​बन्द गरौं, डा. केसीको ज्यानको सौदाबाजी

डा. प्रदीप भट्टराई । डा. गोविन्द केसी आफैंमा निष्ठा र इमानका पर्याय हुन् । उनमा त्यस्तो नदेख्नेहरूसँग निहित स्वार्थ होला या डा. केसीको पक्षमा उभिएकासँग रिसराग । यही कारण मात्रै अर्कैका लागि डा. केसीमा खोट देखिएला, यो बेग्लै कुरा हो ।
उमेरले पाका, अविवाहित र आफ्नो कमाइ पनि आधारभूत स्वास्थ्यसेवा प्राप्त गर्न नसक्ने नेपालीका लागि खर्च गर्ने यिनै डाक्टर केसी आठौ पटक आमरण अनसनमा छन् । उनको माग प्रष्ट छ, चिकित्सा शिक्षाको व्यापार अन्त होस् र सर्वसाधारण नेपालीले आधारभूत स्वास्थ्य सेवा प्राप्त गरून् । यो मूल मागसँगै उनका केही पुच्छ्रे मागहरू पनि छन् । जुन मागहरूको ब्याख्याले केहीलाई फाइदा हुन्छ भने केहीलाई बेफाइदा । अहिलेको मूल लडाईं भनेको  तिनै पुच्छ्रे मागको सन्दर्भमा  डा. केसीलाई मोहरा बनाएर चिकित्सा शिक्षाको व्यापार गरिरहेका वर्तमान ब्यापारी र त्यसको ब्यापार गर्न चाहने भविष्यकाफौबन्जारीबीचको हो ।

यही लडाईंमा सहभागी दुई परस्पर विरोधी स्वार्थका कारण  डा. केसी विवादमा तानिएका छन्, विवादमा पारिएको छ । डा. केसीको माग सम्बोधन हुँदा भइरहेका चिकित्सा शिक्षाका व्यापारीको मनोपोली बढ्छ भने यो ब्यापारमा आउन चाहने नयाँ व्यापारीको बाटो बन्द हुन्छ । डा. केसीको मागले अहिले चिकित्सा शिक्षामा लूटतन्त्र चलाइरहेकालाई फाइदा हुने भएकाले कतै यो आन्दोलन तिनै लुटाहाहरूको पक्षमा त छैन ? आशंकाको काकताली परेको छ । डा. केसीको मागलाई लिएर उनका विरोधीहरू यही तर्क गर्छन् । उनीहरूको आरोप छ, यो नयाँ मेडिकल कलेज आउन नदिएर आफ्नो व्यापारको एकाधिकार कायम गर्ने ग्राण्डडिजाइन हो । डा. केसी त्यही डिजाइनका मोहरा मात्र बनेका हुन् ।
डा. केसीका समर्थकहरू यो आरोपको तथ्यसंगत खण्डन गर्न सक्दैनन् या चाहँदैनन् । उनीहरू मात्र डा. केसीजस्तो निष्ठा र इमानको पर्यायले त्यसो गर्न नसक्ने बताउँछन् । आम नेपाली पनि डा. केसी जानेर उपयोग भएको मान्न तयार छैनन् ।  किनकि, उनको सादगीपन र निष्ठामा शंका गर्दा जो कोही पनि पुड्को हुने अवस्था छ यतिबेला । र, त्यस्तो दुस्साहस गर्ने अवस्थामा कोही पनि सार्वजनिक व्यक्तित्व अहिले नेपालमा देखिएको छैन । 
डा. केसीको मागको विपक्षमा नेपाली राजनीतिमा निष्ठा र इमानका पर्याय मनमोहन अधिकारीको नाम उभ्याइएको छ । उनकै नाममा खोलिएको मनमोहन अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थान बन्ने क्रममा छ । र, यही नामलाई डा. केसी विरोधीहरूले मोहरा बनाएर राजनीति गरिरहेका छन् । मनमोहनको नाम जोडिएपछि चाहेर नचाहेर मुलुकको एउटा ठूलो दल नेकपा एमाले नै डा. केसी विरोधी क्याम्पमा उभिएको छ । यही बलले यो विषय सुल्झनेभन्दा पनि बल्झिने अवस्थामा पुगेको हो ।
नेपालमा स्वास्थ्य दिनप्रति दिन महंगो हँुदैछ र सर्वसाधारणको पहुँचभन्दा माथिको विषय हुँदैछ । चिकित्सा शिक्षा क्षमताभन्दा पनि पैसाको कैदी बन्दैछ । पहिला मेधावीहरू चिकित्सक बन्थे अहिले पैसावालाहरू । पैसावालहरूको जगजगी हुँदा नेपालमा नक्कली डाक्टरहरूको संख्या बढ्दोछ र यो क्रम आउने दिनमा अरू बढ्ने निश्चितप्राय: छ । 
यो दुरावह स्थितिबाट मुलुकको चिकित्सा शिक्षालाई जोगाउन लागिपरेका हुन् डा. केसी । उनको पवित्र भावना पनि यही होला । तर, उनको आन्दोलनको डिजाइन गर्नेहरू पनि डा. केसी जतिकै पवित्र भावनाले यसमा लागिपरेका छन् भन्न सकिन्न । पछिल्लोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तानेर उनको आन्दोलनलाई लोकमान भर्सेज डा. गोविन्द केसी बनाउने जुन चाल चालियो, यसले लोकमानको नाम सुन्न नचाहनेका लागि त राहत भयो होला तर चिकित्सा शिक्षाको माफियातन्त्रको अन्त चाहनेहरू भने मूल मुद्दा छाँयामा परेकोमा दु:खी भए ।
हो, लोकमान यो देशको एक अप्रिय नाम होला । यिनको पृष्ठभूमि प्रतिगामी होला । यिनले केही चोरलाई साधु र केही साधुलाई सुली पनि चढाएका होलान् । तर, उनलाई त्यो ठाउँमा पुर्‍याउने त यिनै राजनीतिक दल र तिनीहरूका नेता नै हुन् नि, हैन र ?  आन्दोलन त ती दल र नेताहरूविरूद्ध हुनुपर्ने हैन र ? संसदले महाअभियोग लगाउनुपर्ने भनेर माग त्यतैतिर बढाइएको पनि होला । तर, त्यसका लागि अनसन बस्ने ठाउँ त संसद भवन या सिंहदरवार बनाउनुपर्ने हैन र ?  स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार भन्नेहरूले किन डा. केसीलाई शिक्षण अस्पतालमा अनसनमा उतारिरहेका छन् ? यसले त स्वास्थ्यसेवा पाउनुपर्ने बिरामीहरू प्रभावित हुँदैनन् र ?
यसोभन्दा धेरैलाई यो सोच प्रतिगामी र नयाँ चिकित्सा शिक्षाका माफियाहरूको पक्षपोषण गर्ने जस्तो पनि लाग्न सक्छ । तर, एकजना सर्वसाधारण भएर सोच्दा योभन्दा फरक निष्कर्ष निकाल्न सकिँदैन । माग चिकित्सा शिक्षाको माफियाकरणको अन्त हो भने यो सरकारले सम्वाधन गर्ने विषय हो, नेपाल सरकारको मुख्यालय रहेको सिंहदरबारमा अनसन बसौं । हैन, लोकमानलाई महाअभियोग लगाउने मूल माग हो भने यो व्यवस्थापिका संसदको कार्यक्षेत्रको विषय हो, संसद भवन बनाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा अनसन बसौं ।
हुन त यो माग मुलुकको माग हो, नागरिक समाजको माग हो । यो मागलाई सम्बोधन गर्न नागरिक आन्दोलनको आवश्यकता छ । त्यसैले यो माग सम्बोधन गर्न मुलुकमा नागरिक समाजका अगुवा भन्नेहरूले नै आन्दोलन सुरू गर्नुपर्‍यो । किन, एक सज्जन चिकित्सक डा. केसीको ज्यानलाई पटक–पटक बन्दकी राख्ने ? यो स्तम्भकार, डा. केसीको इमानको सम्मान गर्दै नागरिक समाजका अगुवाहरूलाई आग्रह गर्न चाहन्छ, कृपया डा. केसीलाइ मोहरा बनाएर उनलाई पटक–पटक अस्पतालमा आमरण अनसनमा नउतार्नुहोस् । यो आफैंमा मानवअधिकार विरोधी कुरा पनि हो । अनि डा. केसीको इमान र निष्ठालाई मोहरा बनाएर आआफ्ना निहित स्वार्थको घिनलाग्दो खेल पनि नखेल्नुहोस् । सक्नुहुन्छ भने विवादित अनुहारहरू यस अभियानमा  नदेखाउनुहोस् ताकि यहाँहरूको फोहोरी अनुहारको बाछिटा डा. केसीको निष्कलंक अनुहारमा लागोस् ।
हो, मुलुकमा डा. केसीहरू असफल हुनु हँुदैन किनकि उहाँ असफल हुनु भनेको इमान र निष्ठा असफल हुनु हो । र, यो भनेको प्रकारान्तरमा मुलुक नै असफल हुनु हो । उनका मागहरू सम्बोधन हुनुपर्छ । किनकि, ती मागहरू उनका मात्र माग हैनन्, मुलुककै ज्वलन्त मागहरू हुन् । यस्तो अहम् महत्वको विषयमा मुलुकमा अनावश्यक ध्रुवीकरण र राजनीति हुनुहँुदैन । 
अझ महत्वपूर्ण कुरा, राष्ट्रका जल्दाबल्दा समस्याहरू समाधान गर्न मुलुक उठ्नुपर्छ, आफूलाई नागरिक समाजका अगुवा भन्नेहरू जुट्नुपर्छ । त्योभन्दा पनि बढी मुलुक हाँक्ने राजनीतिक दल र तिनीहरूका नेता जिम्मेवार हुनुपर्छ । डा. केसीजस्ता साधु चिकित्सकहरूलाई जनताको स्वास्थ्य सेवा गर्ने जिम्मेवारीबाट विमुख बनाएर बाराम्बार आमरण अनसनका नाममा उनको जीवनमाथि खेलवाड गर्नुहँदैन । 
मुलुक तथ्य, तर्क र सत्यमा आधारित प्रणालीले चल्नुपर्छ । मुलुकमा मनमोहन अधिकारीजस्ता राजनीतिक तपस्वीहरू विवादमा पारिनु हुन्न । डा. केसीजस्ता सुधा चिकित्सकहरूको इमान र निष्ठालाई मोहरा बनाएर फौबन्जारी गरिनु हुन्न ।
यो स्तम्भकार, डा. केसीको निष्ठा र इमानको पक्षमा छ । तर, उनको यही कस्तुरी विशेषतालाई मोहरा बनाएर उनको जीवनसँग खेलवाड गर्ने प्रवृत्तिको समर्थन गर्न सकिन्न । त्यसमा पनि अस्पतालमा डाक्टरलाई आमरण अनसन बसाउने कुराको त कसरी समर्थन गर्न सकिएला र ? आगे उनीहरू नै जानुन् ।




Related News