​विचरा देउवा

शम्भु श्रेष्ठ ।
– राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतम लेख्छन्– ‘कांग्रेसले चुनावपूर्व नै हार्ने तयारी गरिसकेको थियो । प्रहरी प्रमुखको नियुक्ति विवाद र त्यही लहरोमा तत्कालीन प्रधानन्यायाधीशविरुद्धको महाअभियोग आफैँमा आत्मघाती त छँदै थियो । त्यसमाथि देउवाको अस्पष्ट वाणी र तर्कहीन प्रस्तुति कांग्रेस हार्नुको कारण हो । ओली सूचनामाथि पकड राख्छन् । पछिल्लो समय ओली युवामाझ लोकप्रिय छन् । उनीमा युवाहरुमा आशा जगाउने क्षमता छ । ओलीको तुलनामा देउवाले युवाहरुमा आशा जगाउन सकेका छैनन् । देउवा बोलिरहँदा स्रोताको अनुहार हेरेरै भाव झल्किन्छ ।’
– वरिष्ठ पत्रकार होमनाथ दाहाल लेख्छन्– ‘पार्टीले अपनाउँदै आएको सिद्धान्तमाथि नै स्खलन आएपछि चुनाव हार्नुको कारण खोज्नेतर्फ कांग्रेसको ध्यान नजानु चिन्ताको विषय हो । कांग्रेस सत्ता भागबण्डामा नै रुमल्लिएको छ । संस्थापन पक्ष आफ्ना यी कमी कमजोरी उजागर हुने भयले बैठकसम्म नबोलाउने हठमा पुगेको छ । अब हुने केन्द्र र प्रदेशको चुनावमा स्थानीय तहको भन्दा धेरै गम्भीर र महत्वको हुने कुरामा द्विविधा छैन । कांग्रेसको नेतृत्वले आफूलाई सुधारेनन् भने कांग्रेसलाई हराउन विरोधी शक्ति आवश्यक पर्ने छैन । कांग्रेसनै कांग्रेसको पराजयको कारण बन्ने छ ।
– विपिन कोइराला लेख्छन्– विपी कोइरालाले जीवनभर आफ्नो सिद्धान्त र निष्ठामाथि कसैसँग सम्झौता गरेनन् । चाहेको भए उनी आजिवन प्रधानमन्त्री हुन सक्थे । तर, देश, जनता र प्रजातन्त्रका लागि उनी आठ वर्ष जेल, आठ वर्ष भारतमा निर्वासन जीवन बिताए । विपीले स्वतन्त्र न्यायपालिका स्थापित गर्न हरिप्रसाद प्रधानलाई ल्याएर प्रधानन्यायाधी बनाए । ०१५ सालको आम निर्वाचनमा बहुमत ल्याएपछि विपीकै सरकारले बिर्ता उन्मूलन, राज्य रजौटा उन्मूलन, जंगलको राष्ट्रियकरण जग्गाको हदबन्दी कायम गर्ने जस्ता दूरगामी निर्णय गरे । त्यो पनि डेढ वर्षको सानो अवधिमा । को कति पटक प्रधानमन्त्री भयो, त्यो महत्वको कुरा होइन । उसका कार्यकालमा देश र जनताको हितमा कति काम भयो ? त्यो महत्वपूर्ण हो । कतिपय मुद्दामा विपीको भारतसँग कुरा मिल्दैन थियो । तर, पनि चीन र भारतसँगको सम्बन्धलाई विपीले सन्तुलित बनाएका थिए ।

हुन त विपी कोइराला र शेरबहादुर देउवाबीच तुलना गर्नु भनेको विपीप्रति अन्याय हुनेछ । तर, पनि माथिका यी प्रजातन्त्रवादी लेखकहरुले नेपाली कांग्रेसको दयनीय अवस्थाका बारेमा चिन्तन गर्दै लेखहरु लेख्ने गरेका छन् । सायद देउवालाई यी लेखहरु पढ्ने फुर्सद नभएर होला, उनले आफूलाई सुधार्ने भन्दा बढी उधार्ने काम गरिरहेका छन् । देउवा नेपाली कांग्रेसको सभापति भए पनि उनले पार्टीलाई लोकतान्त्रिक मूल्य, मान्यताविपरीत डोहो¥याइरहेकोले स्थानीय निकायको परिणाम कांग्रेसको विपक्षमा गएको ठम्याई यी बुद्धिजीवीहरुको छ । प्रजातन्त्रवादी लेखकहरु स्वयं ठोकेर भन्छन्– ‘यस्तै चाला हो भने प्रतिनिधिसभा र प्रदेशसभामा पनि कांग्रेसको हालत यो भन्दा तल होला माथि हुने छैन । किनभने, सत्तास्वार्थ देउवाका एक मात्र एजेन्डा बनेको छ । हिजो सत्ताकै लागि माओवादीसँग सहकार्य गरेको कांग्रेसले अहिले आएर राप्रपासँग सहकार्य गरेको छ ।
सिद्धान्त मिल्नेहरुबीचको सहकार्यलाई जनताले पत्याउँछ भने, सिद्धान्त नमिल्नेबीचको सहकार्यलाई कार्यकर्ताले सजिलै पचाउन सक्दैनन् । स्थानीय निकायको निर्वाचनमा भोट के मा ? हँसिया हथौडामा, नेपाली कांग्रेस जिन्दावादको नारा हरेक आमसभामा लाग्यो । आज त्यही कांग्रेस भोट के मा ? गाईमा, नेपाली कांग्रेस जिन्दावाद भन्दैछन् । जनता र कार्यकर्तालाई उल्लु बनाउने पनि एउटा सीमा हुन्छ । बरु एमाले–माओवादी गठबन्धनले स्पष्ट रुपमा वामपन्थीहरुको बहुमतको सरकार बनाएर राजनीति स्थिरता दिन यो गठबन्धन गरिएका हो भनेका छन् । निर्वाचनपछि पार्टी नै एकीकरण गर्नेसम्मको सहमति भएको कुरा बाहिर आएको छ । तर, के निर्वाचनपछि एमाले–माओवादी पार्टी एकीकरण भएझैं नेपाली कांग्रेस र राप्रपा पनि एकीकरण होला ? यदि हुँदैन भने राप्रपासँगको कांग्रेसको यो गठबन्धन ‘मुर्खको सल्लाह खरानीको डल्ला...’ भनेझै हुनेछ ।
अझ देउवाले ज्योतिषीको हवाला दिँदै सात पटक प्रधानमन्त्री बन्छु भन्दैछन् । के ज्योतिषीकै भविष्यवाणी पूरा गर्नका लागि लोकतान्त्रिक गठबन्धन गरिएको हो त ? माथि विपीन कोइरालाले भनेझै कति पटक प्रधानमन्त्री भयो भन्ने कुरा ठूलो कुरा होइन । एक पटक प्रधानमन्त्री भएर देश र जनताको लागि कति काम ग¥यो भन्ने कुरा ठूलो हो । चार पटक प्रधानमन्त्री भएका देउवाले गर्नुपर्ने भन्दा नगर्नुपर्ने काम धेरै गरेकाले कांग्रेससँग जनताको आस्था घटेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रचारमा हिंडेका प्रधानमन्त्री देउवाले वाम गठबन्धनविरुद्ध जथाभावी बोल्नेबाहेक आफूले देश र जनताका लागि गरेका एउटा पनि मुद्दा उनले उठाउन सकेका छैनन् । बरु, उनले कम्युनिष्ट शासनमा आए भने ‘रुन पनि पाइन्न’ भन्ने शब्दलाई युवाहरुले व्यंग्यका रुपमा सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । निर्वाचनका लागि कांग्रेसले घोषणापत्र त तयार गरेको छ । त्यो घोषणापत्र मात्रै देउवाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म वाचन गरेको भए, जनताले कांग्रेसको कार्यक्रम बुझ्ने थिए । बिडम्बना यति सल्लाह दिने मान्छे पनि विचरा देउवासँग रहेनछन् ।

Related News