​बिमा समिति अध्यक्षमा अन्योल


काठमाडौं, १८ पुस । गत बिहीबारदेखि पोखरा विश्वविद्यालयका निर्देशक डा. रवीन्द्र घिमिरेको फेसबुक पेजमा बधाई दिनेको ओइरो नै लागेको छ । विभिन्न संघ–संस्था तथा उनका शुभचिन्तकहरूले बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई समितिको अध्यक्षमा नियुक्त गरेको भन्दै शुभकामना दिएका हुन् । फेसबुकमा मात्रै हैन, मोबाइलमा पनि उनलाई फोन तथा सन्देश पठाएर शुभकामना दिने क्रम उत्तिकै छ । 

गत बिहीबार केही सञ्चारमाध्यममा उनी समितिको अध्यक्षमा नियुक्त भएको समाचार प्रकाशित भएपछि उनलाई बधाइ दिनेको ओइरो लागेको हो । तर, यस विषयमा घिमिरे स्वयं भने अनभिज्ञ छन् । कारोबार दैनिकमा खबर छ । 

मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति गरेको समाचार सार्वजनिक भए पनि उनलाई यस विषयमा कुनै पनि औपचारिक तथा अनौपचारिक जानकारी छैन । “यस विषयमा मलाई अहिलेसम्म कुनै सूचना नै छैन, तर बधाइ भने आइरहेको छ,” उनले भने ।    
                
समिति अध्यक्षको नियुक्तिका विषयमा घिमिरेमात्रै हैन, सरकारका मुख्यसचिव सोमलाल सुवेदी पनि अनभिज्ञ छन् । बिहीबारको बैठकमा यस विषयमा छलफल भए पनि निर्णय के भएको थियो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनले बताए । 

“बैठकमा छलफल भएको भन्ने सुनेको हो, तर निर्णय के भयो भन्ने विषयमा मलाई जानकारी छैन,” उनले भने । शुक्रबार र शनिबार कार्यालय बिदा भएको र आइतबार आफू काठमाडौं बाहिर भएकाले निर्णय के भयो भन्ने विषयमा जानकारी पाउन नसकेको उनले बताए । 

समितिको अध्यक्षका लागि विभिन्न समयमा विभिन्न क्षेत्रका व्यक्तिहरूको नाम चर्चामा आए पनि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा भने अर्थमन्त्री कृष्णबहादुर महराले तीन जनाको नाम सिफारिस गरेका थिए । 

अर्थमन्त्री महराले डा. घिमिरेलाई प्राथमिकतामा राखे पनि नियुक्तिमा माओवादी मन्त्रीहरूबीच नै विवाद उत्पन्न भएपछि तत्काल निर्णय हुन नसकेको स्रोतले बताएको छ । 

बैठकमा अध्यक्षको टुंगो लाग्न नसकेपछि मन्त्रिहरूबीच आपसी सहमतिमा डा. घिमिरेलाई नै अध्यक्षमा नियुक्ति गर्ने मौखिक सहमति भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । तर, औपचारिक निर्णय भने भएको छैन । डा. घिमिरे बिमा विषयमा नै विद्यावारिधी गरेका छन् भने पोखरा विश्वविद्यालयमा बिमा विषय नै अध्यापन गराउँदै आएका छन् । 

Related News