बैंकिङ्ग क्षेत्रमा नयाँ चर्चा : सीईओ बन्ने अनि हट्ने

काठमाडौं, १९ मंसिर । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतहरूले उक्त  पदको नियुक्ति लिनुअघि आफू कार्यरत बैंक तथा वित्तीय संस्थासँगको संलग्नता हटाउनुपर्ने बहस चलिरहँदा पछिल्लो एक महिनाभित्र पुनः बैंक तथा वित्तीय संस्थामा सीईओ हट्ने र नयाँ नियुक्ती हुने क्रमले निरन्तरता पाएको छ । अन्य निकायबाट सेवा निवृत्त भएर बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नेको हकमा ‘कुलिङ्ग पिरियड’ को आवश्यकता नेदेखिए पनि बैंकिङ्ग क्षेत्रको अझ त्यसमा पनि अन्य संस्थामा सीईओको जिम्मेवारीमा रहेका जो कोहीले अन्यत्र नियुक्ती लिनुअघिको अवस्थामा परिवर्तन आउनुपर्ने चर्को आवाज उठेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा समेत बैंक तथा वित्तीय संस्थामा सीईओ रिक्त हुँदा तीन महिनाभित्र पूर्ति गर्नुपर्ने अनिवार्य व्यवस्था रहेकोले पनि ‘कुलिङ्ग पिरियड’ को सम्बन्धमा अन्यौल देखिएको स्रोतको दाबी छ ।
यतिखेर विशेषगरी तीनवटा ठूला बैंकमा सीईओको नियुक्ती र वर्हिगमनको चर्चा चलेको छ । ग्लोबल आईएमई बैंकमा हालै मात्र नयाँ सीईओ नियुक्त भएका छन् । बैंकमा लामो समयदेखि नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत जनक शर्मा पौडेललाई गत सातादेखि बैंक सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो । उनको हकमा भने यतिखेर ‘कुलिङ्ग पिरियड’ को आवश्यकता देखिएको छैन । कुनैपनि बैंकमा कार्यरत व्यक्ति सोही बैंकको माथिल्लो तहमा नियुक्त हुँदा बैंकको गोपनियता र रणनीतिक योजनामा असर पर्ने सम्भावना रहँदैन । बरु ती सबै पक्षमा नकारात्मक भन्दा सकारात्मक योगदान नै बढी पुग्ने गरेको देखिन्छ । तर, एक बैंकको सीईओमा कार्यरत रहँदा रहँदै कुनै पनि व्यक्तिले अर्को बैंकको सीईओको नियुक्ती लिने कार्यले चाँही छाडेर जाने बैंकमा ठूलै असर पुग्न सक्नेतर्फ केन्द्रीय बैंकदेखि सम्बन्धित पक्ष चनाखो भएको पाईंदैन ।
यसबीचमा मूलतः मेगा बैंकका सीईओ अनिल शाहको नयाँ नियुक्तीले बजारमा राम्रै चर्चा पाएको छ । झण्डै तीन महिनाअघि नै सेञ्चुरी बैंकको सीईओको नियुक्ती लिएका शाह यतिखेर भने मेगा बैंकमा नै कार्यरत  छन् । पुरानो बैंकका ऋणी, रणनीति र अन्य महत्वपूर्ण पक्षको पूर्ण जानकारी राख्ने व्यक्तिले अर्को बैंकमा जाँदा ती सबै पक्षमा असर नपु¥याउलान् भन्न नसकिने मेगाका एक जना सञ्चालकको दाबी छ । हलोदेखि हाइड्रोसम्मको नारा दिएका शाहले बुझेका करोडौं रूपैयाँको तलब र भत्ताको सामुन्ने बैंकको अवस्था यतिखेर हलोको सट्टा हल्लुँडो र हाइड्रोशीलझैं बनेकोले अब खराब हुने पालो सेञ्चुरीको रहेको पनि ती सञ्चालकले बताएका छन् । विगतमा नबिल बैंकबाट मेगामा जाँदा पनि शाहले आफूसँगै केही महत्वपूर्ण विभागका कर्मचारी समेत लिएर गएका थिए ।
उता नबिल बैंककै उत्पादन सशिन जोशी पनि पछिल्लो समयदेखि सोही बैंकको सीईओ छन् । ‘कुलिङ्ग पिरियड’ को आवश्यकता नभएपछि जोशीले पनि नबिल छाड्न लागेको चर्चाले बैंकिङ्ग क्षेत्र थप तरङ्गित बनेको छ । उनी नबिल आउनुअघि एक दशकभन्दा बढी लामो समयसम्म एनआईसी र एनआईसी एसिया बैंकमा सीईओ थिए । सोही अवधिमा उनी बैंकर्स संघको अध्यक्षसमेत बनेका थिए । तर, एनआईसी एसिया बैंक छाडेको दुई हप्तामै जोशीले नबिल बैंकको सीईओको जिम्मा लिएका थिए । जोशीले पनि नबिलको सीईओको नियुक्तीको वचन एनआईसी एसियाको सीईओमा छँदै दिएका थिए । जसका कारण जोशीसँगै केही उच्च तहका कर्मचारी पनि एनआईसी एसिया बैंक छाडेर नबिल गएका थिए । यतिखेर जोशीले नबिल बैंक छाडेको अवस्थामा चाँही तत्काल अनिल शाहले छाड्ने मेगा बैंकमा मात्र सीईओको पद खाली हुने देखिएको छ । अन्यथा, उनी नयाँ खुल्दै गरेका कतिपय बीमा कम्पनीमा समेत जानसक्ने अड्कल लगाइएको छ । बैंकबाट बीमा वा बीमाबाट बैंकमा करियर स्थानान्तरण गरेको अवस्थामा भने हाल चर्चामा आएको ‘कुलिङ्ग पिरियड’ को कुनै आवश्यकता पर्ने छैन ।
यसअघि सिद्धार्थ बैंकमा सीईओ रहेका सुरेन्द्र भण्डारी पनि एकाएक कुमारी बैंकमा पुगेका हुन् । उनीसँगै केही कर्मचारीले पनि नयाँ बैंकमा नियुक्ती लिएका थिए । यो क्रममा हाल सनराइज बैंकको सीईओ बनेका चार्टर्ड एकाउण्टेण्ट रत्नराज बज्राचार्य पनि अछुतो नरहेको स्रोत बताउँछ । ‘कुलिङ्ग पिरियड’ नभएको अवसरलाई सदुपयोग गर्दै यसअघि नै बज्राचार्य ग्लोबल बैंकबाट सनराइजमा आएका थिए । यो प्रसङ्गमा यतिखेर वाणिज्य बैंकहरूमा मात्र होइन ‘कुलिङ्ग पिरियड’ अनिवार्य नगरिएको अवस्थालाई सदुपयोग गर्दै धेरैवटा विकास बैंक, वित्त कम्पनी र लघु वित्त विकास बैंकका सीईओले एउटा संस्थामा रहँदै अर्को संस्थाको सीईओमा नियुक्तीको लागि आवश्यक वातावरणको प्रवन्ध गर्ने गरेको समेत पाइएको छ ।

Related News