​बर्दीभित्र डरलाग्दो धन्दा, सुन तस्करीमा करोडौैंको डिल

दृष्टि न्यूज

काठमाडौं, २७ चैत । अपराध अनुसन्धानमा प्रहरीले कसरी चलखेल गर्छ भन्ने कुरा सनम शाक्य हत्या प्रकरणले बाहिर ल्याएको छ । हत्याका मुख्य आरोपी तथा सुन तस्करहरुलाई जोगाएर प्रहरीले उक्त घटनामा करोडौंको ‘डिल’ गरेको रहस्य खुलेको छ । 
गृह मन्त्रालयले छानबिन समिति गठन गरेपछि सो घटनामा भएका डरलाग्दा पाटाहरु बाहिर आउन थालेका छन् । जसमा राज्यका धेरै निकायहरु संलग्न रहेका खुलेको छ । घटनाले सिंगो प्रहरी नै बदनाम बनेको छ । 
रहस्यमय अप्रेसन 
गत फागुन १८ गते तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा मोरङ उर्लाबारी घर भएका सनम शाक्यको हत्या भएको थियो । लुकाएको सुन बारे भित्री कुरा खोल्ने आशंकामा तस्करहरुले उनलाई बन्धक बनाएर करेन्ट लगाएका थिए । जसक्रममा उनको मृत्यु भयो । 
उनको शवलाई चार कोशे झाँडिमा गाड्न लैजाने क्रममा अपराध महाशाखाका खटिएको प्रहरी टोलीले विराटनगरमा बरामद गरी तीन जनालाई पक्राउ गरेको थियो । शव गाड्न लैजादा लैजादै प्रहरीले बरामद गरेर अभियुक्तलाई पक्राउ गर्नुलाई धेरैले प्रहरीको प्रशंसा गरेका थिए । तर, खासमा त्यसभित्र ठुलो षड्यन्त्र लुकेको थियो । आफुहरु जोगिन सुन तस्करहरुले नै अपराध महाशाखाका प्रहरीलाई प्रयोग गरेका थिए । सोही कारण प्रहरीले ४ जनालाई पक्राउ ग¥यो भने अरुलाई पक्राउ गर्न चासो दिएन । तस्करीको सुन खोज्न समेत चासो दिएको थिएन । जसमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल समेत जानकार थिए । तर उनले पनि तस्कर नखोज्ने अपराध महाशाखालाई साथ दिएपछि घटना झनै रहस्यमय बनेको हो । 
विमानस्थलबाटै तस्करी 
तस्करीको ३३ किलो सुन प्रहरीले अझै बरामद गर्न सकेको छैन । तर, सो सुन विमानस्थलबाटै सेटिङमा तस्करी भएको पुष्टि भएको छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल संयोजकत्वको छानबिन समितिले विमानस्थलबाटै सुन तस्करी भएको पुष्टि गर्दै थाई एयरलाइन्सका ९ जना कर्मचारीलाई पक्राउ गरेको छ । 
स्रोतका अनुसार पटक पटक गरी सो समूहले विमानस्थलबाट सुन पास गराउदै आएको थियो । जसमा प्रहरीको पनि संलग्नता आशंका गरिएको छ । 
सोही कुरा थाहा पाएपछि गृहमन्त्री रामबहादुर थापाले गत साता विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए । विमानस्थलबाटै सुन तस्करी भएको खुलेपछि गृहले सहसचिवकै नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सुरुमा डिआईजी पुष्कल रेग्मीको संयोजकत्वमा समिति बनेको थियो । समितिले विमानस्थलबाट हुने तस्करीको नेक्सस खोजिरहेको छ । 
विवादास्पद सईका कारण सिंगो प्रहरी बदनाम 
 लामो समयदेखि अपराध महाशाखामा कार्यरत एक विवादास्पद प्रहरीको कारण महाशाखा मात्र होइन सिंगो प्रहरी नै बदनाम हुन पुगेको छ ।  गुन्डा र तस्करहरुलाई हाकिमहरुसँग सेटिङ मिलाएर फाइदा लिदै आएका महाशाखाका सई बालकृष्ण सञ्जेलका कारण यतिबेला सिंगो प्रहरी बदनाम भएको हो । शाक्य हत्या प्रकरणका योजनाकार पनि उनी नै भएको स्रोत बताउँछ । 
 भरियाका रुपमा प्रयोग गरिएका  शाक्यको हत्यामा संलग्न सुन तस्करलाई सघाएको आरोपमा महाशाखाका एसएसपी दिवेश लाहेनीसहित तीन प्रहरीलाई हटाइएको छ ।  गृह मन्त्रालयका सहसचिव पौडेल संयोजकत्वको छानबिन समितिको सिफारीसमा एसएसपी लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई हटाइएको हो । प्रमाण लुकाउन सक्ने भएकाले उनीहरुलाई त्यहाँबाट हटाइएको  गृह मन्त्रालयका एक अधिकारीले बताए । 
गत महिना तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा शाक्यको हत्या भएको थियो । हत्यामा संलग्न सुन तस्कर गोरे भनिने चुणामणि उप्रेती फरार छन् । प्रहरीले उप्रेतीलाई जोगाएको र पीडितहरुलाई थुनेको उजुरीका आधारमा गृह मन्त्रालयले छानबिन थालेको थियो । 
लामो समयदेखि महाशाखामा कार्यरत सई सञ्जलको उप्रेतीसँग हिमचिम थियो । सोही कारण उप्रेतीले सो घटनाको जानकारी महाशाखालाई दिएर आफु अनुकुल अनुसन्धान गराउन खोजेका थिए ।  सोही अनुसार महाशाखाको टोली विराटनगर नगर गएर शाक्यको शव बरामद गरेको थियो । 
विगतमा स्वच्छ छवि भनेर चिनिएका एसएसपी लोहनीको करिअर पनि यो घटनाले चौपट बनाइदिएको छ। यो प्रकरणमा उनी मातहतका प्रहरीलाई विश्वास गर्दा उनी फसे वा नियोजित रुपमै उनको पनि मिलेमतो थियो प्रष्ट भइसकेको छैन । तर यति संवेदनशील विषयमा महाशाखाले हचुवाको भरमा अनुसन्धान गर्ने तथा हत्याका योजनाकार नखोज्नुले उनीमाथि पनि शंका गर्ने ठाउँ प्रशस्त छ । सो प्रकरणमा जोडिएका डिएसपी प्रजित केसी पनि चलखेलवाला प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । विगतमा पनि उनी यस्ता धेरै डिलमा संलग्न भएका थिए । 
स्रोतका अनुसार उप्रेतीले सञ्जेललाई सो घटना सेटल गरिदिए २ करोड रुपैयाँ दिने आश्वासन दिएका थिए । जुन कुरा एसएसपी लोहनीदेखि आईजिपी प्रकाश अर्याललाई समेत पहिलै थाहा थियो । जसकारण सिंगो प्रहरी नेतृत्व नै मिलेर यो घटनामा चलखेल गरेको आशंका समेत गरिएको छ । 
शाक्य हत्या प्रकरणमा पक्राउ परेकामध्ये २ जना शाक्यकै साथी हुन् । उनीहरुलाई पनि तस्कर समूहले यातना दिएको थियो । मृत्यु भएपछि शव लुकाउने जिम्मेवारी पनि उनीहरुलाई दिइएको थियो । उनीहरु आफैं पीडित रहेकोमा उनीहरु नै हत्यारा भएको भन्दै प्रहरीले कारबाही अघि बढाएपछि उनीहरुले यसबारे उजुरी गरेका थिए । गृहमन्त्री थापासम्म उनीहरुको उजुरी परेपछि छानबिनले नयाँ मोड लिएको हो । यो घटनाले मोरङ प्रहरी पनि विवादमा तानिएको छ । स्रोतका अनुसार मुख्य तस्करसँग केही उच्च प्रहरी अधिकारीहरुको समेत संलग्नता देखिएको छ । 

Related News