​भरतपुरमा जंगली राज

वीरेन्द्र रावल । एक जना बुज्रुक एवं पाका राजनीतिज्ञले समसामयिक राजनीतिका बारेमा कुरा गर्ने क्रममा भनेको कुराले मलाई स्मरण गरायो जुन कुरा भरतपुर महानगरपालिकाको स्थगित मतगणना पछि पुनः मतदानबाट शनिबार प्राप्त परिणामसँग ठिक  मिल्दोजुल्दो छ ।
ती पाका राजनीतिज्ञले भनेका थिए कि, बाबु यो राजनीति भन्ने कुरा छलछाम, छलकपट, साम, दाम, दण्डभेदबाट मात्र गर्न सकिने व्यवसाय बनाइयो आजभोलि । तर राजनीति यस्तो पवित्र उद्देश्य बोकेको चिज हो जो सत्तामा जाने, जनताको सेवा गर्ने र  जनसेवामा आधारित नीति हो । 
उनले छोटो र तिखो शब्दमा भनेका थिए– समग्रमा राजनीति भनेको ढुंगा पेल, बालुवा पेल देऊ मेरो तेल  भन्ने नै हो । ढुंगा, बालुवाबाट कदापि तेल निस्कँदैन । तेल त केवल तेलहन बालीबाट मात्र निस्कन्छ । तर नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने यस्तै बनाइन थालेको छ ।
नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना गर्न र विधिको शासनको कुरा फलाँक्ने दल र तीनीहरुद्वारा सञ्चालित सरकारका गतिविधिहरुबाट नै अब यो देशको भविश्य कता जाने भन्ने कुराको पछिल्लो उलाहरण भरतपुर निर्वाचनलाई लिन सकिन्छ ।
न्याय नपाए गोरखा जानु भन्ने पुर्खाको अर्ति उपदेशलाई समेत चितवनको भरतपुरको १९ नम्बर वडाको पुनः मतदान र त्यसबाट प्राप्त मत परिणामलाई लिन सकिन्छ । सबैले भात खाएपछि मात्र आफूले खाने राजा महेन्द्र मल्ल जो काठमाण्डौ उपत्यकामा मल्ल कालमा शासन गर्दथे एक ताका । गौतम बुद्ध, सीता र भृकुटी पनि बस्दथे यही देशमा । यही देश हो जहाँ १० वर्षसम्म रगतको खोलो बगेको थियो । द्वन्द्वले देश आक्रान्त थियो कुनै बेला ।
यसैको सन्दर्भमा १९ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचनमा नेपाली जनताले सक्रियतापूर्वक भाग पनि लिए । मधेश बाहेक देशका अधिकांश स्थानहरुमा स्थानीय निकायको निर्वाचन पनि सफल भयो ।  तर भरतपुर जहाँ नेपाली कांग्रेसका सभाति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले  र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन गरेको क्षेत्र चितवनको भरतपुरमा गरेको गठबन्धनको शक्ति सापटीको फोहोरी राजनीतिले अब मुलुकको संवैधानिक अधिकार र क्षेत्रमाथिको नांगो हस्तक्षेप मात्र होइन मुलुकमा न्याय होइन सत्ता र शक्तिबाटै अन्याय हुँदोरहेछ भन्ने कुरालाई सहजै पुष्टि गरिदिएको छ । 
दोस्रो चरणको निर्वाचनका क्रममा भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेकका बेला जुन बाँदरे प्रवृत्ति माओवादी–कांग्रेस गठबन्धनबाट हुन गयो त्यो कुरा नेपालको लोकतान्त्रिक व्यवस्थामा निकै ठूलो दुर्भाग्य र कलंकको रुपमा हेरिन थालेको छ । 
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ र २० को मतगणना बाँकी रहेको अवस्था थियो । १९ को मतगणना भैरहेका बेलामा दुई जना माओवादीका कार्यकर्ताले बाँदरे प्रवृत्ति देखाउँदै मतपत्र च्यातेपछि १९ नम्बरको मतगाणना कार्य रोकियो ।  एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले नेपाली कांग्रेस र माओवादी गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार बनेकी प्रचण्ड पुत्री रेणु दाहालभन्दा ७ सय भोटको अन्तरमा  अग्रस्थानमा रहेका बेला हार सुनिश्चित देखिएपछि माओवादी कार्यकर्ताहरुले बाँदरे प्रवृत्ति देखाइहाले । त्यो कार्य सुनियोजित षड्यन्त्र थियो  भन्नेमा दुईमत नै छैन । 
मतपत्र च्यातिएको बिषयलाई लिएर घटनाको छानविनका लागि ३ सदस्यीय छानविन समिति पनि बनाइयो । छानविन समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले पुनःमतदान गर्ने षड्यन्त्रको जालो भन्दा बाहिर आउन सकेन । एमालेले त्यस निर्णयलाई मान्न नसकिने भन्दै सर्वोच्चमा रिट पनि ग¥यो । अन्तत्वगत्वा प्राकृतिक न्यायको सिद्धान्तलाई समेत उल्टाएर साउन २० गते भरतपुर महानगरको १९ नम्बर वडामा पुनः मतदानको मिति तोक्यो ।  यस अवधिमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनले ढुंगा पेल, बालुवा पेल देऊ मेरो तेल भन्ने नीतिलाई अबलम्बन गर्दै साम, दाम दण्ड भेदको राजनीतिलाई व्यापक बनाउँदै लगे ।
१९ नम्बर वडा जहाँ मत पत्र च्यातिए त्यो वडामा चुनावको मिति तोकिनुपूर्व नै सत्ता र शक्तिको व्यापक दुरुयोग गरियो । २१ औं शताब्दीका हामी नेपाली त्यसैमा चितवन भरतपुरका जनतालाई भेडा बाख्राको दर्जामा माओवादी शक्तिले परिणत गरायो । द्वन्द्वकाललाई चटक्कै बिर्सेछन् भरतपुरका अन्याय प्रेमी जनताले चितवनको माडी घटनालाई । 
२० गते सम्पन्न मतदानको मतपरिणाम २१ गते शनिबार राती ९ बजेभित्र आयो कि माओवादी केन्द्रकी रेणु दाहाललाई चितवनको मुख्य निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा समेत गरे । रेणु दाहाल भरतपुर महानगरपालिकाका लागि साम, दाम, दण्ड भेदबाट निर्वाचित भइन् भन्नमा कुनै हिचकिचाहट नै रहेन । किनभने दोस्रो चरणको निर्वाचनमा प्राप्त मतको अन्तरलाई दोब्बरमा नपुगाएसम्म १९ नम्बरलाई कब्जामा नपारेसम्म चुनाब जितिदैन भन्ने लागेर नै माओवादीले बाँदरे प्रवत्ति अनि जंगली राजको झल्को दिनेगरी सत्ता र शक्तिको दुरुपयोग गरेको दिनको घाम झैं छर्लङग भएको छ । 
अन्त्यमा,..
विपरीत ध्रुवहरुको आकर्षणलाई विज्ञानले पनि स्वीकार्दैन । तर नेपालको राजनीतिमा कुकुर र विरालोको अवस्थामा विगत धानेका नेपाली कांग्रेस र माओवादी यीं दुवै पार्टीहरु नेपालको राजनीतिबाट बाहिरिने खतरा थाहा पाएर नै अप्राकृतिक गठबन्धनको बाटो रोजेका हुन भन्नेमा दुइमत नै छैन । 
नेपालको राजनीतिमा परम्परागत विरासत, नीति सिद्धान्तबाट माथि उठ्न नसकेको नेपाली कांग्रेस र नेपाली भूमिमा बन्दुकको बलमा सत्ता कब्जाको बाटोबाट अगाडि बढ्न सकिन्छ कि भनेर १० बर्षे जनयुद्ध थालेको नेकपा माओवादी केन्द्र जो उग्रवादको पराककाष्टाबाट थलिएर जनताबाट बहिष्कृत बनेको झुण्डले देशी विदेशी प्रतिक्रियावादीहरुको आडमा नेपालको राष्ट्रवादी शक्ति नेकपा एमालेलाई कमजोर बनाउनका लागि प्राविधिक रुपले गठबन्धन गरेको देखिन्छ । यो गठबन्धनलाई विदेशीको इशारामा  प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि सँगै लिएर जान सक्ने खतरा रहेकाले आम राष्ट्रवादी शक्तिहरु एकजुट भई अप्रजातान्त्रिक गठबन्धनका विरुद्धमा सारा नेपालीहरु एकजुट हुन जरुरी देखिन्छ । राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षाका लागि सारा नेपालीले अब हुने प्रदेशसभाको निर्वाचनमार्फत् राष्ट्रघातीहरुलाई बलियो झापड दिनुपर्ने बेला आइसकेको छ ।
birendrasy2011@gmail.com

Related News