​बंगलादेबाट फर्कियो प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डल

दृष्टि न्यूज

काठमाडौँ । बंगला एकेडेमी, बंगलादेशको निमन्त्रणामा साहित्यिक आदान प्रदानका लागि ढाका गएको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक प्रतिनिधि मण्डल पाँच दिने भ्रमण पूरा गरी राजधानी फर्किएको छ । उक्त प्रतिनिधि मण्डल गत बुधबार ढाकातर्फ प्रस्थान गरेको थियो । 
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीको नेतृत्वमा सद्भाव भ्रमणमा गएको प्रतिनिधि मण्डलमा प्राज्ञ परिषद्का सदस्यहरू प्राज्ञ प्रा. दिनेशराज पन्त र प्राज्ञ नर्मदेश्वरी सत्याल तथा प्राज्ञसभाका सदस्यहरू प्राज्ञ धु्रव मधिकर्मी, प्राज्ञ शशी लुमुम्बू, प्राज्ञ हरिप्रसाद तिमिल्सिना एवम् प्रतिष्ठानका प्रशासनतर्फका उपप्रमुख सुरेन्द्रकाजी सिन्दुराकार सम्मिलित हुनुहुन्थ्यो । 
करिब दुई वर्षअघि नेपाल प्रज्ञा–प्रतिष्ठान र बंगला एकेडेमीबिच दुई देशका भाषा, साहित्य, संस्कृति, इतिहास र दर्शनको खोज–अनुसन्धान एवम् अनुवाद जस्ता प्राज्ञिक कार्य गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार गत वर्ष बंगला एकेडेमीको प्रतिनिधि मण्डल नेपाल एकेडेमीको निमन्त्रणामा नेपाल भ्रमणमा आएको थियो । 
बंगला एकेडेमीले प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डलको स्वागतमा ढाकाको काजी नजरुल इस्लाम मार्गस्थित एकेडेमी भवनमा बिहीवार एक समारोहको आयोजना गरेको थियो । उक्त अवसरमा बाङ्गला एकेडेमीका अध्यक्ष डा.अनिसुज्जमानको अध्यक्षतामा ‘एक्सचेन्ज अफ भिउज् अन लिटरेचर एन्ड कल्चर बिटुविन बंगला एकेडेमी एन्ड नेपाल एकेडेमी’ शीर्षकमा साहित्यिक विचार विमर्श कार्यक्रम समेत भएको थियो । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले ‘नेपालका भाषाहरूको साहित्यिक अवस्था’बारे प्रवचन दिनुभएको थियो । कार्यक्रममा नेपाली कविता सङ्ग्रह बाङ्ग्लामा र बाङ्ग्ला कविता सङ्ग्रह नेपालीमा अनुवाद गराउन दुबै प्रज्ञा–प्रतिष्ठानले सामग्रीहरू परस्पर आदान–प्रदान गर्ने सहमति भएको थियो ।
कार्यक्रममा  बंगला एकेडेमीका सचिव मोहमद अन्वर हुसैनले बंगाली साहित्य र एकेडेमीका गतिविधिबारे प्रकाश पार्दै बंगला एकेडेमी र नेपाल एकेडेमीबिचको सहकार्यले महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।    
बंगलादेश भ्रमणका क्रममा प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डललाई बंगला शिल्पकला एकेडेमी (नेसनल एकेडेमी अफ फाइन एन्ड पर्पmमिङ आर्टस्)का डाइरेक्टर जनरल लिक्वायत अलि लक्कीले स्वागत गर्दै बंगलादेश र नेपालबिच धेरै पहिलेदेखि प्रगाढ सम्बन्ध रहेको बताउँदै सांस्कृतिक क्षेत्रमा धेरै काम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो । 
यसै गरी प्रतिनिधि मण्डललाई राजधानी ढाकाबाट करिब दुई सय किलोमिटर टाढा रहेको रुरल डेभ्लोपमेन्ट एकेडेमीको अवलोकन भ्रमण गराइएको थियो । उक्त एकेडेमीका डाइरेक्टरले स्वागत गर्दै आफ्नो एकेडेमीका कार्यबारे प्रकाश पार्नुभएको थियो । 
प्रतिनिधि मण्डललाई बोगराको महास्थानगढस्थित प्राचीन बुद्ध विहार सङ्ग्रहालय लगायत विभिन्न ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गराइएको थियो । 

Related News