​राष्ट्रपति भण्डारी र कतारका अमीर शेखबीच भेटवार्ता

दृष्टि न्यूज

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले कतारका अमीर शेख तमीम बिन हमद अलथानीसँग दीवन ए अमीरीमा उच्चस्तरिय भेटघाट गरेकी छन् । मंगलबार भएको सो भेटमा राष्ट्रपति भण्डारीको सम्मानमा अमीरी गार्डको एक बिशेष टुकडीले सलामी अर्पण गरेको थियो ।
कतारका अमीरले राष्ट्रपति भण्डारी र प्रतिनिधि मण्डलको स्वागत गर्दै दुई देशबीच रहिआएको मैत्रीपुर्ण सम्बन्धलाई सम्बोधन गरे । उनले यस भ्रमणले दुई देशबीच धेरै बिषयहरुमा सहकार्य र सहयोग  हुन सक्ने औँल्याए ।
त्यस्तै, राष्ट्रपति भण्डारीले कतारका आफूलाई कतार भ्रमणको निम्तो दिएको धन्यवाद व्यक्त गर्दै यसले दुई देशबीचको सम्बन्ध झनै प्रगाढ हुने बिश्वास व्यक्त गरिन् । साथै उनले दुई देशबीच रहेको कुटनीतिक सम्बन्धले थप उचाई लिने बिश्वास समेत व्यक्त गरेकी छन् ।
दुई राष्ट्र अध्यक्षबीचको भेटमा लगानी प्रवद्र्धन तथा शिक्षा, स्वास्थ्य र कृषि पर्यटनको क्षेत्रमा एक आपसमा को–अपरेशनबारे छलफल भएको थियो । साथै एकापसमा क्षमता बिकास र अनुभव साटासाट गर्न कतारलाई चाहिने श्रमशक्तिमा पनि सहकार्य गर्न सकिने राष्ट्रपति भण्डारीले बताइन् । राष्ट्रपति भण्डारीले कतारले श्रमिक एवं श्रमको क्षेत्रमा गरेको बिकास र आप्रवासी कामदारको सेवा सुविधा एवं सुरक्षामा देखाएको उदारता एवं कदमको प्रसंशा गरेकी थिइन् । उनले विशेषगरि नेपाली कामदारको पक्षलाई समेटिएकी थिइन् ।
मंगलबार नै दीवान ए अमीरीमा दुई देशका राष्ट्र अध्यक्षको उपस्थितिमा केही सम्झौतामा हस्ताक्षर भएको छ । बिशेषगरी कुटनीतिक सरकारी राहदानीवाहक तथा बिशेष प्रकारको राहदानी वाहकलाई भिसा आवश्यकता नपर्ने गरी  आवत–जावत सहजीकरण गर्ने कुरामा कतारका तर्फबाट उपप्रधान एवं परराष्टमन्त्री शैख मोहम्मद बिन अब्दुलरहमान अलथानी र नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
यसैगरी कृषि एवं खाद्यान्न सुरक्षाको क्षेत्रमा पनि दुवै देशबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले हस्ताक्षर गरेका छन् भने कतारका तर्फबाट वातावरण एवं नगरपालिका मामिला मन्त्री मोहम्मद बिन अब्दुल्लाह आलले हस्ताक्षर गरे । 
सो अवसरमा दीवान ए अमीरीमा कतार सरकारका मन्त्रीगण उच्चपदस्त अधिकारी र कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइराला, नेपालका लागि कतारी राजदुत युसुफ मोहम्मद अल हैललगायत उद्योगपतिहरुको सहभागिता थियो ।

Related News