​भरतपुर महानगरको प्राथमिकतामा सडक

योजना छनौट गर्न धमाधम वडा भेला

दृष्टि न्यूज

चितवन  । भरतपुर महानगरपालिकाले दोस्रो नगर सभाको लागि वडास्तरीय योजना छनोटको काम सुरु गरेको छ । चितवनको भरतपुरमा मंगलबार दोस्रो नगर सभाको लागि योजना छनौट सम्बन्धी चार नम्बर वडा भेलाको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले सडक बिस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । 
वडा भेलाकी प्रमुख अतिथि दाहालले भरतपुर महानगरपालिकाले वडावासीको चाहना अनुरूप नै योजना छनोट होस् भन्ने उद्देश्यका साथ वडा भेलाहरू आयोजना गरेको जानकारी गराउनु भयो । उहाँले वडाका आवश्यकता, सम्भावना र चुनौतीहरूको बारेमा गहन छलफल गरी बढीभन्दा बढी लाभ प्राप्त हुने योजना छनोट गर्न आग्रह गर्नुभयो । महानगर प्रमुख दाहालले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, सामाजिक विकास लगायतका प्रभावकारी योजनाहरू छनोट गर्न आग्रह गर्नुभयो ।
महानगरले विकासको पहिलो आधारको रूपमा सडक पूर्वाधार र सडक सञ्जाललाई लिएको भन्दै उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा साना ठूला गरी १ सय ५० वटा सडक बिस्तार गरी कालोपत्रे  सम्पन्न गरिने बताउनु भयो । उहॉले महानगरको योजना अनुसार गौरवको आयोजनाको रूपमा भवन तथा शहरी विकास कार्यालयमार्फत महानगरको टेन्डर प्रकृया अन्तिम अवस्थामा रहेको र चालु आर्थिक वर्षभित्रै शिलान्यास गरी निर्माण कार्य अगाडि बढाइने बताउनु भयो । महानगरले सिटी हल, बहुतले ब्यावसायिक भवन निर्माणको प्रकृयालाई अगाडि बढाइरहेको उहाँले बताउनु भयो ।
गएको १ वर्ष महानगरपालिकाले सुशासन कायम राख्दै दीर्घकलीन रणनीति निर्माण गर्नमा केन्द्रित रहेको भन्दै महानगर प्रमुख दाहालले आगामी आर्थिक वर्षमा महानगरका गौरवपूर्ण आयोजनाहरू काम देखिने गरी अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाले चालु खर्चभन्दा पूँजीगत खर्च बढी राखेर अगाडि बढिरहेको जानकारी दिँदै उहाँले यसलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताउनु भयो ।
महानगर प्रमुख दाहालले वडास्तरीय योजना छनोट गर्दा टालटुले नभई रणनैतिक महत्वका योजनाहरू छनोट गर्न आग्रह गर्नुभयो । उहाँले आगामी नगर परिषदबाट महानगरीय गौरवका योजनालाई पर्याप्त बजेट बिनियोजन गरी बॉकी बजेट वडास्तर र अन्य क्षेत्रलाई बिनियोजन गर्ने बताउँदै वडाहरूले पनि वडाका गौरवपूर्ण योजनाहरू वडा भेलाबाट छनोट गरी सिफारिस गर्न आग्रह गर्नुभयो । प्रमुख दाहालले महानगरपालिका महानगरवासीहरूको इच्छा र आवश्यकता अनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै वडा कार्यालय र महानगरपालिकाले गरिरहेका विकास निर्माण र अन्य सेवा प्रवाहको निगरानी र खबरदारी जारी राख्न महानगरवासीलाई आग्रह गर्नुभयो 
वडा अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न वडा भेला उद्घाटन समारोहमा जिल्ला विका समिति चितवनका पूर्वसभापति विष्णु घिमिरे, राजनीतिक दलका प्रतिनिधि, टोलसुधार समितिका पदाधिकारी लगायतले आआफ्ना योजनाहरू पेस गरेका थिए । वडा भेलाका सहभागीहरूले दिगो पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, फोहोरमैला ब्यवस्थापन र सामाजिक सुरक्षाका क्षेत्रहरूलाई प्राथमिकतामा राखी नगर र वडास्तरीय बजेट ब्यवस्था गर्न माग गरेका थिए । 
भरतपुर महानगरपालिकाले असारको १५ गतेसम्म नगर परिषद सम्पन्न गरिसक्ने गरी मंगलबारदेखि दोस्रो नगर परिषदको तयारी सुरू गरेको छ । नगर परिषदको तयारी अन्तर्गत जेठ २२ गतेदेखि २७ गतेसम्म वडा भेला सम्पन्न गर्नेछ । वडा भेलाहरुबाट परिमार्जित भई आएका योजनालाई समेटी असार १५ गतेसम्म नगर परिषद सम्पन्न गर्ने लक्ष्य राखिएको महानगर प्रमुख दाहालले बताउनु भयो । मंगलबार वडा नम्बर ४, १ र ३ का भेलाहरू सम्पन्न भएका छन् । ४ नम्बर वडा भेलालाई प्रमुख रेनु दाहाल, १३ नम्बर वडा भेलामा उपप्रमुख पार्वती शाह र वडा नम्बर १ को भेलालाई प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी प्रमुख अतिथि रहनु भएको थियो ।

Related News