम्मका बलात्कार

दृष्टि न्यूज

काठमाडौं, १८ पुस । पछिल्लो एक महिना राजधानीमा तीनवटा आश्चर्यजनक लाग्ने बलात्कारका घटना भएका छन् । तीनै वटा घटनाको प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 
पुस ११ गते एक ८४ वर्षिय बृद्ध बलात्कार आरोपमा ललितपुरमा पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई  बलात्कार प्रयासको आरोपमा टेकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 
सैंबुको पुरानो खोकनास्थित आफ्नै गाई फार्ममा उनले बालिकलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । स्कुलबाट फर्किएकी बालिकालाई फकाएर गाई फार्मको शौचालयमा लगेर बलात्कार प्रयास गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए । लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो । ८४ वर्ष उमेर पुगेका व्यक्तिले बलात्कार प्रयास गर्नु अनौठो घटना भएको ललितपुर प्रहरीका अधिकारीहरु बताउँछन् ।  
त्यस्तै गत महिना महाराजगञ्जस्थित एक स्कुलभित्रै बलात्कार भयो । स्कुलको १० कक्षामा पढ्ने छात्रालाई स्कुलकै कर्मचारी सुजन श्रेष्ठले  बलात्कार गरेका हुन् । गत साता अभियुक्त श्रेष्ठलाई  महाराजगञ्ज प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 
रातको समयमा स्कुलको छतमा बोलाएर छात्रालाई श्रेष्ठले बलात्कार गरेका थिए । सुरुमा घटना गोप्य रहेकोमा पछि परिवारले थाहा पाएर प्रहरीमा उजुरी गरेका हुन् । छात्रा सोही स्कुलको होस्टेलमा बस्दथिन् । 
उता ललितपुरकै महानगरीय प्रहरी वृत्त सातदोबाटोले एउटा सामूहिक बलात्कार प्रकरणको अनुसन्धान गरिरहेको छ । गत मंसिर २ गते गोदावरीकी एक युवतीलाई बलात्कारपछि हत्या प्रयास भएको थियो । 
घटनामा संलग्न तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । स्थानीय रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले घटनाको तीन सातापछि पक्राउ गरेको हो । मदिराको नशामा रहेका बेला युवतीलाई एकान्त बाटोमा भेटेपछि उनीहरुले बलात्कार प्रयास गरेको अनुसन्धानमा खुलेको छ ।  पछि ढुंगाले टाउकोमा हानेर उनीहरुले हत्या प्रयास गरेका थिए । भोलिपल्ट बिहान युवतीलाई बेहोस अवस्थामा भेट्टाएका थिए । एक सातापछि मात्र युवतीको पूर्णरुपमा होस आएको थियो । राधजानीमै यसरी सामूहिक बलात्कार र त्यसपछि हत्या भएको घटना पनि आश्चर्यलाग्दो भएको प्रहरी अधिकारीहरु बताउँछन् । 

Related News