​प्रधानमन्त्री ओलीको भ्रमणपछि नेपाल–भारत सम्बन्धमा थप न्यानोपन आउँछ- भगतसिंह कोस्यारी, पूर्वउपाध्यक्ष, भाजपा

दृष्टि न्यूज

नेपाल–भारत सम्बन्धको परिवर्तित परिप्रेक्ष्यलाई कसरी नियाल्नुभएको छ ?
भारतले सधैँ नेपालको विकास र स्थायित्व चाहँदै आएको छ । हाम्रो पार्टी (भाजपा) सरकारको चाहना पनि त्यही परम्पराको निरन्तरता हो । नेपालमा हाम्रो चिन्ता त्यहाँको अस्थिरतासँग सम्बन्धित थियो । प्रजातन्त्र स्थापना भएपछि पनि अस्थिरता कायम रहँदा राजनीतिक संक्रमणका नाममा सरकार फेरबदल भइरहेको अवस्था थियो । त्यो नेपालकै लागि उचित थिएन । नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा सरकारको फेरबदलका कारण कति असर पुग्यो भन्ने कुराको अनुभव नेपालमै भइरहेको छ, हामीले त यहाँबाट देखेका मात्र छौँ ।
नेपालमा स्थिर सरकार निर्माण होस् भन्ने नेपाली जनताको चाहना हो । अहिले सरकारमा जति संलग्न छन् र जसले सरकारलाई समर्थन गरेका छन्, त्यो हेर्दा नेपालमा सर्वदलीय सरकार छ भन्दा हुन्छ । भारत र भारतीय जनताले चाहेको पनि यही थियो । हामी खुसी छौँ । नयाँ सरकारसँग मिलेर नेपालको समृद्धि र प्रगतिमा साथ दिन हामी प्रतीक्षारत छौँ । प्रयास पनि भएको छ ।
पछिल्लो समय नेपाल–भारत सम्बन्धमा आएको तीतोपन, अप्ठ्याराबारे तपाईं जानकार हुनुहुन्छ । अहिले त्यो तीतोपन बाँकी छ कि छैन ?
म तपाईंमार्फत् नेपाली जनतालाई भन्न चाहन्छु कि त्यो नेपाल–भारत सम्बन्धको अत्यन्त दुर्भाग्यपूर्ण च्याप्टर थियो । सम्बन्ध किन बिग्रियो, गल्ती भारतको कति थियो, नेपालको कति थियो भन्ने चरण अब गुज्रिएको छ । असहज सम्बन्धबाट सबैभन्दा बढी घाटा नेपालले व्यहोर्नुप¥यो, भारतलाई पनि घाटा भयो । हामी दुवै मुलुकका जनता पीडित भयौँ । अब परिवर्तित जनमतलाई आत्मसात् गरेर अघि बढ्ने जिम्मेवारी नेपाल र भारत दुवैको नेतृत्वको काँधमा आएको छ । नयाँ धरातलबाट सम्बन्धलाई नयाँ उचाइ दिन पहल गर्ने समय आएको छ । हाम्रोतर्फबाट त्यसको पहलकदमी भएको छ, नेपालले पनि सकारात्मक रूपमा लिएको छ ।
भारतले नेपालमा जे काम गर्छ, त्यसबाट नेपाल मात्र होइन, भारत पनि लाभान्वित हुन्छ । जस्तो, झुलाघाटमा पुल बन्यो भने भारतीय र नेपाली दुवै लाभान्वित हुन्छन् । महाकालीको पुलले वनबासा र महेन्द्रनगर दुवैका जनतालाई फाइदा हुन्छ । नेपालको विकास भारतका लागि पनि परिपूरक छ ।
प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध विस्तारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिनुभएको पहलकदमीको कारण के थियो ?
यो स्वाभाविक र जायज थियो । यसलाई अन्य हिसाबले भन्दा पनि सम्बन्ध बढाउन, समझदारी विकसित गर्ने प्रयासका रूपमा लिनुपर्छ । राजनीतिक तहमा विकसित हुने सुमधुर र सहज सम्बन्धबाट दुवै देश लाभान्वित हुन्छन् । यो बुझाइ नेपाल र भारत दुवैमा छ । मोदीजीले प्रयास गर्नुभयो, ओलीजीले स्वागत गर्नुभयो । समझदारीमा बढोत्तरी भयो । समझदारी र सद्भावमा अझै बढोत्तरी आउनुपर्छ भन्ने मलाई लाग्छ । यो भावनात्मक कुरा मात्र होइन । यसले नेपाल र भारत दुवैको विकासमा फाइदा पुग्छ, घाटा हुँदैन ।
नेपाल र भारतका दुवै सरकारबीचको सम्बन्ध सञ्चालनको वेभलेन्थ मिल्ला ?
तपाईंको प्रश्नलाई म युरोपियन युनियनको सन्दर्भबाट जवाफ दिन चाहन्छु । निर्वाचनको पर्यवेक्षण गर्न नेपाल गएको इयूले संविधानमा यो परिवर्तन गर, यो राख भनेर सुझाब दिएपछि नेपाल सरकारले कडा विरोध गरेको छ । मैले मंगलबार प्रधानमन्त्री ओलीजीले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङ सुनेको थिएँ । इयूलाई नेपाल सरकारले दिएको जवाफ स्वागतयोग्य छ ।
हामी नेपाल सरकारको साथमा छौँ र सरकारको एप्रोचलाई समर्थन गर्छौं । एउटा स्वाभिमानी देशले अर्को कुनै देशको स्वार्थ पूरा गर्ने होइन । नेपालको संविधानको व्याख्या गर्ने र यो थप, यो राख भन्ने अधिकार कसैलाई पनि छैन । म सम्झाउन चाहन्छु, भारतले यस्तो संविधान बनाऊ, फलानो धारा राख, फलानो हटाऊ भनेको थिएन । सबैलाई समेटेर प्रजातन्त्र सुदृढ गर्दा नेपालको स्थायित्व हुन्छ भन्ने मात्रै हाम्रो चासो थियो ।
प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणलाई यहाँको राजनीतिक वृत्तले कसरी हेरेको छ ?
ओलीजी व्यक्तिगत रूपमा मेरा र भारतका पनि असल मित्र हुनुहुन्छ । उहाँलाई भारतले न्यानो स्वागत गर्नेछ । उहाँले आम रूपमा अपेक्षा गरिएको स्थिर सरकारको नेतृत्व गर्नुभएको छ । नेपालको शान्ति, विकास र स्थायित्वमा भारतको सहयोग निरन्तर रहनेछ । हाम्रो राजनीतिक नेतृत्वले यो वचन दोहो¥याउनेछ । उहाँले पनि नेपाली जनताको सद्भावना र विश्वास लिएर आउँदै हुनुहुन्छ ।
हामी उहाँको स्वागतका लागि प्रतीक्षारत छौँ । वास्तवमा विपक्षमा रहँदाको एउटा परिप्रेक्ष्य हुन्छ, सरकारमा जाँदा त्यो बदलिन्छ । ओलीजी परिपक्व नेता हुनुहुन्छ । उहाँको भ्रमणपछि सम्बन्धमा थप न्यानोपन आउनेछ । थप सुमधुर र प्रगाढ हुनेछ । एकअर्काप्रतिको विश्वासमा पनि बढोत्तरी हुनेछ ।
भारतका बुद्धिजीवीहरुले नेपाल चीनतर्फ धकेलियो, भारतका लागि सुरक्षा खतरा भयो भन्ने आरोप लगाइरहेका छन्, तपाईंहरूको बुझाइ के छ ?
यो सब बेकारको कुरा हो । नेपाल सार्वभौम देश हो भन्ने कुरा तिनीहरूले बुझ्न सकेनन् भन्ने बुझ्नुपर्छ । नेपालले भारत र चीनसँग सम्बन्ध कायम राखेको छ । भारतसँग नेपालको सम्बन्ध दुई सार्वभौम देशको बाहेक परिवारको, नाता, रगतको सम्बन्ध छ । नेपाल चीनतर्फ गयो भन्नेहरू यथार्थमा भारतविरोधी हुन् । ती नेपालविरोधी त हुँदै हुन् ।
नेपाल–भारत सम्बन्ध त्यति कमजोर छैन । नेपाल न त प्रोइन्डिया हो, न त प्रोचाइना हो । नेपाल प्रोनेपाल हो । भारत सरकार र भाजपाको स्पष्ट धारणा छ, नेपाल सार्वभौम देश हो । कुनै पनि देशसँग सम्बन्ध सञ्चालन उसको सार्वभौम र आन्तरिक मामिला हो । नेपालीहरू भारतविरोधी हुन् भन्ने नारा लगाउनेहरू गलत हुन्, उनीहरूलाई गम्भीररूपमा सुन्नु जरुरी छैन ।
– परशुराम काफ्ले (नयाँ पत्रिका)

Related News