विजुली बसको अभियान

दृष्टि न्यूज


रवीन्द्र श्रेष्ठ
विजुली बसको उद्घाटन हालै भएको छ । 
एउटा विजुली बसको मूल्य करीव २ करोड पर्ने रहेछ । सरकारको प्रत्येक वर्षको वजेट मध्ये करीव १० प्रतिशत खर्च नै हुन सकेको छैन । अर्थात सरकारले वजेटमा विनियोजन गरेर पनि तथा सरकार संग पैसा भएर पनि करीव १० प्रतिशत वजेट खर्च नै गर्न सकेको छैन । यस पालीको वजेट १३१५१६ करोड रहेकोछ । यस मध्ये करीव १३१५१ करोड रकम सरकारले यसपाली पनि खर्च गर्न सक्ने छैन । सरकारले यही रकम मध्ये वाटै विजुली बस किनेर चलाउने शुरुवात गरेको भए जनतामा राम्रो सन्देश जाने थियो । 
विगतका वर्षहरुमा झैं यसपाली नभएर सबै खर्च हुन सक्दछ भन्ने तर्क पनि आउन सक्दछ । तर यस आर्थिक वर्षको तीन महिनामा केवल ५ दशमलव ५१ प्रतिशत मात्रै खर्च भएकोले पनि यस सरकारले पनि वजेट पुरै खर्च गर्न सक्दैन भन्ने देखिसकेको छ । तसर्थ खर्च गर्न नसकेका मन्त्रालयका वजेटहरुवाट ५ प्रतिशत मात्रै वजेट निकाले पनि ६५७५ करोड रकमवाट ३२८७ वटा विजुली बस किन्न सकिने हुन्छ । यो भनेको देश भरका सदरमुकाम संग राजधानी आउने जाने गरी बस चलाउन तथा राजधानीमा १००० वटा विजुली बस चलाउन पुग्ने हुन्छ ।  यदि सरकारले यस्तो योजना सहित अहिले नै ५० वटा विजुली बस ल्याएर चलाउन थालेको भए जनतामा सरकारले केही गर्न लाग्यो भन्ने उत्साह थपिने थियो । 
सरकारले केही गर्ने वेला आइसकेको छ । सरकारको मधुमास सकिएको छ । अब पनि केही जनप्रीय काम हुन पर्ने हो । 

Related News