​आगे, के होला मुलुकको ?... रामजाने

डा. प्रदीप भट्टराई । मुलुकको सरकार र समाज आफ्ना नागरिकहरू विदेश खेद्न लाठो लिएर लागेको छ । सरकार एकै दिनमा राहदानी मात्र बनाई दिइरहेको छैन, वैदेशिक रोजगारीमा जानेलाइ नि:शुल्क हवाइ टिकट र वर्क प्रमिटको व्यवस्था पनि गरिदिँदैछ । बैंकबाट सहुलियतपूर्ण ऋण र वीमाको व्यवस्था पनि हुँदैछ त्यति मात्र हैन, अझ कुशासन लादेर मुलुकमा बस्नै नसक्ने परिस्थिति सिर्जना पनि गरिँदैछ । 
समाज पनि मुलुकमा बस्नेलाई नालायक र लाछी भन्न थालेको छ । घर–घरमा बाबुआमा भन्न थालेका छन्, फलानाको छोरो बाहिर गएको छ, मेरै मात्र काम नलाग्ने लोतिकाने पर्‍यो । श्रीमतीहरू भन्दैछन्, सबैका बूढा लाहुरे छन्, मेरै मात्र चाउरे परे । गाउँका नयाँ साहुहरू पनि चर्काे ब्याजमा पैसा लगाउनलाई भन्दैछन्, अरूका छोरा र श्रीमानले त गरेर खाएका छन् । तिमीहरूकै मात्र हुन्, घर रूङेर बस्ने । विदेशिएका साथीहरू पनि लाहुरमा मस्ती भएको बताउँदै भनिरहेकाछन् कति रूङ्छस हो बूढीलाई ?
यी यस्ता प्रतिनिधि भनाइहरू हुन् जसले नेपाली लाठेहरूलाई विदेश जान अभिप्रेरित गरिरहेका छन् । सके, अमेरिका, युरोप, क्यानाडा, अष्ट्रेलिया, त्यहाँ नसके जापान, कोरिया त्यहाँ पनि नसके खाडी नै सही युवाहरू विदेश जान बाध्य छन् । उनीहरू आफू नामर्द नभएको पुष्टी गर्न पनि घर छोडेर बाहिरिँदैछन् ।
यसरी युवाहरू बाहिर जान बाध्य भएपछि एक हैन, अनकौं खाले सामाजिक विचलन र विकृति फालिम लागेर हाजिर हुँदैछन् । त्यस्ता केही यसरी सूचिकृत गर्न सकिन्छ:
१. गाउँमा बाँच्दाका जन्ती र मर्दाका मलामीको अभाव हुँदैछ ।
२. गाउँका उर्वरभूमीहरू बाँझो पल्टिदैछन् र आयात गरेर खाने चलन बढ्दो छ ।
३. नवविवाहित महिलामा यौन विचलन आउँदा थ्रुप्रै सामाजिक विचलन र विकृति बढेका छन् ।
४. युवाशक्तिको पलायनले सामाजिक सचेतनामा कमी आएको छ ।
५. विऽोह गर्ने पुस्ता लाहुरे भएपछि राजनीतिमा जसले जे गरे पनि हुने भएको छ ।
६. उच्च जनशक्ति र वौद्धिक पलायनका कारण मुलुकको कार्यदक्षतामा कमी आइरहेको छ ।
७. खासगरी युवा पींढिमा मुलुकमा केही नै हुँदैन भन्ने खालको निराशा र कुण्ठा बढेको छ ।
८. समग्रतामा मुलुक छोड्ने प्रतिस्पर्धा बढ्दा नकारात्मक सन्देश प्रवाह भैरहेको छ ।
यी त केही प्रतिनिधि समस्या भए, यीभन्दा धेरै समस्याहरू सूचीकृत गर्न सकिन्छ । यी समस्याका अल्पकालीन प्रभावहरू जे जति छन्, तीभन्दा कयौं गुणा बढी दीर्घकालीन प्रभावहरू रहन्छन् । जसका बारेमा समाजशास्त्री, मानवशास्त्री र योजनाविदहरू नै आधिकारिक रूपमा भन्न सक्छन् ।
मुलुक भनेको आशा, विश्वास र भविश्य भएका मान्छेहरू बस्ने ज्यूँदोजाग्दो भूगोल हो । तर, पछिल्लो अवस्था हेर्दा नेपाल ठीक त्यसको विपरित दिशामा यात्रा गरिरहेको देखिन्छ । सम्भावना भएका मानिसहरू दिनानुदिन मुलुक छोडिरहेका छन् र जो सक्दैनन् यो या त्यो बहानामा आफू मुलकमै रहने राष्ट्रवादी भ्रम छरिरहेका छन् । अर्काथरि मानिसहरू पनि मुलुकमै रमाइरहेका छन्, जो साउने बाढीमा माछा मार्न खप्पीस छन् । कमाउने भन्दा लुट्ने सोच भएका मान्छेहरू जो पैसाका लागि जे पनि गर्न तयार छन्, उनीहरूका लागि भने नेपाल स्वर्ग हँुदैछ । मानवीयता र विवेक दुबै हराएका बाँच्न जान्ने मानिसहरूका लागि भने यो मुलुक गजबको बजार बन्दैछ । कुनै वैद्य आम्दानीको स्रोत नभएकाहरू यो मुलुकमा करोडपति त के अर्बपति हुन पाउँछन् । त्यसका लागि न सरकारी लिखत अद्यावधिक राख्नुपर्छ न सामाजिक अडिट नै हुन्छ यहाँ । यस्तो दृश्यले के देखाउँछ भने नेपाल भविष्य नभएको मुलुक बन्दैछ ।
आर्थिक आंकडाको कोणबाट हेर्दा त झन भयावह दृश्य देखिन्छ । नेपाल यतिबेला १०० अर्बको पनि निकासा गरिरहेको छैन भने ७०० अर्बभन्दा बढीको आयात गरिरहेको छ । मुलुकको मेरूदण्ड मानिएको कृषि कुनै प्राथमिकतामै छैन, युवालाइ विदेश लखेटेर स्वदेशको जमिन बाँझो बनाइदैछ । मुलुकमा औद्योगिकीकरणको ग्राफ पनि नकारात्मक छ । विलासी सामानमा लगाइने चर्काे भन्सार र रेमिट्यान्सले मुलुक धानिएको छ । लाहुरेका परिवार आइडी बनाएर विदेसिने क्रम बढ्दा पेन्सन रेमिटेन्स लगभग सकिँदो अवस्थामा छ । मलेसियाको रिंगिट रेमिट्यान्स क्रयास नै भैसक्यो । तेल सस्तो हुँदा अप्ठ्यारोमा परेका कतिपय खाडी मुलुकबाट आउने रेमिट्यान्स पनि नकारात्मक छ । एकातिर अस्थायी वैशाखीका रूपमा रहेको रेमिटेन्स अर्थतन्त्र ध्वस्त हुँदैछ भने अर्काेतिर कृषि अर्थतन्त्र कहिलै नउठ्ने गरेर थला पारिएको छ । दातृराष्ट्रहरूले पनि कति दिने ? कहिलेसम्म दिने ? त्यो दिने क्रम पनि स्वभावत: घट्दो छ । यस्तो अवस्थामा कुनै पनि बेला मुलुकको अर्थतन्त्र धराशायी हुने सम्भावना बढ्दो छ । यो स्थिति अझ अगाडि बढ्दा एक दिन नेपाल आर्थिक रूपमा बैंकक्रप्ट हुनेछ ।
यो दुर्घटना नजिकै पुगेको मुलुकलाई जोगाउन सही नीतिको अंगिकार गरिनुपर्छ । नीतिहरूको राजा राजनीति भएकाले पहिला त राजनीति नै ठीक हुनुपर्छ । नीति हैन, नेताप्रधान राजनीति चलेको मुलुकमा नीति हैन, नेता नै ठीक हुनुपर्ने स्थिति छ । तर, नेताहरूको नियत र ल्याकत हेर्दा त्यताबाट पनि निराश नै हुनुपर्ने स्थिति देखापर्छ । उनीहरू यो वा त्यो बहानामा आफू, आफ्नो गुट र आफ्नो दललाइ नै केन्द्रमा राखेर सोचिरहेका छन्। त्यहीअनुरूप् आफ्ना कृयाकलापहरु सञ्चालन गरिरहेका छन् । एउटा पद्धति भत्काइएको छ, अर्काे पद्धति बसाउन सकिएकै छैन ।
अहिलेको चुरो कुरो, संविधान त बनेको छ तर त्यो लागू हुने अवस्था छैन । २०६२/६३ को जनआन्दोलनपछिको यो १० वर्षमा को अग्रगामी, को प्रतिगामी सबै कित्ताहरूको आधार भत्किएको छ । सत्तालाई नै केन्द्रमा राखेर राजनीति हुने गरेको छ, मूल्य मान्यता र सिद्धान्त स्खलित छन् । मुलुक चारैतिरबाट दोहनमा परेको छ ।
मुलुकको पछिल्लो चित्र हो यो । यस्तो प्रष्ट चित्र हुँदाहँुदै पनि कतिपयलाई मूतको न्यानो ताप्ने बानी हुन्छ र उनीहरू सजिलै भन्ने गर्छन्, यो नकारात्मक सोच हो । सकारात्मक सोच राख्नुपर्छ भन्ने आग्रहमा त्यस्तो भन्नु एउटा कुरा हो तर वास्तवममा मुलुक भयावह स्थितिको सामुन्ने छ । यस्तो अवस्थामा पनि मुलुक दोहन गरिरहेका वा यथास्थितिमै रमाइरहेकाहरू भने मुलुकमा अथाह सम्भावना देखिरहेका हुनसक्छन् ।अरूलाई अर्ती उपदेश दिन र आफूलाई मोटो बनाउने थप समय जोहो गर्नका लागि उनीहरू त्यस्तो भ्रम दिइरहेका छन् ।
यस्तो अवस्थाबाट मुलुकलाई कसरी मुक्त गर्ने त ? समयले तेस्र्याएको आफैंमा यो एक यक्षप्रश्न हो । यसका लागि फेरि एउटा विद्रोह आवश्यक छ तर त्यो विद्रोह वास्तविक अर्थमा जनताको विद्रोह हुनुपर्छ । के यसको सम्भावना छ ? साँच्चै भन्ने हो भने मुलुकमा सबै तह र तप्काका मान्छे कुनै न कुनै राजनीतिक पार्टीका कार्यकर्ता भइसकेको अवस्था हो । यहाँ कोही स्वतन्त्र जनता छैन । यस्तो अवस्थामा जनविद्रोह कसरी सम्भव होला र ?पूर्वविशिष्टहरूले औषधोपचारलगायतका सुविधाका नाममा मुलुक लुट्दा खै को बोलिरहेको छ ? मेडिकल शिक्षाका नाममा भैरहेको लूटतन्त्रविरूद्ध डा. केसीका पछि खै त जनता ? भूकम्प आएको १५ महिनासम्म पनि पीडामा बाँचेका छन् मानिसहरू, खै त राहत उनीहरूलाई? यी त केही ज्वलन्त मुद्दाहरू हुन् जसका लागि जनता उठ्नुपर्ने थियो । तर, राजनीति पार्टीको चौवन्नी सदस्यता लिएर उनीहरूकै लागि सुतिसकेका छन् या सुत्न बाध्य बनाइएका छन् जनता ।
यस्तो सीमान्त अवस्थामा पुर्‍याइएको मुलुकको के भविष्य होला ? जो कोहीले पनि गम्भीर भएर सोच्न जरूरी छ । आगे यहाँहरूकै मर्जी ।


Related News