​भ्रष्टाचारीलाई नै भ्रष्टाचार छानबिनको जिम्मा

बिपी प्रतिष्ठानमा भ्रष्टहरूकै बोलवाला

दृष्टि न्यूज

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र उच्च पदाधिकारी बीचको शक्तिसंघर्षका कारण प्रतिष्ठानको काम कारवाही प्रभावित बन्न थालेको छ ।  
संघर्षमा उपकुलपति प्राडा राजकुमार रौनियर, अस्पताल निर्देशक प्राडा गौरीशंकर अग्रवाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, शिक्षाध्यक्ष गुरु खनालको दुई पक्षबीच टकराव प्रधानमन्त्रीको कार्यालयसम्म पुगेको छ । 
यसो हुनुमा गत वर्ष उपकुलपतिमा प्रतिष्ठानका पुराना अनुभवी प्राडा रौनियार नियुक्त भएर आएदेखि नै पूर्वउपकुलपति बलभद्र दासले उनलाई असफल बनाउन हरेक काममा बाधा दिन थालेका थिए । दासको सो कार्यमा बहालवाला रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र शिक्षाध्यक्ष खनालले पनि साथ दिन थालेपछि टकराव सतहमा आउन थालेको हो । विगत एक वर्षदेखिको सो टकरावका कारण प्रतिष्ठानमा ४००  वेडको मातृशिशु  भवन, मुटु क्यान्सरसम्बन्धी उपचारका भवन निर्माणका काम ठप्प छ भने नया“ योजनाका कुनै पनि काम हुनसकेको छैन । यतिसम्मकि हालै प्रतिष्ठानले आफै“ सञ्चालन गरेको औषधि पसलमा औषधि अभाव हुँदा पनि ठेकेदारलाई भुक्तान गर्न ढिलाइ हँुदा औषधि आपूर्ति रोकिन गएको छ । 

मनमुटावको कारण भ्रष्टाचार
५ वर्ष अधि प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा वीपी दास नियुक्त भएर आएदेखि उसैको नेतृत्वमा लुटतन्त्र हाबी हुनथालेको थियो । ठुल्ठूला भवन निर्माणको ठेक्कापट्टादेखि कर्मचारी, विद्यार्थी भर्ना तथा नियुक्तिको बेला आर्थिक चलखेल गरी अकूत पैसा कमाउन थालेपछि दासविरुद्ध आफ्नै कर्मचारीहरुले पटक–पटक आन्दोलन गर्नुको साथैे अख्तियारमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा अख्तियार पूर्वक्षेत्रीय कार्यालयले एक गाडी फाइल कब्जामा लिएर छानबिन गरेको थियो । छानबिनको क्रममा दास र उनको समूहले ठूलै अनियमितता गरेको प्रमाणको आधारमा  अख्तियारका तत्कालीन हाकिम डुल्लुराज बस्नेतले आठ करोड विगोसहित कारवाहीका लागि केन्द्रमा सिफारिस गरेको थियो । तर दासले अख्तियारका तत्कालीन भ्रष्ट प्रमुख कार्कीलाई तीन करोड घुस खुवाएर फाइललाई तामेलीमा राख्न सफल भएका थिए । सरकारले फेरि पनि माथेमाको संयोजकत्वमा गठित पाँच सदस्यीय चिकित्सा क्षेत्रमा भएका  भ्रष्टाचारको छानबिन गर्दा ४४ जना चिकित्सकहरुले आर्थिक अनियमितता गरी अकुत पैसा कमाएको फेला पारेको थियो । ती ४४ जनामध्ये प्रतिष्ठानका वीपी दासको नाम पनि उल्लेख थियो । उनीहरुलगायत सबैलाई तत्काल सेवाबाट निलम्वन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएको थियो । तर सो निलम्वनको कारवाहीलाई वर्तमान दुईतिहाइको सरकारले पनि कार्वान्वयन गर्न सकेको छैन । माथेमा आयोगको प्रतिवेदनलाई हुवहु लागू गरी भ्रष्टाचारीहरुलाई निलम्वन गर्नुपर्ने गोविन्द केसीको मागलाई सरकारले पूरा पनि गरेको थियो । तर हालसम्म उनीहरुलाई वर्तमान सरकारले पनि केही कारवाही गर्न नसक्दा उनीहरुको मनोवल उच्च भएको बताइन्छ । 
दुई वर्षअघि मात्र डा दासले स्वास्थ्य तथा अर्थमन्त्रालयबाट बजेट विनियोजन नै नगरी प्रतिष्ठानको सिनेटमा ७६ करोडको भवन बनाउने भनी निर्णय गराई कमिशन खान झण्डै अढाई सय करोडको मातृशिशु भवन बनाउन ठेक्कामा लगाएका थिए । यसैगरी मुटु तथा क्यान्सर रोग उपचारका भवन बनाउन पनि ठेक्का लगाएर ठेकेदारबाट २० प्रतिशतसम्म कमिशन लिएका थिए । आफू पुनः भीसी बनेर आउने कुरामा ढुक्क भएका दासले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई ठूलै रकम नजराना चढाउँदा पनि मन्त्रीले उनलाई पत्याएनन्  ।  बरु प्रतिष्ठानकै अर्का वरिष्ठ डाक्टर राजकुमार रौनियारलाई उपकुलपति बनाएका थिए । भीसी हुन नपाएपछि उनले वर्तमान कुलपतिले गर्ने हरेक काममा बाधा दिने,  मुद्दा हालेर अल्झाउन शुरु गरेका थिए । उनको बदमासीमा वर्तमान रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र शिक्षाध्यक्ष गुरु खनालको पनि सहयोग प्राप्त हुनु थालेपछि आफूलाई एमाले र माओवादीको कोटाबाट आएको भन्ने रजिष्ट्रार र शिक्षाध्यक्षले वर्तमान उपकुलपतिलाई बदनाम गराउन उल्टै प्रधानमन्त्री केपी ओलीलाई गुहारेका थिए । उनीहरुले निवर्तमान उपकुलपतिको काला कर्तृूतलाई ढाकछोप गर्दै उल्टै नयाँ उपकुलपतिले भवन निर्माणको लागि नियुक्त कन्सल्टेन्टबाट कमिशन लिएको, एमआरआई मेशिन खरिद गर्न नपाउँदै त्यसमा पैसा खान खोजेको रजिष्ट्रार रेक्टरको लाई काम गर्ने अधिकार नदिएको  जस्ता आरोप लागाउन थालेका थिए । 
यसैबीच पूर्वउपकुलपति र निवर्तमान उपकुलपतिले  गरेका अनियमितताको वारेमा सिनेटमा जोडदार कुरा उठेपछि प्रतिष्ठानका कुलपतिको हैसियतले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा एक पाँच सदस्यीय छानबिन समिति गठन गरियो । उक्त समितिले निकै मेहनत गरेर प्रतिवेदन तयार पारी यही भदौ १७ गते प्रधानमन्त्रीसमक्ष बुझाएको थियो । सो प्रतिवेदनमा पनि वर्तमान उपकुलपति रौनियारको कुनै कसुर नदेखिएको बरु पूर्वउपकुलपति  नै सबै अनियमितताको कारक देखाएपछि आतिएका दासले वर्तमान रजिष्ट्रार र शिक्षाध्यक्षलाई धम्क्याएर प्रधानमन्त्रीलाई पुनः छानबिन गराउन दवाव दिन लगाएको सुत्र बताउँछ । 
दासले रजिष्ट्रार र शिक्षाध्यक्षलाई आफू जेल परेमा तपाईंहरुलाई पनि म छाड्ने छैन भनेर  धम्की दिने गरेको बताइन्छ । किनभने उनको कार्यकालमा पनि वर्तमान रजिष्ट्रार र शिक्षाध्यक्ष कार्यसमितिका सदस्य थिए । कार्यसमितिमा निर्णय गराएरै सबै अनियमितता काम गरेको हुनाले दासले उनीहरुलाई धम्क्याउन सकेको कर्मचारीहरु बताउँछन् । उनैको धम्क्याइमा परेर रजिष्ट्रार र रेक्टरले पार्टीमा लबिङ गरी प्रधानमन्त्रीलाई पुनः अर्को छानबिन समिति बनाउन उक्साएको बताइन्छ । २ अर्ब ४९ करोडको निर्माणमा भ्रष्टाचार र अनियमित काम गरेको आरोप खेप्दै आएका रजिष्ट्रार तुलबहादुर श्रेष्ठकै षड्यन्त्रमा प्रधानमन्त्री तथा प्रतिष्ठानका  कुलपति केपी शर्मा ओलीलाई झुक्याएर हालै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने अघिल्लो दिन हतार–हतारमा सही गराएको अनुमान सो प्रतिष्ठानका सिनेटरहरूले गरेका छन् ।
प्रधानमन्त्रीले पुनः केदारबहादुरको समितिले दिएको प्रतिवेदनउपर छानबिन गर्न वर्तमान स्वास्थ्यमन्त्री तथा सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । सो समितिको सदस्यहरुमा भने प्रतिष्ठानकै  रजिष्ट्रार र रेक्टरलाई राखेपछि सर्वस्त्र विरोध र असन्तुष्टि छाएको छ । जो माथि छानबिन गर्नुपर्ने बेलामा उसैलाई आयोगमा राखेर सो समितिबाट आएको प्रतिवेदन कुनै पनि हालतमा निष्पक्ष नहुने र यसबाट कुलपति र सिंगो पार्टीको बदनाम हुने भनी प्रतिष्ठानभित्र र धरानको नेकपाभित्र विरोध हुनथालेको छ । एउटा भ्रष्ट पदाधिकारीहरुलाई बचाउन सिंगो प्रतिष्ठानलाई तहसनहस पार्नु नहुने नेकपाका स्थानीय नेताहरु बताउँछन् ।  

रजिष्ट्रारमाथि अनियमितताको उजुरी 
यता प्रधानमन्त्रीले प्रतिष्ठानभित्रको भ्रष्टाचारको छानबिन गर्न स्वास्थ्यमन्त्रीलाई संयोजक बनाएर समिति बनाएकै हप्ता सोही समितिका सदस्य रजिष्ट्रार श्रेष्ठले प्रतिष्ठानसँग कुनै कारोवार र साइनो नभएका जीवन पौडेलको नाममा पाँच लाख पचास हजारको बेरियर चेक काटेर भुक्तान दिएको फेला परेपछि प्रतिष्ठानमा हल्लीखल्ली मच्चिएको थियो । ०७५ वैशाख २३ गते एनआईसी एशिया बैंकमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाता नम्बर २३४१०१४८०५५२४०१४ को चेक नम्बर १६७५०६५० बाट जीवन पौडेलको नाम काटिएको चेक उपकुलपतिले फेला पारेपछि उनले रजिष्ट्रारमाथि चेक काण्डको छानबिन गरियोस् भनी प्रधानमन्त्रीलाई पत्राचार गरेका छन् । चेक काण्डबारे रजिष्ट्रार श्रेष्ठसँग जिज्ञासा राख्दा उनले आफूलाई एकाउन्ट फाँटबाट आएकाले सही गरेर पठाएकाले यसको दोष एकाउन्ट फाँटलाई जाने बताए । उनले सो कुरा उपकुलपतिले मागेको स्पष्टीकरणको प्रतिउत्तरमा पनि बताएका छन् । 
हाल सो चेक काण्डलाई अख्तियार दुरुपयोग अनुसान्धन आयोग पूर्वी क्षेत्रीय कार्यालय इटहरीले पनि छानबिन गरिरहेको कुरा आयोगका निर्देशक महेश आचार्यले पत्रकारहरुलाई जानकारी दिएका छन् । यसअघि पनि प्रतिष्ठानको छानबिनलाई घुस खाएर तामेलीमा राखेको सन्दर्भ उठाउँदा निर्देशक आचार्यले यसभन्दा अघिको कुरा म जान्दिनँ, तर यो मुद्दा गम्भीर भएकाले म कारवाही अघि बढाएरै  छाड्छु भनी बताए । यो चेक काण्डमा आर्थिक प्रशासन प्रमुख रुपा सिंघानीलगायत लेखा प्रशासन अधिकृतहरुको  समेत संलग्नता रहेको कर्मचारी स्रोत बताउँछ ।


Related News