बीरगंजका मेयर उम्मेदवार सराबगीका कर्तुतहरुको खुलासा हुँदै

काठमाडौं, २८ भदौ । बीरगंज महानगरको राजनीतिक बागडोर लिन कस्सिएका बीरगंजका ब्यापारी बिजय सरावगी यतिबेला राजनीतिक प्रवचन दिन ब्यस्त छन् । आफ्नो प्रत्येक भाषणमा उनले राजनीतिक दलका नेताहरुले गरेको आर्थिक अनियमितता र भ्रष्टाचारका कारण बीरगंजको बिकास नभएकाले आफूले उद्योग ब्यापार छाडेर बिकासका लागि मेयर पदमा उम्मेदवारी दिएको बताउने गरेका छन् । तर तिनै सरावगीले सत्ता नजिक नहुँदा पनि करोडौं रकम अनियमितता गरेको यसअघि पनि सार्वजनिक भइसकेको छ । माओवादीको अप्रत्यक्ष बलमा बीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष भएका सरावगीको परिचय अवसरवादी ब्यापारीको रुपमा स्थापित भएको हो ।
            सबै खाले राजनीतिक अस्थिरताका बीचमा पनि आफनो फाइदालाई सुरक्षित राख्न सक्ने चतुर खेलाडीका रुपमा रहेका सरावगीले मुलुक भूकम्पबाट थिलथिलो भएको बेला पनि उनले पैसा कमाउने काम छाडेनन् । भूकम्पको बेला मुलुकलाई सहयोग गर्नुको साटो कमसल खालको त्रिपालको आपूर्ति गरेर करोडौ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भए ।
      मधेश आन्दोलनमा मधेशी युवाहरु शहीदको लाममा लामबद्ध हुँदै थिए  । सरावगी भने त्यो शहादतलाई आफ्नो मुनाफा आर्जनमा बदल्न ब्यस्त थिए । आन्दोलनमा गाउँ गाउँबाट जनता आफ्नै सवारी साधनमा खाद्य सामग्री बोकेर मितेरी पुलमा पुग्दा सरावगी भने केमिकल र पेट्रोलका ड्रमहरु नेपाल भित्र्याउने तानाबानामा ब्यस्त रहन्थे । अहिले रक्सौलमा आन्दोलनकारीलाई खाना खुवाउने महेश अग्रवाल आफनो सम्धी रहेको तर्क गर्दै त्यो आन्दोलनमा आफनो योगदान रहेको चर्चा गर्दै मतदातालाई झुक्याउन खोज्दैछन् । सरावगीले आन्दोलनलाई पैसा कमाउने अस्त्रको रुपमा कसरी प्रयोग गरे भन्ने कुरा त्यतिबेला  प्रकाशित मधेशवादी म्यागजीन हिमालिनी मासिकले समाचार नै  लेखेको थियो । उनले नाकाबन्दीको बेलामा बीरगंजको सुखा बन्दरगाहमा अड्किएका १७ हजार कन्टेनरहरु मुलुकभित्रको गन्तब्यमा पुर्याउनका लागि प्रतिकन्टेनर ५ हजार रुपैयाँ ब्यवसायीहरुबाट असुल गरेका थिए । त्यतिबेला ८ करोड ५० लाख रुपैयाँ कन्टेनर पास गरेबापत सरावगीले असुल गरेको मधेसवादी म्यागजिन हिमालिनीले लेखेको छ । त्यसैगरी मधेशका युवा अधिकारको माग गर्दै आन्दोलनको मोर्चामा लडिरहँदा सरावगीले पेट्रोलियम पदार्थ र केमिकलको आयात पनि ब्यवस्थित गरेका थिए । सरावगी केमिकल किङ हुन । केमिकलको आयातमा भन्सार छल्ने काम पनि उनले गर्दै आएका छन् । ५ मार्च ०१६ प्रकाशित हिमालिनीका अनुसार सरावगीको यो कर्तुतलाई सहयोग पुर्याउने काम बीरगंज उवासंघका पूर्वअध्यक्ष प्रदीप केडियाले पनि गरेका थिए । 
सुख्खा बन्दरगाह खुलाउन संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रदीप यादवबाट ग्रिन सिग्नल पाएका सरावगीले बीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयातकर्ता  उद्योगीलाई भेला गरी चन्दा सहयोग मागेका थिए । त्यसपछि सुख्खा बन्दरगाहबाट थन्किएका कन्टेनर ढुवानी शुरु भएपछि जनस्तरमा ब्यापक बिरोध भएको थियो । बिरोधपछि जिल्ला अध्यक्ष यादव केही कार्यकर्तासाथ सुख्खा बन्दरगाह अगाडि अवरोध गर्न जाँदा पैसा दिएका ब्यापारी र ट्रक चालकहरुले लखेटेका थिए । आन्दोलनको क्रममा एकातिर एकमाथि अर्को गरी लास ढल्दै थिए अर्कोतिर अमानवीय रुपमा पैसा असुल्ने काम भइरहेको थियो ।
 मानवता र मेधशवादको पक्षमा रौं जति पनि योगदान नगरेका सरावगी आज बीरगंज महानगरको मेयर उम्मेदवार छन् । पैसा कमाउने ब्यापारमा लागेका सरावगीको न कुनै जात न कुनै इमान न कुनै धर्म सबै कुरा पैसामा निर्भर रहेको छ । बलिदानीलाई पैसा कमाउने अस्त्रको रुपमा प्रयोग गरेका सरावगीलाई  फोरमले टिकट दिनुलाई बीरगंज महानगरवासीले अर्थपूर्ण रुपमा लिएका छन् । मधेश आन्दोलनका शहीद दिलीप चौरसियाका पिता रामेश्वर चौरसिया फोरमले पैसामा टिकट बेचेको भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सरावगीले फोरम अध्यक्षसहित पार्टीका अन्य नेतालाई तीनवटा स्कोर्पियो गाडी र नगद भुक्तानी दिएर टिकट हात पार्न सफल भएको फोरम नेपालका कार्यकर्ताहरुले बताउन थालेका छन् ।

Related News