विपी र पुष्पलालको सम्झना

प्रा.डा. सावित्री कक्षपती । संयोग पनि कस्तो जुरेको साउन महिना राजनीतिज्ञ वीपी कोइराला र पुष्पलालको जन्मजयन्ती । तिनले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन ज्यानको बाजी लगाए । राजनीतिलाई जनताको हितमा लिएर जानका लागि कस्ता कस्ता जोखिम मोलेका थिए, त्यो इतिहास पढ्दा जिउनै सिरिङ्ग हुन्छ । त्यसैले तिनीहरू आज निर्विवाद रूपमा पूज्य छन्, संझन लायकका छन् । तर विडम्बना तिनैका शिष्यहरूले लोकतन्त्रको नाममा देश बर्बाद बनाउँदैछन् । कुर्चीको लडाइँमा राजनीतिक अस्थिरता निम्त्याएका छन् ।
अहिलेको राजनैतिक घटनाले फेरि नेपाली जनता स्तब्ध बनेका छन । यस्तो विषम परिस्थितिमा पनि संसद हल हाँसोले गुन्जायमान हुन कस्तो सकेको होला ? टिभी हेरेर बसेका जनता भावुक बन्ने तर सदन भने सधैँ रमितेले भरिने ? नेपाललाई पुन: राजनैतिक अन्यौलताको परिवेशमा घस्रिनु पर्ने बाध्यता आएको छ । यति सानो देशमा पनि राजनीतिको यो घिन लाग्दो फोहर पानीमा तैरिनु पर्दा फेरि एकपटक इतिहासको कालखण्डले अफसोच व्यक्त गरेको अवस्था विद्यमान छ । सम्झना आउँछ, निर्वासनमा रहेको विश्वेश्वरप्रसाद कोइराला मेलमिलापको नीति लिएर नेपाल किन फर्केका थिए । आफूमाथि लागेको मृत्यु दण्डका मुद्दाहरूका बावजुद पनि के जिम्मेवारीको बोध भएको थियो र जीवनको जोखिम मोलेर उनी आफ्नो अडानलाई चटक्कै छाडेर देश बचाउन नेपाल फर्केका थिए । यसबाट नेपालको आन्तरिक राजनीतिले कस्तो मोड लिन पुग्यो र दशकौँसम्म एकछत्र राज गरेको पंचायती शासनलाई विकल्प सोच्न समयले बाध्य बनाएको थियो ।देशमा बहुदलीय शासन व्यवस्थामा नागरिकको स्वाधीनताको पक्षलाई स्थापना गर्न हाम्रा अग्रज नेताहरूले निकै वुद्धिमत्तापूर्ण निर्णय गरेका थिए । ती निर्णयहरूको मूल्यांकन तत्कालमा जे जसो गरिए तापनि एकैछिन शून्य दिमागले कुनै पनि धारणा नबनाइ सोच्ने हो भने त्यसले नेपालको राजनीतिलाई डोर्‍याउन सकारात्मक भूमिका खेलेको मान्नु पर्दछ । यस्तै पुष्पलालको सोच पनि राष्ट्रिय राजनीतिमा कम महत्वपूर्ण रहेन । उनी पनि निर्वासनमा रहेर देश र जनतालाई झक्झक्याउने एउटा महत्वपूर्ण राजनैतिक व्यक्तित्व हुन् । उनले अनेकौँ कार्यकर्तालाई यही शिक्षा दिएर देशलाई बन्धकी नबनाउने सीप सिकाएका थिए । तर, दुर्भाग्य एउटै विचार बोकेका नेताहरु पनि मिलेर बस्न सकेनन् । किन ? किनभने तिनीहरुका लागि विचार व्यापार बन्यो । जनताको स्वार्थभन्दा आफ्नो स्वार्थ ठूलो ठाने । यस्ता नेताहरु जति पटक पदमा पुगे पनि जनताको मनमा बस्न सक्ने छैनन् ।
विपी र पुष्पलालको राजनैतिक शिक्षाको एक अंश पनि ती नेताले पूरा गरेको देखिएन । अंग्रेजले पनि उपनिवेश बनाउन नसकेको एक मात्र राष्ट्र नेपाल भनेर जतिसुकै गर्व गरे पनि अप्रत्यक्ष रूपमा औपनिवेशिक घेराबाट नेपाल कहाँ स्वतन्त्र रहन सक्यो र ? विभिन्न राजनैतिक निर्णयहरूले उनी पटकपटक बन्धक हुनुपरेको इतिहास साक्षी छ । नेपाली जनताको दुहाइ दिएर नेपाली जनतालाई पटकपटक घाइते बनाउन उद्यत रहने ती निर्णयहरू अझै पनि जीवन्त छन् । जनताले आफै संविधान लेख्नुपर्छ, आफ्नो शासन आफै गर्नुपर्छ भन्ने संवेदनशील नारा लिएर गरेको पटकपटकको संविधान सभाको चुनावले नेपाली जनता कति उत्साहित भएका थिए † काम गर्छ होला एकपटक अवसर दिनुपर्छ भन्दै विपरीत स्थितिमा पनि बहुमत दिलाएर पार्टीलाई देश र जनताको लागि काम गर भनी पठाउँदाको परिणतीले नेपाली अवाक् बनेकै हो । अब संविधान बन्छ कि भनेर अत्यन्त  उत्सुकताका साथ पर्खेर बसेका जनतालाई प्रधानमन्त्रीको विशेष अधिकारको दुरुपयोग गर्दै संविधान सभा भंग गरेको प्रसाद जनतालाई पस्कँदा अलिकति पनि ग्लानी बोध नहुने यस्ता राजनैतिक पात्रको व्यवहारले नेपालीको मन अत्यन्त क्षत्विक्षत भएको छ । राष्ट्रको ढुकुटी सिद्धाएर विदेशी दातृसँस्थाका अगाडि देशलाई गरीबभन्दा गरीब देखाएर ल्याएको पैसाले फेरि संविधान सभाको चुनाव † अनि बल्लबल्ल संविधान निर्माण भएको अवस्थामा संविधानमा हस्ताक्षर गरेर त्यसैको विरोध गर्दै संविधान सभाबाट राजिनामा दिँदै बाहिर †† बडो चाख लाग्दो छ, नाटकीय घटनाक्रम । यसको जवाफ नेपाली जनतालाई दिन त्यत्ति सजिलो नहोला राजनीतिज्ञ महोदय । साथै अर्को राजनीति धार, जनताप्रति जिम्मेवार रहेको कसम खाए पनि कुनै बेला जनताको मन जितेर पटकपटक बहुमतको स्थानमा पुगे पनि राजनैतिक दम्भ पालेका नेताहरूले नेपाललाई फेरि खाडलमा पुर्‍याएकै हो । ती राजनीतिज्ञहरूले बहुमत हुँदा हुँदै पनि किस्तीमा राखेर राजालाई देश बुझाएकै हो । यो घटनाक्रमले त झन नेपाली जनता किंकर्तव्यविमुढ बनेका थिए । परिणाम निस्क्यो, नेपालको राजनीतिमा कसैले पनि बहुमत प्राप्त गर्न सकेन । कस्तो हुँदो रहेछ त बहमत प्राप्त नहुँदाको अवस्था ? देशमा घटाइएका ती घटनाक्रम र त्यसले ल्याएको परिणामलाई नेताहरूले थाहा नपाए जस्तो गर्न कहाँ पाइन्छ ? समयले निश्चय नै जवाफ माग्ने छ । समयले धेरै फड्को मारी सकेको छ । अब नेपाली जनता पनि कसैको बन्धक बनेर कसैको भोट बैंक बनेर पछिपछि लाग्नेवाला छैन । विश्व राजनीति पढेका, बुझेका र देखेका जनताको खेमा अब बढ्दो छ । जनतालाई धोखा दिनेहरूको हालत कस्तो भएको छ †
देखि हालियो, सुनी हालियो, पढी हालियो, अहिलेसम्म नेपाल आमाको आँसु पुछ्ने नेताहरूप्रति नेपाली जनता गौरवान्वित नै छन् । तर संकटको बेलामा देखिएको नेताहरूको मौनता र त्यसबाट नेपाल आमाको चिरिएको छातीको अवस्थालाई कहाँ बिर्सेका छन् र ? के यही हो आमाप्रतिको व्यवहार ? यस्तो व्यवहारप्रति समय कहाँ चुप लाग्ला र † हाम्रा पुराणमा लेखिएका र पढिएका अनि इतिहासका घटना क्रमले दिएको परिणाम धेरै पछि आज बिस्तारै व्युँझन थालेको छ । ती घटनाक्रम र त्यसको प्रभावको व्याख्या र पुनव्र्याख्या हुन थालेको छ । कहाँ निर नेपाल आमा र नेपाली जनतालाई तिनले सारै नै मर्का पारेको छ, त्यो खोतलिन थालेको छ । अब नेताहरूले यत्ति सजिलै ढुक्क भएर राजनीति नगरे हुन्छ । अघि हेर्नु चार हात पछि हेर्नु बाह्र हात भन्छन् । यो दूरदर्शिता भएको नेता नेपाल आमाले खै कहिले जन्माउने हो † आफ्नो क्षणिक स्वार्थका लागि देशलाई सँधै यो दुर्दशामा पुर्‍याउनेहरूको बाघपन्जाबाट नेपाल आमालाई मुक्त गराउनै पर्दछ । यो हामी जनताको पनि गहन जिम्मेवारी हो । कसलाई बहुमतमा पुर्‍याउने भन्ने कुरा भावनामा नबगिकन पूर्वाग्रह नराखीकन निर्णय गरेर भोट दिनु हाम्रो पनि कर्तव्य हुन आएको छ ।
जनतालाई राजनीतिको भित्री खेलसँग खासै लिनुदिनु छैन । देखिने गरेर देशको स्वाभिमान जोगिने र आत्मनिर्भर हुने कार्य योजनाको निर्माण हुनुपर्‍यो । निर्माण भएको कार्ययोजना कार्यान्वयन गर्ने चरण पुग्दा नेपाली जनतामा एउटा झिनो आसा पल्हाएको थियो । अब त केही हुन्छ भन्ने सोचमा अलिकति शान्तिको सास फेरेको बेला फेरि अर्को झट्का व्योहोर्नु परेको छ । कत्ति कुर्सी मोह भएको ? एकपटक प्रधानमंत्री भैसकेपछि अनि सजिलै त्यस पदबाट राजीनामा दिइसकेपछि पनि फेरि त्यही कुर्सीप्रतिको मोह र त्यसमाथिको समर्थन † राजनैतिक इतिहासमा यो कसरी लिपिवद्ध हुने  होला ? भोलिका सन्ततिले यो इतिहासलाई कसरी पढ्ने र बुझ्ने होलान् । पटक्कै डर र लाज नभएपछि र मरेपछि डुम्मै राजाको सोच भएपछि यस्तै परिणाम जनताले भोग्नु पर्ने रहेछ । जनताको इच्छा थियो, अहिलेको सरकारले निरन्तरता पाउनुपर्छ । यो कुनै पार्टीको कार्यकर्ता र आसेपासेको भनाइ थिएन । यो देशमा विकास र स्थीरता चाहने नितान्त नेपालीको आह्वान थियो । अहिले सरकारको निरन्तरताको पक्षमा काठमाडाँैको माइतीघर मण्डाला, पोखरा, चितवतमा आएको जनलहर कुनै पार्टीले भाडामा ल्याइएकाहरूको समूह थिएन । त्यो स्वाभिमानी नेपाली जनतालाई प्रतिनिधित्व गर्ने नितान्त चोखो समूह थियो । तर तिनका आवाजलाई पनि नेताहरूको हिरन्यकशिपु सोचले तुहाइदिएको छ । खैर, समय सँधै आफ्नो अनुकूल कहाँ हुन्छ र ? ओली सरकारले कोरेको कार्यक्रमलाई कसरी निरन्तरता दिने छ भन्ने कुरालाई मुटुमाथि ढुंगा राखेर जनता पर्खिरहने छ । त्यसपछिको समयले कोर्ने बाटोको भागीदार आफै बन्नु पर्नेछ, जुन प्रकृतिको शास्वत नियम हो ।
 

Related News