​आजदेखि थिम्पूमा ‘साफ च्याम्पियनसिप फूटबल’, पहिलो खेल भारत–श्रीलंका भिड्दै

दृष्टि न्यूज

भुटान । बिहीबार (आज)देखि १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिता भुटानको थिम्पूमा सुरु हुँदैछ । उद्घाटन खेलमा भारत र श्रीलंका भिड्दैछन् ।  थिम्पुको चाङ्ली मिथाङ रंगशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् । 
उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । त्यस्तै श्रीलंकाले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदै छ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो । त्यतिबेलाको फाइनलखेलमा बंगलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि भारत उपविजेतामा सीमित बनेको थियो । 
त्यस्तै समूह चरणको खेलमा भारतले भुटानलाई ३–० र नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग ३–० को हार बेहोरेको थियो । गत वर्ष सम्पन्न पहिलो संस्करणको खेलमा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान र भारत गरी चार राष्ट्र सहभागी थिए । आजै हुने दोस्रो खेल स्थानीय समयानुसार बेलुका ७ बजे समूह बीअन्तर्गतका बङ्गलादेश र पाकिस्तान आमनेसामने हुँदैछन् । बङ्गलादेश साविक विजेता हो भने पाकिस्तानको प्रतियोगितामा पहिलो सहभागिता हो । 
आगामी भदौ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, बंगलादेश, श्रीलंका, भारत र पाकिस्तान गरी छ राष्ट्रको सहभागिता छ । 

Related News