​भीषणलाई जन्मदिन उपहारमा ‘कोही उदास’

काठमाडौं, १३ साउन । गायक भीषण मुकारुङले ३९औं जन्मोत्सवमा ‘कोही उदास’ बोलको गीतको भिडिओ सार्वजनिक गरेका छन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा अभिनेता दयाहाङ राईले उक्त गीतको भिडिओ सार्वजनिक गरे । त्यत्ति मात्र होइन, भीषणको जन्मदिनको केक काटेर खुसियाली पनि मनाइयो । कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ र अभिनेता राईले म्युजिक भिडियोबारे टिप्पणी गरेका थिए । 
उक्त गीतमा शुभ मुकारुङको शब्द र बलराम समालको संगीत समेटिएको छ । विज्ञान राईले निर्देशन गरेको म्युजिक भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोल, कृष्णभक्त महर्जनले अभिनय गरेका छन् । गायक मुकारुङको ‘चन्द्रमुखी’ एल्बममा समेटिएको उक्त गीतको भिडियो सङ्स नेपालले युट्युबमार्फत दर्शकमाझ ल्याएको हो । 
गायकका अनुसार गीतमा शैक्षिक बेरोजगारीको विषयलाई समेटिएको छ । ‘यो गीतमार्फत सकारात्मक सन्देश जानेछ’, उनले भने, ‘यसले शैक्षिक बेरोजगारीको अवस्थाका साथै नेपालीहरुको सहरी समस्यालाई उजागर गरेको छ । त्यसको सम्बोधनका लागि मद्दत पुगोस् भन्ने अपेक्षा हो ।’ 
निर्देशक राईको टिमले जन्मदिनमा उपहारस्वरूप यो गीतको भिडियो उपलब्ध गराएको उनले सुनाए । भीषणका अढाई सय गीत रेकर्ड भएका छन् । ‘उहाँहरूले दुई वर्षअघि मन पराएर भिडियो बनाउने कुरा भएको थियो’, उनले भने, ‘यसपटक बर्थडे गिफ्टका रूपमा प्राप्त भएको छ ।’ धेरै मिहिनेत गरेर राम्रो भिडियो तयार भएको उनले दाबी गरे । 

Related News