देउवाको ‘ब्ल्याकमेलिङ’

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । लोकतन्त्रमा आलोचना, विरोध गर्न पाइन्छ । तर, त्यो विरोध र आलोचना रचनात्मक भयो भने मात्र लोकतन्त्र सुदृढ हुन्छ । तर, हामीकहाँ यो संस्कृतिको विकास हुन सकेको छैन । जसले गर्दा नेताहरुको भाषणले वर्षौदेखि गाउँका सोझा जनता ठगिने गरेका छन् । यसको पछिल्लो उदाहरण लिने हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंकै चुनावी सभाहरुमा शिक्षित र सचेत समुदायबीच झुठो बोलेर आफ्नै गरिमा घटाएका छन् । देशका प्रधानमन्त्री जस्तो व्यक्ति राजधानीको सभामा झूठ बोल्छन् भने, त्यो देश कसरी उँभो लाग्ला हरेक नेपालीले सोच्ने बेला आएको छ । काठमाडौं भनेको देउवाको गृहजिल्ला डडेल्धुरा होइन । राजनीतिक दलका नेताले गरेका हरेक भाषणलाई काठमाडौंका शिक्षित जनताले विश्लेषण गर्न सक्ने क्षमता राख्छन् । यो कुरा बिर्सिएर देउवाले कम्युनिष्टहरुले जिते भने रुन पनि पाइन्न, बोल्न लेख्न केही गर्न पाइन्न । मानवअधिकार बहुदलीय प्रतिस्पर्धा केही हुन्न । नेपाली जनतामाथि अधिनायकवाद लादिन्छ भनेर दिउँसै राजधानीका बुद्धिजीवीलाई उल्लु बनाउने काम गरे । यो कुरा प्रधानमन्त्रीजस्तो व्यक्तिले बुझेर बोले अथवा नबुझिकनै बोले । तर उनको यो बोलीले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ । जुन व्यक्तिले आफूलाई लोकतन्त्रवादी हुँ भन्ने दाबी गर्छ, त्यो व्यक्तिको बोली, व्यवहार र आचरण पनि लोकतान्त्रिक हुनुपर्छ । २१ औँ शताब्दीमा जनता झुक्याएर भोट जित्ने सपना कसैले नदेखे हुन्छ । किनभने यो सूचनाको युग हो । विश्वलाई देउवाले भन्दा नयाँपुस्ताले बढी बुझेका छन् । 
वाम गठबन्धन हुनासाथ देउवा यति धेरै आत्तिनु पर्ने थिएन । जनतासँग भोट माग्नै थियो भने, नेपाली कांग्रेसको घोषणापत्र अनुसार उनले भोट माग्न सक्थे । आफ्नो पार्टीको नीति, कार्यक्रमलाई उनले जनतामाझ लग्न सक्थे । तर, दुर्भाग्य तिनै देउवा काठमाडौंदेखि ताप्लेजुङसम्म पुगेर जनतालाई अधिनायकवादको डर देखाइरहेका छन् । अधिनायकवाद के हो भन्ने सायद देउवालाई नै थाहा नभएर हो कि उनको मनमा अधिनायकवादको भूत सवार भएको छ । वाम गठबन्धनले बहुमत ल्यायो भने अधिनायकवाद आउँछ भनेर जनताले कांग्रेसलाई भोट दिनेवाला छैनन् । नेपाली जनताले वामपन्थीको एकमना सरकार पनि देखिसकेको छ । कांग्रेसको सरकार पनि भोगिसकेको छ । जनता पनि धेरै बाठो भइसके । गाउँका कुन जनप्रतिनिधि ठिक, कुन बेठिक भन्ने कुरा देउवाले बरु नचिन्लान्, गाउँका जनताले राम्रैसँग चिनेका छन् । त्यो कुराको पछिल्लो प्रमाण स्थानीय निकायको निर्वाचनमा जनताले वाम गठबन्धनलाई दिएको मत परिणाम हो ।
वास्तवमा भन्ने हो भने नेपाली कांग्रेससँग चुनावी एजेन्डा नै छैन । ०४८ सालयता पटक–पटक सरकारमा पुगेर देशलाई गरिबीको खाल्डोमा जाक्ने नै कांग्रेस हो । त्यस कुराकोे विश्लेषण नै नगरी कांग्रेस चुनावमा होमिएकाले कांग्रेस सभापति देउवा स्वयं वाम गठबन्धनबाट आत्तिएका हुन् । चुनाव परिणामपछि उनी डाडुमा पानी तताएर त्यसैमा ‘आत्महत्या’ गर्न बाध्य हुने छन् । ०४८ सालको चुनावमा पनि कांग्रेसको एजेन्डा थिएन । कम्युनिष्टले जित्यो भने बुढाबुढी मार्छन् । बोल्न, लेख्न दिँदैनन् । दिदीबहिनी भन्न पाइन्न आदि आरोप लगाएका थिए । परिणाम के भयो ? ०५१ सालको मध्यावधि निर्वाचनमा जनताले नेकपा एमालेलाई पहिलो पार्टी बनायो । पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्ता, आफ्नो गाउँ आफँै बनाऔं’जस्ता कार्यक्रम ल्याएर देशलाई समृद्धि र विकासको बाटो देखाइदिए । ०४८ सालको नारा झूठ सावित भएपछि अहिले देउवा स्वयंले रुन पनि पाइन्न भनेर जनतासँग ‘सेन्टिमेन्टल ब्ल्याकमेल’ गर्दैछन् । 

Related News