​बालिकाको बलात्कारपछि हत्या गरिएको आशंकामा पाँच पक्राउ

दृष्टि न्यूज

गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीय बालिका एल्जिना खड्काको हत्या आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार स्थानीय पाँच युवालाई सोधपुछका लागि पक्राउ गरेको छ ।

एल्जिनाको हत्यामा संलग्न भएको आशङ्कामा पक्राउ गरिएकाको अहिले नाम बताउन नमिल्ने तर आफूहरुले पाँच जनालाई सोधपुछका लागि पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । तर यता लाफागाउँका एक स्थानीय बुद्धिजीवीकाअनुसार सोमबार प्रहरीले स्थानीय युवा नविक कार्की, श्रवन कार्की, बेदकुमार कार्की, रबिन राई र एक अर्का नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको बताएका छन् ।

गत शनिबार गोठाला गर्न गएकी स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जिना शनिबार रातिसम्म पनि घर नआएपछि घरपरिवार र सबै छिमेकी खोजीकार्य शुरु गरेका थिए । आइतबार दिउँसो २ बजे एल्जिना नजिकैको खरबारीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतककी ठूलाबुबा दुर्गाराज खड्काका अनुसार एल्जिनाले लगाएको कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा खाँदिएको, घाँटी र शरीरमा चोट देखिएको थियो । तत्कालै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।

तर घटना जटिल भएको भन्दै फेरि प्रहरीले सुनसरीको धरानबाट तालीमप्राप्त कुकुरसहितको अर्को प्रहरी टोली पनि अनुसन्धनको लागि घटनास्थलतर्फ खटाएपछि सोमबार नै एल्जिनाको बलात्कारपछि हत्या भएको आशङ्कामा स्थानीय पाँच युवालाई सोधपुछका लागि पक्राउ गरेर अहिले अनुसन्धान शुरु गरेको उदयपुर प्रहरीले जनाएको छ ।

यता एल्जिनाको शवलाई सोमबार नै प्रहरीले विशिष्ट परीक्षण गर्नुपर्ने भएको र जिल्ला अस्पताल उदयपुरमा यस्तो उपकरण अभावका कारण शव परीक्षणका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल पठाएको उदयपुरका प्रहरी प्रमुख राईले बताए ।

मृतक एल्जिनाका परिवारले भने एल्जिनाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै गाउँका केही शङ्का लागेका युवामध्ये केहीको नामै किटान गरेर कारवाही गर्न प्रहरीमा जाहेरीसमेत दिएका छन् ।

Related News