वर्षमानको गर्जन

दृष्टि न्यूज

काठमाडौं, १ जेठ । उर्जा तथा सिंचाई मन्त्रालयले गत साताको मंगलवार सार्वजनिक गरेको स्वेतपत्रमा बुढिगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय उल्टाउदै टेण्डर प्रक्रियामा जाने उल्लेख छ । स्वेतपत्र सार्वजनिक गर्दै मन्त्री पुनले चिनियाँ कम्पनीलाई दिइसकिएको उक्त आयोजना सरकारले किन टेण्डर आह्वान गर्ने भन्ने प्रष्ट पार्न चाहेनन् । उनले भने, ‘तपाईहरु अब आफै कुरा बुझ्नुस्, सरकारले टेण्डर आह्वान गर्छ । अहिले यत्ति मात्रै भन्न चाहन्छु ।’ आम जनताले चीनसँगको सम्बन्ध थप विकास गर्नुपर्ने आवाज उठाइरहेको बेला उर्जा मन्त्री पुन भने लाभकै लागि चीनसँगको सम्बन्धलाई दाऊमा लगाएर बुढिगण्डकी आयोजना गेजुवाबाट खोस्ने निर्णयमा पुगेका छन् ।
यसअघि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले बहुचर्चित बुढिगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्युरमेन्ट, कन्ट्रयाक्ट एण्ड फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिने निर्णय गरिसकेको थियो । आफ्नै पार्टीको निर्णयविरुद्ध तथा दुई देशबीचको सम्बन्धमा समेत दरार आउने गरी बुढिगण्डकी चिनियाँ कम्पनीको हातबाट खोसेपछि नेपाल–चीनबीचको सम्बन्धमा समेत असर पर्ने आंकलन कुटनीतिक वृत्तमा चलेको छ । त्यसो त उर्जा मन्त्रीको अपरिपक्व व्यवहार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा पनि देखियो । विदेशी विशिष्ट पाहुना आएको समयमा नेपालभित्रका पार्टीहरुका बीचमा एकता नरहेको सन्देश प्रवाह हुने गरी अरुण तेस्रो आयोजना शिलान्यासमा अनुपस्थित रहेको थिए । दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा शिलान्यास गरेको अरुण तेस्रो आयोजनालाई लिएर असन्तोष जनाउनुपर्ने कारण देखिन्न ।

Related News