जिल्ला इन्चार्ज पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नेकपा बिप्लवको आक्रमण

दृष्टि न्यूज

चितवन ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट बिप्लव नेतृत्वका नेकपाका जिल्ला इन्चार्ज पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा एक प्रहरी घाइते भएको सरकारी समाचार संस्था राससले जनाएको छ ।
बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्न गएको टोलीमाथि सो पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेको र सो क्रममा एक प्रहरी जवान घाइते भएका छन् । 
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र रत्ननगर नगरपालिकाका पार्टी इन्चार्ज बीर बहादुर तामाङसहितको टोलीले प्रहरीमाथि इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीको भनाई छ । 
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका छन् । घाइते प्रहरीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । धोबीको टाउकामा चोट लागेको छ । 
पछिल्लो समय बिप्लव नेतृत्वको गतिविधि हिंसात्मक बन्दै गएको सरकारी ठम्याई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार प्रदेश नं १ को संसदमा सम्बोधन गर्दै मुलुकमा हिंसाको कुनै स्थान नहुने भन्दै राजनीतिक मूलधारमा समाहित हुन सबैलाई आग्रह गरेका थिए ।

Related News