बसन्तपुर–गुफा सडकखण्ड : कुर्दै २६ वर्ष वित्यो, अझै खच्चरकै भर

तेह्रथुमको बसन्तपुरदेखि संखुवासभाको गुफा जोड्ने २८ किलोमिटर सडक अझै सहज बन्न सकेको छैन

दृष्टि न्यूज

तेह्रथुम । जिल्लाको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड स्थानीय बासिन्दाको सपनामै सिमित हुँदै आएको छ । यो सडकखण्ड शिलान्यास भएको २६ वर्ष  बितिसक्दा पनि बन्न सकेको छैन । 
सडक नबन्दा यहाँका बासिन्दा खच्चडकै भरमा छन् । सडक बनेपछि ट्रकले गाउँसम्म खाद्यान्नलगायत उपभोग्य वस्तु बोकेर ल्याइदिन्छ भन्ने सपना देख्दादेख्दै गाउले थाकिसकेका छन् । आफ्नै गाउँमा गाडी गुडेको सपना देख्दै गाउँलेले सडक खन्न थालेको २६ वर्ष बित्दा पनि बन्न नसक्दा अहिले निराश भएका छन् ।

तेह्रथुमको बसन्तपुरदेखि संखुवासभाको गुफा जोड्ने २८ किलोमिटर सडक अझै सहज बन्न सकेको छैन । सुरुमा वसन्तपुर गुफा सडक आयोजना, त्यसपछि तत्कालीन तेह्रथुम जिल्ला विकास समिति र हाल सडक डिभिजन कार्यालय धनकुटा र संखुवासभाले उक्त सडक बनाइरहेका छ । उक्त सडकखण्ड निर्माणमा हालसम्म कति बजेट खर्च भयो भन्ने हिसाब–किताब न  आयोजनासँग छ न त जिविस र सडक डिभिजनसँगै । उनीहरु अहिलेसम्म कति खर्च भयो भन्ने समेत आनाकानी गर्छन् ।
यो सडक निर्माणमा देशको ठूलो धनराशी खर्च भएको चौकी छ । स्थानीय उदयकुमार ल्होका अनुसार खर्च गरेर पनि सडक बन्न नसक्दा यहाँका गाउँले निराश भएका छन् । 
गत वर्ष यो सडकलाई सरकारले राष्ट्रिय गौरवको आयोजनमा समेटी मदन भण्डारी लोकमार्ग नाम दिएर बजेट विनियोजन गरेको छ । वसन्तपुरबाट पाँचपोखरी, चौकी, मंगलबारे, गुफा हुँदै निर्माण गरिएको यो सडकमा सवारी सञ्चालन हुन नसकेपछि दसैंका लागि अहिल्यैदेखि चौँरी र खच्चडमार्फत सामान ढुवानी गर्न थालेका छन् । 

Related News