​विपीकै अपमान

शम्भु श्रेष्ठ । राजनीतिलाई विकृति र विसंगतिबाट जोगाउन सकिएन भने लोकतन्त्र कुरुप हुँदै जान्छ । त्यस्तो अवस्थामा जनता चरम निराशामा पुग्छन् र आन्दोलित बन्छन् । नेपालको राजनीति हरेक दश दश वर्षमा परिवर्तन हुनुको मुख्य कारण पनि यही नै हो । हरेक राजनीतिक परिवर्तनमा जनताको सहभागिता हुने गरेको छ । त्यसको अर्थ जनताले राजनीतिक परिवर्तनबाट सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको अपेक्षा गरेका हुन्छन् । राजनीतिक परिवर्तनपछि जनअपेक्षा पूरा हुन सकेन भने त्यहीबाट विद्रोह उत्पन्न हुने गर्छ । अहिले नेपालको राजनीति विकृतिले झांगिएको छ । शासन सत्तामा बस्नेहरुले नै देश लुट्ने गरेको खबर दिनहुँ मिडियामा आइरहन्छन् । तैपनि लोकतान्त्रिक ओल ओढेर सत्तामा बसेकाहरुलाई ती खबरहरुले केही असर गरेको हुँदैन । भ्रष्टाचार नियन्त्रण गर्न स्थापित संवैधानिक अंगहरु पनि नांगो भ्रष्टाचारलाई टुलुटुलु हेरेर बस्न बाध्य छन् । यसो हुनुको कारण संवैधानिक अंगमा राजनीतिक भागबण्डा नै हो ।
८८ किलो सुन प्रकरणदेखि आयल निगमको जग्गा खरिद प्रकरण सत्तासँगै गाँसिएका घटना हुन् । माथिदेखि तलसम्म सेटिङ नहुने हो भने रसुवादेखि काठमाडौंसम्म बिना रोकतोक सुन तस्करी हुने सम्भावना नै छैन । त्यसैगरी आयल निगमको जग्गा खरिद प्रकरणमा पनि सत्तासिनहरुको संलग्नता भएकै कारण गोपाल खड्कामाथि कारवाही हुन सकेको छैन । पैसा पाएपछि जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने सत्तासिनहरुको मानसिकताका कारण लोकतन्त्र नै धरापमा पर्ने खतरा बढेको छ । त्यसमाथि पनि नेपाली कांग्रेसजस्तो आफूलाई खाट्टी प्रजातन्त्रवादी ठान्ने पार्टीकै नेता र कार्यकर्ता भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । आईजी नियुक्ति प्रकरणदेखि प्रधानन्यायाधीशमाथिको महाअभियोगमा कांग्रेसका सभापति स्वयंले जे जस्तो हर्कत गरे त्यसको कारण पनि पैसा नै हो ।
लोकतन्त्रमा शासकहरु जनतासँग डराउनु पर्छ । जनताले के भन्लान् भन्ने डर शासकमा भएन भने देश अहिले जस्तो बर्बादीको बाटोबाट गुज्रदै जान्छ । ०४८ सालदेखि अहिलेसम्मका राजनीतिलाई विश्लेषण गर्ने हो भने यति चरम भ्रष्टाचार, अराजकता यसअघि सायदै भएको थियो होला । तै पनि देशलाई सुशासन दिने, कानुनी राज स्थापना गर्ने र युवा जमातलाई स्वदेशमै रोजगारीको अवसर दिने काम सरकारबाट भएको छैन । सरकारमा जानु भनेका कमाउनका लागि हो भन्ने मानसिकताबाट नेताहरु गुज्रेको कारण देशमा इमान्दार मान्छे बाँच्नै गाह्रो पर्ने अवस्था उत्पन्न भएको छ । यस्तो भद्रगोल अवस्थाबाट देशलाई जोगाउन नागरिक समाज, मिडिया अग्रसर हुनैपर्छ । राजनीतिक आन्दोलन मात्रै नागरिक समाजको दायित्व होइन, त्यो आन्दोलनको उपलब्धि जोगाउनु पनि नागरिक समाजको दायित्व हो ।
यति नै बेला नेपाली कांग्रेसका नेताहरुले विपी कोइरालाको सम्झना पनि गर्दैछन् । तर, तिनीहरुले के सोचेका छैनन् भने विपीले परिकल्पना गरेको लोकतन्त्र यस्तो लोकतन्त्र होइन । विपीले त कांग्रेस सत्तामा आएपछि सुकिला मुकिला चिल्ला कार चढेर आउँछन्, तिनबाट जोगिनु पर्छ भन्ने सन्देश कार्यकर्तालाई दिएका थिए । तर, तिनकै कार्यकर्ता आज प्रधानमन्त्री, मन्त्री बनेका छन् र लोकतन्त्रलाई कमिशन बटुल्ने माध्यम बनाइरहेका छन् । तिनले विपीको आदर्शको चर्चा गर्नु भनेको विपीको अपमान गर्नु हो । विपीले सत्ताका लागि न त विदेशीको पाउ मोले । न त नीति, सिद्धान्त नमिल्नेसँग सहकार्य नै गरे । बरु आठ वर्ष जेल र आठ वर्ष निर्वासित जीवन बिताएर प्रजातन्त्रका लागि संघर्ष गरिरहे । विपी कोइराला जत्तिको आदर्शवान नेता पछिल्लो पुस्तामा नजन्मिकोले होला कांग्रेसका नेता कार्यकर्ता अहिले पनि आफ्नो पाप पखाल्न विपीकै व्याजमा रमाइरहेका छन् ।

Related News