​पाठेघर क्यान्सरसम्बन्धी तीन दिने कार्यशाला शुरु

दृष्टि न्यूज

काठमाडौं । नेपालका महिलाहरुमा लाग्ने क्यान्सर रोगमध्ये पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर र दोस्रो स्तन क्यान्सर समस्याको रुपमा देखापरेको छ । स्वास्थ्य शिक्षा तथा जनचेतनाको कमीले गर्दा बिरामीहरु ढिलो गरी अस्पताल आउने गरेको कारणले गर्दा बिरामीहरु बचाउन नसकेको अवस्थालाई मध्यनजर गरी नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल र अमेरिकन सोसाइटी अफ क्लिनिक अनकोलोजीको सहकार्यमा पाठेघर मुखको क्यान्सर सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी आजदेखि शुरु भएको छ । 
उक्त कार्याशाला गोष्ठीमा अमेरिकी चिकित्सक पाँच, भारतबाट पाँच, चीनबाट तीन र नेपालका २६ जना वरिष्ठ चिकित्सकको टोलीले उक्त कार्यशाला गोष्ठी सञ्चालन गर्ने जनाइएको छ । जसमा नेपालमा विभिन्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु २५० जना सहभागी हुनुभएको छ भने ३० वटा कार्यपत्रहरु प्रस्तुत हुने बताइएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाको अगुवाईमा नेपाल सरकार, रोटरी इन्टरनेशल र स्थानीय जनसमुदायको सक्रिय सहयोगमा विसं २०५१ मा स्थापना भएको भक्तपुर क्यान्सर अस्पतालले निरन्तर रुपमा मुलुकभरका क्यान्सर बिरामीहरुमा सेवा पु¥याउँदै आएको छ ।
यस कार्यक्रमको उद्देश्य अन्तर्राष्ट्रिय स्तरमा भइराखेको अभ्यास  र नयाँ प्रविधिबाट रोगको उपचार गर्ने विषयमा ज्ञानको स्थानान्तरण भई नेपालजस्तो विकासोन्मुख देशले लाभ लिने र बिरामीले गुणात्मक स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । उक्त कार्यशाला गोष्ठीले पक्कै पनि पाठेघरको मुखको क्यान्सरको रोगथाम र उपचारमा सहयोग पुग्ने आशा राखेको मेडिकल डाइरेक्टर प्रो. डा. ऋषिकेश नारायण श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

Related News