​बेसक्याम्प पुग्दा जोनको अनुभूति

दृष्टि न्यूज

काठमाडौं, २८ वैशाख । दायाँ हात र खुट्टा गुमाएका क्यानेडाली नागरिक जोन कार्नस्ले मे ७ तारिख सगरमाथा बेसक्याम्पमा पाइला टेक्दा उनलाई संसार नै जितेको अनुभूति भयो । उनीमा खुशीको सीमा रहेन । विश्वको अग्लो सगरमाथाको विषयमा उनलाई थाहा भए पनि त्यो ठाउँ कस्तो देशमा पर्छ भन्ने थाहा थिएन । पहिलो पटक नेपाल भ्रमणमा आएका जोनलाई नेपालको प्राकृतिक सौन्दर्यले जति लोभ्यायो, त्यो भन्दा बढी नेपालीको आत्मीयताले उनमा अमिट छाप बसाल्यो । सहरका मात्र होइन, गाउँका मानिसहरु पनि उत्तिकै सहयोगी र आत्मीयता देखेर उनलाई स्वर्गमै आएको अनुभूति भयो । बेसक्याम्प जानु अगाडि उनले बुढानिलकण्ठमा लाखबत्ती बाले । यो उनको जीवनकै अविस्मरणीय क्षण थियो ।
शारीरिक रुपमा उनी अपांग भए पनि उनीभित्रको साहस, आत्मबल र साथीहरुको सहयोगले आफूले सगरमाथा बेसक्याम्पमा पाइला टेक्न सकेको बताए । ५२ वर्षीय जोनका एक जना छोरा छन् । रेल्वे विभागमा काम गर्दा २६ वर्ष अगाडि रेल दुर्घटनामा परेर उनले दाहिने हात खुट्टा गुमाएको कथा सुनाए । वास्तवमा त्यो दुर्घटना अरुलाई दुर्घटनाबाट जोगाउन खोज्दा आफैं दुर्घटनामा परेका थिए । उनको हिमाल आरोहण यो पहिलो भने होइन । सन् २०१६ मा उनले अफ्रिकाको किलो मजुरा हिमालको आरोहण गरेका थिए ।
क्यानडाको टोरोन्टोको व्यस्त जीवनबाट साहसिक यात्राका लागि नेपाल आएका उनी होटल मनाङ ठमेलका देवेन्द्र गिरीको आतिथ्यताबाट बढी प्रभावित भएका छन् । गिरीले उनलाई होटलको पाहुनाभन्दा परिवारको सदस्यका रुपमा आतिथ्यता प्रदान गरेका छन् । 
जोन भन्छन्– नेपाल देश मात्र सुन्दर छैन, यहाँका मानिसहरु पनि उत्तिकै सुन्दर लाग्यो । जहाँ गए पनि उनले नेपालीबाट राम्रो सत्कार पाए । नेपाल आउनुभन्दा अगाडि उनको मस्तिष्कमा सगरमाथा बेसक्याम्पको चित्र मात्रै घुमिरहन्थ्यो भने नेपाल आएर फर्किंदा उनको मत मस्तिष्कमा नेपालको कला संस्कृति र नेपालीहरुको आतिथ्यता पनि झल्किरहने छ ।
उनी क्यानडा पुगेर नेपालका बारेमा प्रचार गर्ने र क्यानडेली पर्यटकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने बताए ।
उनी भन्छन्, म जस्तो अपांगले त यस्तो कठिन यात्रा पार गर्न सक्छु भने तिमीले गर्न किन सक्दैनौं ? म होइन, हामी मिल्यौं भने जस्तोसुकै कठिन चुनौतीलाई पनि पार गर्न सक्छौं । यही हिम्मत उनको जीवनको ऊर्जा हो ।

Related News