बैंकमा तरलताको अभावले घरजग्गामा रुवाबासी

पार्वती धरेल, काठमाडौं, १९ पुस । बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय बजारमा नगद तरलताको अभाव देखाउँदै ठूला र मार्जिन लेण्डिङ्ग प्रकृतिका ऋण प्रवाहमा अघोषित रोक लगाएका छन् । विशेषगरी घरजग्गा र सेयर धितोमा प्रदान गरिने ऋणलाई बैंकहरुले निरुत्साहित गर्न थालेको सर्वसाधारण र बैंक दुबैले बताएका छन् । उता बैंकहरुले ऋण प्रवाहमा रोक मात्र होइन, यसअघि प्रदान गरिएका कतिपय ऋणमा समेत ब्याजदर वृद्धिको सूचना दिन थालेका छन् । बैंकहरुमा नगद तरलता अनुपात घटेपछि बैंकहरुले पुँजी पर्याप्तता अनुपात कायम राख्न केही समयअघि घरजग्गा सम्बन्धी ऋणको ब्याज बढाएका थिए । तर, त्यसबाट पनि ऋणको अनुपात नघटेपछि उनीहरुले ठूलो परिमाणमा प्रवाह भएको ऋण रकमलाई तोकिएको सीमा अनुपातमा कायम राख्न नयाँ ऋण प्रदान गर्ने योजना अघि सारेको बुझिएको छ ।
वित्तीय प्रणालीमा नगद तरलताको अभाव बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर पनि निरन्तर उकालो लागेको छ । पछिल्लो एक महिनाको बीचमा अधिकांश बैंकले बढाएका ऋणको ब्याजदरलाई नियाल्दा पनि औसतमा ५ प्रतिशतभन्दा बढीले ब्याजदर बढेको देखिन्छ । यसले पनि बैंकहरुमा नगद तरलता कम रहेको पुष्टी हुन्छ । उता यहि अवधिमा कर्जाको निम्ति बैंक तथा वित्तीय संस्थामा पुगेका धेरैजसो व्यवसायी कर्जाको ब्याजदर सुनेपछि निराश भएर फर्किने क्रम देखिएको छ । कतिपय अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रक्रियाको प्रारम्भमा तोकिएको ब्याजदर ऋण स्वीकृत हुँदाको अवस्थामा आइपुग्दा २ देखि ३ प्रतिशतले वृद्धि गरेको समेत पाउन थालिएको छ । पूराना ऋणीहरु समेत बैंक तथा वित्तीय संस्थाले पूर्ववत् सम्झौता विपरित आफू अनुकूल ऋणको ब्याजदर बढाएको बताउँछन् । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार पनि बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा त्रयमासमा मात्र नयाँ ब्याजदरमा संशोधन गर्न सक्छन् । तर, कतिपय बैंक तथा वित्तीय संस्थाले त्यसो नगरेको गुनासो समेत नेपाल राष्ट्र बैंकमा पुगेपछि समस्याले विकराल रुप लिनसक्ने आँकलन गर्न थालिएको छ ।
अर्कोतर्फ, काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश जिल्लाका सदरमुकाम र व्यापारिक केन्द्रमा घरजग्गाको मूल्य कृत्रिम रुपमा अकाशिएको छ । झण्डै ९ वर्षअघि जग्गाको मूल्य अकल्पनीय ढंगले बढेपछि पनि वित्तीय बजारमा नगद तरलताको चरम अभाव देखिएको थियो । त्यो बेला स्वयम् नेपाल राष्ट्र बैंकले नै रियलस्टेट कर्जाको कारोबारमा रोक र सीमा लगाएपछि बिस्तारै रियलस्टेट क्षेत्रमा मन्दी आएर वित्तीय बजार सुधारोन्मुख भएको थियो । अहिले बजारमा देखिएको घरजग्गाको चर्को मूल्य र वित्तीय बजारमा देखिएको नगद तरलताको अभावले पनि पुनः नेपाली वित्तीय बजारमा पूरानो समस्या देखापर्ने हो की भन्ने आंशका उब्जाएको छ ।
भारत सरकारले भारतमा ठूला दरका भारतीय रुपैयाँको पुराना नोटमा लगाएको प्रतिबन्धले पनि हाम्रो वित्तीय बजारमा असर पारेको हो भन्नेमा एकथरी अर्थशास्त्रीहरुको भनाइ रहेको छ । उनीहरुका अनुसार नेपालको अर्थतन्त्र औपचारिक भन्दा बढी अनौपचारिक ढंगले हुने गरेको बैंकिङ्ग प्रणालीबाट प्रभावित छ । अनौपचारिक व्यापार तथा व्यवसायमा हुने गरेको त्यस्ता दरका भारतीय नोटको प्रयोगले अप्रत्यक्ष रुपमा हाम्रो वित्तीय बजारलाई पनि चलायमान बनाउँदै आएको थियो । तर, अहिले त्यो क्रम रोकिएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुमा नगद तरलताको अभाव हुनु स्वाभाविक नै हो । त्यसैगरी, भारतीय रुपैयाँको हुण्डी कारोबारमा संलग्न ठूला व्यापारीले ठूलो परिमाणमा नेपाली रुपैयाँको नगद सञ्चिती गरेकाले पनि हालको अवस्था देखिएको हुनसक्ने अड्कल गरिएको छ ।
हाल बजारमा देखिएको नगद तरलताको अभावलाई बेलैमा समाधान गर्न सरकार र नेपाल राष्ट्र बैंकले विशेष पहल थालनी गर्नुपर्नेमा बैंकरहरु एकमत देखिएका छन् । नगद तरलताको अभाव हटाउन सबैभन्दा पहिले सरकारले पुँजीगत खर्चमा वृद्धि गर्नुपर्दछ । अनौपचारिक क्षेत्रले गरेको हालैको एक अध्ययनबाट राजनीतिक अस्थिरता बढ्दै गएकाले सर्वसाधारणले केही रकम साथमा राख्न थालेकाले पनि बैंकहरुमा नगद तरलताको अभाव देखिएको हो । सरकारले बेलैमा भूकम्प पीडितलाई प्रदान गर्ने ऋण प्रवाह गरेमा पनि हालको नगद तरलताको अभाव केही मत्थर हुने विज्ञहरुको सुझाव छ । त्यस्तै, सरकारले यथासक्य छिटो सर्वसाधारणलाई अनौपचारिक माध्यम र कारोबारमा नलाग्न आवश्यक कार्यक्रम परिचालन गर्नुपर्दछ । उनीहरुलाई बैंकिङ्ग प्रणालीमा विश्वास गर्न आवश्यक सबै कदम चालिनुपर्ने बेला भएको देखिन्छ ।

Related News