​वरिष्ठ नेता खनाल र पूर्वसभामुख नेम्वाङका ३७ योजना

दृष्टि न्यूज

इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि चार÷चार करोड रुपैयाँ विनियोजन गरेका छन् । नेकपा इलामले हिजो सोमबार इलाम सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७  योजना छनोट गरेका हुन् ।
इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि एक करोड ४० लाख रुपैयाँ, माई नगरपालिकाको सात वडाका लागि ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा रु ६० लाख रुपैयाँका दरले रकम छुट्याएका हुन् । इलाम नगरपालिकामा १० लाख रुपैयाँ विनियोजन गरेको छ । खनालले २० योजना छनोट गरेका छन् । 
यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि ९० लाख रुपैयाँ, देउमाई नगरपालिकाका लागि ८३ लाख रुपैयाँ, माई नगरपालिकाका लागि ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकाका लागि ६५ लाख रुपैयाँका दरले रकम विनियोजन गरेका छन् । नेम्वाङले १७ योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले ५० लाख रुपैयाँभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै खनाल र नेम्वाङले योजना छनोट गरेको नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले जानकारी दिए ।
सो अनुरूप खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि ७० लाख रुपैयाँ र सूर्योदय नगरपालिकाको विद्युतीकरणको लागि ५० लाख रुपैयाँ छुट्याएका छन् भने नेम्वाङले पुवाखोलाको इन्टेकदेखि साङरूम्बा हुँदै गाग्रेभञ्याङ जोड्ने सडकको लागि ८० लाख रुपैयाँ र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि ५० लाख रुपैयाँ छुट्याएका छन् । संघीय सांसदले चार करोड रुपैयाँ बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट गर्नुपर्ने प्रावधानअनुरूप उनीहरू दुवैले बजेट तथा योजना छनोट गरेको बताइएको छ । 

Related News