बान्तावा कवितामा यादव पहिलो


काठमाडौं, १ पुस । भोजपुर होम्ताङका यादव समिर राई बाह्रौं बान्तावा कविता प्रतियोगितामा प्रथम भएका छन् । इलामका रुपन हाङखिम राई दोस्रो र उदयपुरका गंगा बान्तावा तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो भएका कविहरूले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ पुरस्कार’ हात पारेका छन् ।

उदयपुरमा हालै आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत मातृभाषा साहित्य विभागका प्रमुख श्रवण मुकारुङले भने, ‘राज्यको चर्को भाषिक विभेद सहँदै भए पनि मातृभाषा साहित्य दुबोजस्तै फैलिरहेको छ । जसरी दुबो तातो, चिसो पानी सहेर पनि मौलिरहन्छ, त्यसरी नै मातृभाषा साहित्य पनि मौलाउँदै गइरहेको छ । राज्यको मलजल पाएको भए मातृभाषी साहित्यले धेरै उचाइ लिइसक्थ्यो ।’

४७ कविता प्राप्त भएकोमा छनोटमा परेका १२ वटाले वाचनसहित अन्तिम प्रतिस्पर्धाको अवसर पाएको बुङ्वाखा पत्रिकाका सम्पादक तथा कार्यक्रम संयोजक पदम राईले जानकारी दिए । बान्तावा भाषामा प्रकाशित ‘बुङ्वाखा’ मासिकले आयोजना गर्दै आएको उक्त कार्यक्रम यसपटक ऐतिहासिक व्यक्तित्व नारदमुनि थुलुङप्रति समर्पण गरिएको थियो । सम्पादक राईका अनुसार प्रतियोगिताको अर्को संस्करण मोरङमा हुने भएको छ । 

यसपटक ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’ कोशकार डिक बान्तावालाई प्रदान गरियो । पुरस्कारको राशि ३० हजार रुपैयाँ छ । ‘बान्तावा (राई) शब्दकोश’, ‘बान्तावा (राई) व्याकरण’को लेखन र ‘सायाबुङ’, ‘सिम्मा’, ‘साइमा’जस्ता बान्तावा सिनेमाहरूको लेखन र निर्देशन गरेवापत डिकलाई सो पुरस्कार प्रदान गरिएको हो । २० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार’ सिक्किम भारतका बीबी रोक्दुङलाई प्रदान गरियो । ६ हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ उदयपुर मैनामैनीका टीकाराम बादिहाङले प्राप्त गरे । 

Related News