भूकम्पको कलेबरमा कुरीकुरी समाजसेवीहरू... !

डा. प्रदीप भट्टराई । नेपालको राजनीतिका बारेमा जति लेखे पनि मूल्य, मान्यता र सिद्धान्तमा स्खलन आएको यतिबेला त्यो लेखनले खासै रंग ल्याएन । त्यसैले यसपटक अमेरिकामा रहेको नेपाली डायस्पोराको भूकम्प धन्दाका बारेमा लेख्ने जमर्काे गर्दैछु ।
गत वर्ष वैशाख १२ गते नेपालमा महाभूकम्प गयो । सयांै मानिसको ज्यान गयो । हजारौं घरबारबिहीन भए । त्यसपछि आएका हजारांै पराकम्पले अझै पनि आर्तहरूका खाटा बसेका घाउ बल्झाइरहेकै छन् । त्यसयता एक वर्ष चार महिना बित्न लाग्यो, अझै पनि पीडितहरूले यथोचित जीवन बिताउन पाएका छैनन् । राहतका नाममा आहत जारी छ । पहुँच हुनेहरूले यसैलाई दुहुनो गाई बनाएर हानी नोक्सानी भएको भन्दा धेरै गुणा बढी असुली सके । नहुनेहरू अझै पनि ‘आकाशको फल आँखा तरी मर’ कै अवस्थामा आफ्नै पुर्पुरोलाई धिक्कारिरहेका छन् ।
नेपालीहरू मस्तिष्कले भन्दा पनि मनले चल्ने जाति हो । मुलुकभित्र त सहयोगी हातहरू सल्बलाए नै, विश्वभरका कुना कुनामा पुगेका प्रवासी नेपालीहरू पनि यसमा लागिपरे । पीडामा परेका नेपालीका लागि सहयोग संकलनमा जुटिहाल्ने नेपालीको यो पुरानो बानी नै थियो । त्यही बानीअनुसार उनीहरू सहयोगका लागि हात थाप्न र हारगुहार गर्न योजनाबद्ध ढंगले नै लागे । यो जुट्ने क्रममा व्यक्तिदेखि, संघसंस्था हुँदै गैरआवासीय नेपाली संघजस्तो ग्लोबल छाता संस्था पनि सामेल भयो । सहयोग हजार, लाख, करोडमा हैन, अर्बमा नै संकलन भयो ।
यसक्रममा अमेरिकामा रहेको नेपाली डायस्पोरा अग्रणी रह्यो । त्यसमा पनि अमेरिकाको मिनी नेपाल न्यूयोर्क पछि पर्ने कुरै थिएन । डाइभर्सिटी प्लाजामा खुत्रुके थाप्नेदेखि टाइम्स स्क्वाएरमा च्यादर थाप्ने सम्म गरियो । यसमा झण्डै ५० संघ संस्था लागिपरे र नेपाली तथा विदेशी दुबैबाट गरेर लाखौं डलर उठाए । न्यूयोर्क सिटीले समेत हजारौं डलर सहयोग गरेको थियो ।
एउटा नेपालीलाई पीडा परेको बेला अर्काे नेपाली चुप लाग्ने कुरै भएन । सक्नेले नसक्नेलाई सहयोग गर्ने यो त नेपालीको बानी नै हो । आधा पेट काटेर भए पनि, आफ्ना आवश्यकताहरू कटौती गरेर भए पनि अमेरिकामा रहेका नेपालीहरूले अमेरिकाको महंगो डलर सहयोग गरे । एकै जना व्यक्ति १० वटासम्म संस्थामा रहने भएकाले एकैजनाले १० चोटिसम्म सहयोग गर्नुपर्ने परिस्थिति पनि सिर्जना भएको थियो ।  
डलर कमाएर पेनीमा बाँच्नुपर्ने नेपाली डायस्पोराका सदस्यहरूका लागि यो आफैंमा सहज काम थिएन । त्यसमा पनि हरेक साता केही न केही च्यारिटी गर्नुपर्ने, नेपाली कलाकारका कार्यक्रमको टिकट किनी दिनुपर्ने, नेपालमा कुनै न कुनै किसिमको प्राकृतिक विपत्तिमा परेका या विरामीको उपचारका लागि सहयोग गर्नुपर्ने अमेरिकामा रहेका नेपालीका लागि ऐच्छिक हैन, म्यान्डेटरी नै भैसकेको स्थिति छ । भन्दा अप्रिय लाग्ला, तर नेपालमा गएको भूकम्पले अमेरिकामा रहेका नेपालीका लागि चन्दाका कारण एक किसिमको परकम्प दिइरहेको थियो । साँच्चै भन्ने हो भने, यो ‘नखाउ भने दिनभरिको शिकार, खाउ भने कान्छा बाबुको अनुहार’ जस्तै हबिगतमा थियो ।
जे भए पनि कतिले स्वेच्छाले, कतिले परिवन्दले र अझ कतिले त प्रतिस्पर्धाले सहयोग गरे । यो आफैंमा स्तूत्य काम थियो, उच्च परोपकारी मानवीय कार्य थियो । तर, यसमा प्राविधिक प्रश्न पनि थियो । प्रश्न पैसा उठाउनुसँग मात्र सम्बन्धित थिएन, त्यो पैसा वास्तविक पीडितसम्म सही किसिमले पुर्‍याउनु अझ महत्वपूर्ण र चुनौतिपूर्ण काम थियो । किनभने, पैसा उठाउनेसँग कुनै डेलिभरीको सिष्टम थिएन ।
संसारभर उठेको पैसा एकद्वार प्रणालीबाट जाओस् भनेर नेपाल सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गर्‍यो । तर, त्यो आग्रहलाई यो वा त्यो बहानामा मान्न कोही तयार भएन । त्यस विरूद्धमा गैरआवासीय नेपाली संघ नै सबैभन्दा अगाडि उभियो । यो विरोधले सरकार पछि हट्यो र जसले जसरी राहत, उद्धार गर्दा पनि हुने भयो । कसैले पाँच पटकसम्म पनि सहयोग पाए, कसैले एकपटकसम्म पनि नपाउने अवस्था सिर्जना भयो । अझ भनौ, एक किसिमको राहत धन्दा नै सुरू भयो ।
यसको प्रतिछायाँ अमेरिकामा पनि देखियो । पैसा उठाउनेहरूले आ–आफ्नो सम्वन्धका आधारमा नेपालमा पैसा पठाए । हुँदाहुँदा यस्तो परिस्थिति सिर्जना भयो कि  महिलाले उठाए भने महिलाकै लागि, शेर्पाले उठाए भने शेर्पाकै लागि, कांग्रेसले उठाए भने कांग्रेसकै लागि सहयोग गर्ने प्रवृत्तिको विकास भयो । फलत:  यी कोही नहुने तर वास्तविक रूपमा भूकम्पपीडामा पर्नेहरू प्राथमिकतामा परेनन् ।
कुरा यतिमा मात्र सिमीत रहेन, अमेरिकामा उठाइएको रकम कतिपयले अमेरिकाकै बैंकमा होल्ड गरेर राखेको, कतिपयले व्यापारमा प्रयोग गरेको, कतिपयले बैंकबाट निकालेर अपचलन गरेको अझ कतिपयले त नेपालमा कागजी योजना बनाएर पैसा सबै सकेको अवस्था पनि सिर्जना भयो । त्यसमा पनि नेपाली कांग्रेसको प्रवास भातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकामा रहेको शीतयुद्धका कारण यो प्रकरण अझ बदनाम भएर सडकमा छताछुल्ल भयो । टक अफ द टाउनमा मात्र भएन, सामाजिक सञ्जालमा भाइरल नै भयो । छानबिन आयोग बने, प्रतिवेदनहरू सार्वजनिक भए, कारवाही भयो र अन्तत: पैसा बैंकमै फर्कियो ।
प्रश्न, जनसम्पर्क समितिको मात्र हैन, त्यो त त्यहाँको आन्तरिक द्वन्द्व र अविश्वासको कारण छताछुल्ल भएको मात्र थियो । अरू पनि अमेरिकामा धेरै संस्था छन् जसले भूकम्प पीडितका नाममा पैसा उठाएर अझै पनि आफ्नो खातामा होल्ड गरेर राखिरहेका छन् । यो फौबन्जारीलाई उनीहरू सगर्व समाजेसेवा भनिरहेका छन् । र, नेपालमा पठाएर दुरूपयोग गर्नुभन्दा बैंकमा राख्नु सदुपयोग हो भनेर नादान तर्क गरिरहेका छन् ।
नेपालीमा एउटा भनाइ नै छ, धन देख्दा महादेवका पनि तीन नेत्र खुल्छन् । तिनै महादेवको बास रहेको हिमालय पर्वतको काँखमा रहेको मुलुक हो नेपाल र त्यही मुलुकका बासिन्दा हुन् नेपाली । हुन त अमेरिकामा रहेका कतिपयले हरियो पासपोर्टको ठाउँमा नीलो पासपोर्ट पनि लिइसके होला तर भूगोल छोडेर अमेरिका पुगे पनि मस्तिष्कको भूगोल उही बोकेर गएपछि त्यसले के अर्थ राख्दोरहेछ र ? भूकम्प पीडितका नाममा उठाएको रकम आफ्नो खातामा राखेर मालिक भएकाहरूको पछिल्लो रबैया देख्दा कुरीकुरी लागेर आउँछ ।
यो स्तम्भकार नेपालमा भूकम्प गएको बेला न्यूयोर्कमै थियो । र, त्यतिबेला डाइभर्सिटी प्लाजामा खुत्रुके राख्नेदेखि टाइम्स स्क्वाएरमा च्यादर थाप्ने परिघटनाहरूको साक्षी पनि हो । अहिले नेपालमा छ र भूकम्पपीडितलाई नजिकबाट हेर्ने अवसर मिलेको छ । पहुँच नभएका पीडित भूकम्पपीडितहरूको अवस्था देख्दा यस्तो लाग्छ, उनीहरूकै नाममा अमेरिकामा पैसा उठाएर आफ्नो खातामा राख्नेहरू समाजसेवी हैन, पापीहरू हुन् । उनीहरूले जे जस्तो तर्क गरे पनि ती सबै कुतर्क हुन् र उनीहरूको समाजसेवी बिल्ला फगत ढोंग हो ।
यसको अर्थ सबै शंखमूलका मूला एउटै हुन् भन्ने हैन । अमेरिकाम रहेका कतिपय संघ संस्थाले साँच्चको राम्रो काम पनि गरेका छन् । तर, एउटा बिराउने, सारा पिराउने भनेजस्तै सबैलाई एउटै ड्याङका मूला ठान्ने प्रवृत्ति बढेको छ । र, चन्दा उठाउने समाजसेवीहरूको विश्वसनियता शून्यमा झरेको छ । यसले गर्दा आगामी दिनमा नेपालीहरूले परेको वास्तविक दु:खमा सहयोग जुट्ने सम्भावना न्यून हुँदै गएको छ ।
आमसञ्चारमा एउटा भनाइ छ, क्रेडिबिलिटी एन्ड भजिर्निटी आर सेम, बोथ ब्रेक वन्स । यसको अर्थ विश्वसनियता र कुमारीत्व दुबै एकपटकै क्षणभंगुर हुन्छन् । अमेरिकामा रहेका नेपाली समाजसेवीहरूको विश्वसनियता पनि त्यस्तै भएको छ । तर, दुर्भाग्य नौ दिनमा नौलो र बीस दिनमा बिस्र्याे हुने नेपाली समाजमा उनीहरू छिट्टै नयाँ अवतारमा प्रस्तुत हुनेछन् । नेपालीहरूको चाँडै बिर्सने यही रोगका कारण धेरैले उन्मुक्ति पाएका छन् ।
अब के गर्ने त ? भूकम्पपीडितका नाममा उठाएको रकम ? यो स्तम्भकारका विचारमा जसजसले उठाएर बैंकमा होल्ड गरेर राखेका छन्, उनीहरूले अमेरिकामा रहेका नेपाली नियोगमार्फत् प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नु नै एक मात्र उपाय हो । हैन, समाजसेवाका नाममा पाप नै गर्ने हो भने अमेरिकामा रहेका नेपाली नियोगहरूले अमरिकी प्रशासनसँग सहयोग मागेर भए पनि त्यस्ता ढोंगी समाजसेवीहरूमाथि कानूनी कारबाही गर्नुपर्छ । किनिक यो पाप र अन्याय मात्होर हैन, कानून हातमा लिने जंगली व्यवहार पनि हो । यस्तो व्यवहार गर्नेहरू आफैं सुध्रदैनन् भने त्यस्ता विरूद्ध कानुनी कारबाहीको विकल्प रहँदैन । आगे उनीहरू नै जानुन् ।

 

Related News