​भागबण्डामुक्त देश निर्माण गरौं

रमेश घिमिरे । बालकोटको पारिलो घामम ओली–प्रचण्डले गतसाता भेट गरेको समाचारले प्रमुखता पायो । के यो भेटले देशमा चलिरहेको राजनीतिक उकुसमुकुसको अन्त्य हुनेछ ? जुन पारिलो (तातो)घाममा बसेर उनीहरुले भेट गरेका छन्, त्यही पारिलो पाराले वाम गठबन्धनको समस्या पार्टी एकीकरणको गाँठो फुकाउन समर्थ भएकी भएनन् ? नेपाली जनताले चासोका साथ हेरेका छन् ।
हाम्रा राजनीतिज्ञहरुको पुरानो रोग के छ भने आफ्ना समस्याहरु आफैँ सुल्झाउन नसक्ने ? अनि विदेशीले चलखेल गरे भनेर भनिहाल्ने ? चलखेल गर्न दिएपछि उनीहरुले आफ्नो देशको हितमा चलखेल गर्छन् । त्यो कुराबाट शिक्षा लिनुपर्छ । विगतमा पनि यस्तो चलखेल नभएको होइन । मुख्य कुरा के हो भने हामी आफ्ना राष्ट्रिय हितहरुको जगेर्ना गर्न कत्तिको लागिपरेका छौं । निर्वाचन परिणामपछि विभिन्न दलका नेतृत्व वर्गले राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै जुन क्रियाकलाप जारी राखेका छन्, त्यो निन्दनीय छ । जनादेशको पालना गर्नु हरेक राजनीतिक दलको धर्म हो ।
एमाले र माओवादीले गठबन्धन गरी संयुक्त घोषणापत्रका साथ आम चुनावका माध्यमबाट जनतामाझ गएका थिए । त्यसलाई पुगनपुग दुईतिहाइ बहुमत दिई नेपाली जनताले अनुमोदित गरिसकेका अवस्थामा वाचा अनुरुप एमाले–माओवादी एकीकरणका लागि गम्भीर प्रयासतर्फ नलागी जुँगाको लडार्इँतर्फ लाग्नु दुर्भाग्य हो ।
यसमा कुनै सन्देह छैन ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा नेपालको राष्ट्रिय स्वाभिमान बढाउने काम गरेकै हुन् । जस्तो नेपालले संविधान जारी गरेको निहुँमा भारतले जुन नाकाबन्दी लगायो त्यसमा नेपालको राष्ट्रिय स्वाभिमानका लागि अडिग भएर उभिए र त्यसमा उनलाई नेपाली जनताको पूरा साथ रह्यो । त्यस्तै चीनसँग व्यापार पारवाहन सम्झौता गरे त्यसबाट नेपाल भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक हुन पुग्यो । यी यस्ता कामहरु हुन् जसले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न मुलुकको नागरिक भएको अनुभव गरायो ।
अब एमाले–माओवादीले जनतालाई दिएको बाचा अनुरुप नेपाल कम्युनिष्ट पार्टी मात्र गठन गरी सरकार बनाई जनतालाई प्रतिफल दिन ढिलो भइसक्यो । दुईवटै पार्टीको अस्तित्व रहिरह्यो भने समस्या झन् झन् जटिल हुँदै जान्छ तसर्थ सरकार गठनपूर्व पाटी एकीकरण गरी सरकार बनाउनु पर्दछ । भागबण्डाको रोगबाट मुक्त हुनको लागि पनि सरकार गठनअगावै एकीकरण आवश्यक छ ।
अब कुरा मात्र होइन कामबाट दुवै पार्टीको पुच्छर (एमाले–केन्द्र) झिकी नेपाल कम्युनिष्ट पार्टी गठन गरी सरकार बनाएमा मात्र जनादेशको कदर हुन्छ । आज नेपाली जनताले राष्ट्रको समृद्धि, सुशासनको खातिर नेतृत्व पंक्तिबाट त्याग खोजेका छन् र नेतृत्व पंक्तिले त्यसो गर्न नसके फेरि कहिलेमाथि नउठ्न सक्ने गरी थेचारिने छन् र यदि त्यसो भयो भने मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुनेछ ।
(स्वतन्त्र पत्रकार)
rmshghimire@yahoo.com

Related News