वीपी विचारको अपमान

आलोक नेपाली । प्रत्येक नेपालीको परिवारको एउटा बस्ने घर, एउटा दुहुनो गाई, विरामी पर्दा ओखतीमूलो गर्ने र बालबच्चालाई पढाउनसक्ने अवस्था देख्न चाहन्थे वीपी कोइराला । साहित्य सृजना, राजनीतिक चिन्तन र बौद्धिकतामा तेजस्वी वीपीको तस्वीरलाई नेपाली काँग्रेसले प्रयोग गर्दै आएको छ । परिवार र पार्टीभन्दा माथि उठेर देशको सम्मानित नेता बनेका थिए वीपी । त्यसैले उनीबारे दक्षिण एशियामात्र नभई विश्वका प्रतिष्ठित विश्वविद्यालयका विद्यार्थीहरूले शोध गर्दै आएका छन् । यस्ता श्रेष्ठ नेता वीपी कोइरालाको विचार र पथभन्दा बाहिर जाने नेपाली काँग्रेसका विलासी र नवसामन्ती प्रवृत्तिका नेताहरूलाई उनको तस्वीरको दुरुपयोग गर्नु देशकै अपमान हो । 
वीपीले कहिले काठमाडौंमा आलिसान महलको सपना देखेनन् । न त विलासी गाडी र मोजमज्जामा आफूलाई केन्द्रित गरे । निरंकुश राजासँग संघर्ष गरेर जनअधिकारका लागि जेल जान तयार भए । जेलको जीवन बाँच्ने चाहना राख्नेका लागि मृत्युको मुखमा पुग्दाको पीडा कस्तो हुन्छ त्यस्तै हुने अनुभव वीपीले लेखेका छन् । कठोर जेल जीवनमा समेत देश र समाजको सुख र समृद्धीको चिन्तनमा लागेर कलम चलाइरहेका थिए । तर, वीपीका अनुयायी दाबी गर्ने काँग्रेसका अहिलेका मुख्य नेताहरू चप्पलको भरमा काठमाडौं आएर आलिशान महलमा शयन गर्छन् । तिनले मुखले वीपीको गाथा गाउन छाडेका छैनन् व्यवहारले वीपीको तिरस्कार गरेका छन् । वीपीको अपमान गर्दै अपवित्र हातले वीपीको तस्वीरमा माल्याणर्पण गर्छन् । वीपीप्रति यो भन्दा ठूला अपमान अरू के हुनसक्छ । 
काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासको क्षेत्रफल बढेको बढ्यै छ । वीपीको विचारले उनलाई बुढानिलकण्ठस्थित निवासको क्षेत्रफल बढाउन प्रोत्साहन गरेका थिएनन् । देउवाको जीवनशैली कति विलासी छ भन्नेबारे काँग्रेस कार्यकर्ता अवगत छन् । विलासी बनुन् भनेर वीपीले देउवालाई विद्यार्थी अवस्थामा हुँदा साथ लिएर हिंडेका थिएनन् । वीपीका अनुयायी दाबी गर्ने देउवाले काँग्रेस नेतृत्व साम, दाम, दण्ड भेदको शैलीमा त हात पारे तर काँग्रेसलाई डुबाउँदै लगे । वीपीको चरित्रविरुद्ध आफूलाई डोहो¥याए । समाजवादी विचारधाराको नेपाली काँग्रेसमा देउवा महासामन्त बनेर आफ्ना अदुरदर्शी निर्णयहरू लागिरहेका छन् । जुन वीपीले लोकतन्त्रका लागि राजासँग लडे त्यही राजाका सन्तानसँग सत्ताका लागि सम्झौता गर्दै देउवाले लोकतन्त्र नै निरंकुश राजाको पाऊमा चढाएका थिए । जुन वीपीले देश र जनताका लागि छिमेकसँग नझुकी राष्ट्रिय मेलमिलापको नीति लिएर आफैलाई दाऊमा राखेका थिए त्यही वीपीको पार्टी काँग्रेसका सभापति देउवा राष्ट्रलाई दाऊमा राखेर सत्तामा पुगेका छन् । एक्काइसौं शताब्दीका नेपाली जनताले देउवाका सारा कर्तुत देखेरै स्थानीय चुनावमा नमीठो पराजय चखाइदिए । सत्ता र शक्तिको दुरुपयोग नगरेको भए काँग्रेसले अहिलेको भन्दा आधा स्थानमा समेत जीत हासिल गर्दैनथियो । 
चुनावी हारको ढाकछोप
नेपाली काँग्रेसले चुनावमा हार्नुको जे जस्तो कारण बनाएर समिक्षा बनाएपनि मुख्य कारण शेरबहादुर देउवाको बहुलठ्ठी निर्णय र अमिल्दो कार्य नै हुन् । देउवामा डेढ दशकअघि प्रधानमन्त्री बन्दाको धङधङी अझै छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहनुपर्दा देउवा पेलाईमा पर्थे । जब कोइरालाको निधन भयो तब देउवा हावी हुन खोजे । कोइरालाले देउवालाई साइजमा राखेका थिए । राजासँग मिलेर बिसंगति बढाएको देउवालाई तह लगाएका थिए । विगतमा प्रधानमन्त्री छँदा देउवाले कर्मचारीतन्त्र र प्रहरीमा आफ्ना मान्छेको अनुकूल नियम बदल्ने र पुनः सोही नियम कायम गर्ने सम्मका कार्य गरे । प्रहरीका काबिल अधिकृतहरूलाई पाखा लगाएर मोतीलाल बोहरालाई आइजीपी बनाउन उनले नियमावली संशोधन गर्दै पुनः बोहराको समय थप गर्न पुरानै नियमावली बनाए । हतियार खरिदका अलावा माओवादीको टाउकोको मूल्य तोक्ने हिंस्रक कदम देउवाले नै चाले । 
प्रधानमन्त्री नहुँदै देउवाले प्रचण्डमार्फत् प्रहरीमा बर्बादी ल्याए । आइजीपी प्रकरणमा देउवाले यति धेरै खेले कि नेपाल प्रहरी एक वर्ष अघिको अवस्थामा पुग्न अब सजिलो छैन । प्रहरीभित्र बढुवा र सरुवामा पैसा र चाकडीको बोलवाला भएको छ । अहिले देउवा प्रधानमन्त्री हुँदा ११ जना एआइजी पद खडा गरी आफ्नालाई बढुवा गरिएको छ भने क्षतावान्हरूलाई पन्छाइएको छ । अन्याय र अत्याचारले सीमा नाघेपछि प्रहरीहरू काममा भन्दा चाकडीमा ध्यान दिन थालेका छन् । गलत संस्कृति र परम्पराको विकास भएको छ । न्यायपालिकामा समेत हस्तक्षेप गर्ने जस्ता निर्णय देउवाका कारण भए । प्रधानन्यायाधीशमाथिको महाभियोग प्रकरण र पछि फिर्ता लिने निर्णयबाट धेरै तथ्य खुल्छ । देउवाका यीनै क्रियाकलापले नेपाली काँग्रेस जनमानसमा बदनाम बन्दै गएको छ । 
कुनैबेला काँग्रेस हुँ भनी गर्वका साथ दाबी गर्नेहरू आफूलाई काँग्रेसको ट्यागबाट मुक्त गर्न थालेका छन् । लोकतान्त्रिक पार्टीको परिचय बोकेको काँग्रेस घोर अलोकतान्त्रिक पार्टी बनेको छ । सोझा र इमान्दारहरू स्थानीय चुनावको टिकट बाँडफाँडका बखत पाखा लगाइएका छन् । असन्तुष्टि निकै चुलिएको छ । बुढानिलकण्ठको बँगलामा बसेर डडेलधुरा र ताप्लेजुङको वडाध्यक्षको टिकट टिकेहरूलाई बनाउने सम्मको व्यवहार देउवा र उनका आसेपासेले गरे । त्यसको परिणाम सिंगो काँग्रेसले भोगेको छ । देउवा प्रदेश नम्बर दुईमा पहिलो स्थानमा आउने दाबी गर्दैछन् । तर, १२ वर्षपछि पाएको तातो कुर्सीमा बसेर देउवा जे जस्ता बाटो समात्दैछन् त्यसले उनी इतिहासमै कलंकित प्रधानमन्त्रीको पहिचान बनाउदै मात्र छैनन् काँग्रेसलाई झन् कमजोर बनाउँदैछन् । 
नेपाली काँग्रेसका हालसम्मका वरिष्ठ नेतामध्ये वीपी, गणेशमान सिंह, किशुनजी, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्वीर काँग्रेस कार्यकर्ताले गर्वका साथ झुण्ड्याउँछन् । कार्यक्रमहरूमा यी नेताहरूको तस्वीर झुण्डिनेछ । तर, लेखेर राख्दा हुन्छ देउवाको तस्वीर कुनै सच्चा काँग्रेस कार्यकर्ताले झुण्ड्याउने दिन रहनेछैन । देउवाले समाजवादी आचरणका सच्चा काँग्रेस कार्यकर्तालाई टिक्न दिएनन् । काँग्रेसमा कालो धन राख्ने, ठग, तस्कर, बाहुवली र जालीफटाहाले स्थान पाउने अवस्था बनाइदिए । काँग्रेसमा टिकट पाउने कतिपयको नाम सुन्दा नै काँग्रेस समर्थकहरू लज्जित हुनुपर्ने अवस्था समेत आयो । समाजवादी देउवाले यतिसम्म नराम्रा कार्यहरू गरेका छन् कि त्यसको असर नेपाल र नेपाली जनताले चुकाउनु परिरहेको छ । प्रदीप गिरीहरूले जतिसुकै समाजवादी चिन्तनबारे बोल्दै देउवाको ढाकछोप गरेपनि वास्तविकता लुक्नैछैन । कहिले पश्चिमाको भक्ति त कहिले दक्षिणको भक्तिमै आफ्नो भविष्य देख्ने देउवा खुसुक्क महाकाली तरेर सत्ता प्राप्तिको उद्देश्यले दिल्ली पुग्ने गरेका धेरै घटना इतिहासले खुलाउनेछ । जतिसुकै समिक्षा गरेपनि काँग्रेस पराजित हुनुको एउटै सत्य हि काँग्रेस हिजोसम्म वीपीको त्याग र तपस्याको आशिर्वादले टिकेको पार्टी थियो अब उनै वीपीबाट श्रापित पार्टी हुनेछ । वीपीले जुन सपना साँचेर यति वर्षभित्र सत्तामा रहेमा पूरा गर्छु भनेका थिए त्यो सपना त्यो भन्दा बढी वर्ष सत्तामा रहने काँग्रेसका कुलिन नेताहरूले पूरा गर्न लाग्नु त कहाँ हो कहाँ आफ्नै समृद्धीमा लागे । कतिपय काँग्रेस नेताहरूको जीवनशैलीबाट थाहा हुन्छ कि यो देशको दुरावस्था हुनुमा तिनै नेताहरू मुख्य जिम्मेवार छन् । स्थानीय चुनाव फिल्मको टेलरमात्र हो अब हने चुनावहरूले फिल्म नै देखाउनेछ । देउवा नेतृत्वको काँग्रेसको दुदर्शा देखिनेछ । त्यो दुर्दशाको भेऊ पाएरै कहिले नमिल्ने तीन कोइरालाहरू सँगै बसेको तस्वीर सार्वजनिक गर्न पुगे । 

Related News