सांसदलाई लगाम

काठमाडौं, २७ पुस । बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन संशोधन र एकिकरण गर्न बनेको विधेयक (बाफिया) संसदबाट पारित भएको छ ।अर्थ समितिको पूरक प्रतिवेदन सहितको विधेयक मंगलवार संसद्को बहुमतबाट पारित भएको हो । पहिलो संविधानसभाको कार्यकालमा संसदमा आएको विधेयक वर्षौंपछि  पारित भएको हो । राष्ट्रपतिबाट प्रमाणित भएपछि बाफिया कार्यानवयनमा आउने छ ।
यसअघि संसदको अर्थ समितिले संबैधानिक पदमा रहेको ब्यक्तिले सञ्चालक हुन नपाउने ब्यबस्था सहितका बिबादित ९ बुदा सच्याएर सर्बसम्मत रुपमा पास गरेको थियो । 
संबैधानिक पदमा रहेको उदय नेपाली जनता बैंक, उमेश श्रेष्ठ प्राईम बैंक, ईच्छाराज तमाङ सिभिल बैंक र बिरेन्द्र महतो माछापुच्छे बैंकको सञ्चालक समितिमा छन् । सांसद पनि संबैधानिक पद हो । संसदले पारित गरेकोले उनिहरुले बैंकको सञ्चालक पदमा बस्न पाउने छैन ।
बाफिया पारित भएपछि यसले बैंकिङ क्षेत्रमा दूरगामी असर पर्ने भन्दै चासो व्यक्त भएपछि संसद्ले गएको असार ७ गते अर्थ समितिको प्रतिवेदन समितिमै फिर्ता गरेको थियो । बैंक तथा वित्तीय संस्थाका सञ्चालकको बाहुल्य रहेको उपसमितिबाट पारित भएर संसदमा पुगेको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पुनः संसदीय समितिमा पुगेर छलफल भएको थियो । 
बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल, संवैधानिक पद धारण गरेको व्यक्ति सञ्चालक बन्न पाउने र संस्थापक शेयर बिक्री सम्बन्धी प्रावधानका कारण विधेयक विवादित बनेको थियो । 

Related News