​वीपीको आदर्श, देउवाको चरित्र

शम्भु श्रेष्ठ । अरु बेला जननायक वीपी कोइराला र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई नसम्झिए पनि वर्षको एक दिन अर्थात् साउन ६ र ७ गते दिवंगत नेताहरुलाई स्मरण गर्ने परम्परा जारी छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँहरुको अतुलनीय योगदानको कदर गर्दै दिवंगत नेताको फोटो र शालिकमा माल्यार्पण गर्ने मात्र होइन, उहाँको योगदानबारे चर्चा गर्न विचारगोष्ठी पनि आयोजना गरिँदै आएको वर्षौ भयो । गोष्ठीमा उहाँहरुको संघर्षमय जीवनयात्रादेखि उहाँहरुको त्याग र बलिदानको पनि निकै चर्चा हुने गरेको छ । तर, उहाँहरुको त्याग, बलिदानी र संघर्षमय जीवनशैलीलाई हामीले अनुशरण गर्न सकिरहेका छैनौं । समय बित्दै जाँदा उहाँहरुले स्थापित गरेका राजनीतिक मूल्य मान्यतालाई तिलाञ्जली दिँदै आज हामीले राजनीतिलाई पैसा कमाउने व्यापार बनाइरहेका छौं । भूकम्पले भत्काएका झुपडी जस्ताको तस्तै छ भने भूकम्पपीडितको नाममा नेताले महल, सम्पत्ति जोडेका छन् । अर्थात्, लोकतन्त्रले धनी र गरिबको खाडल अरु बढाएको छ । देश बनाउने युवा शक्ति रोजगारका लागि विदेशिन बाध्य छन् । रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र चलेको छ । पक्कै पनि वीपी र पुष्पलालको सपना यो थिएन । लोकतन्त्रको माध्यमबाट सबै नेपाली समृद्ध बनुन् । हरेक नेपाली भोक, रोग र शोकमा डुब्न नपरोस् भन्ने उहाँहरुको सपना थियो होला । त्यो सपना पूरा गर्न हजारौं नेपाली जनताले बलिदानी दिए र संविधानसभामार्फत् गणतन्त्र स्थापना गरे । तर, शासकको भ्रष्ट चरित्र, सिद्धान्तहीन व्यवहारका कारण जनता भोक, रोग र शोकसँग जुध्न बाध्य छन् आज पनि । हरेक दश दश वर्षमा राजनीतिक परिवर्तन भइरहने यो देशमा गणतन्त्रको माध्यमबाट पनि नेपाली जनताको जीवनमा परिवर्तन आउन सकेन भने यो गणतन्त्रले पनि स्थायित्व प्राप्त गर्न सक्ने छैन ।
परिवर्तन समयको नियम हो । नेपालमा पनि तिनै गरिब, निमुखा जनतालाई समृद्धिको सपना देखाएर ‘क्रान्ति’मा होमियो । हजारौं मरे । सयौं अपांग भए । कयौं टुहुरा भए । कयौंको सिउँदो रित्तियो । तर पनि जनताले न्याय पाउने दिन अझै आएन । तिनै सहिदलाई भ¥याङ बनाएर सत्तामा पुगेका शासक वर्ग नवधनाढ्य बने । यो प्रवृत्ति राजनीतिप्रतिको गद्धारी हो । जनताप्रतिको धोका हो । राष्ट्रप्रतिको घात हो । यसका विरुद्ध जनता जागिरहेका छन् । आगो दन्कन मात्र बाँकी छ । किनभने नेताका भ्रष्ट चरित्रलाई जति नंग्याए पनि भ्रष्ट नेताहरुको चरित्रमा अझै सुधार आएको छैन । वीपीको चर्चा गर्नेहरुले विपी कोइरालालाई दक्षिणका नेताहरुले कहिल राष्ट्रपति त कहिले प्रधानमन्त्री बनाउने बचन दिए पनि उनले त्यो कुरा स्वीकार गरेनन् । बरु आठ वर्ष जेल, आठ वर्ष निर्वासन रोजे भनिन्छ । यो उनको त्याग र निष्ठा थियो । वीपीको जीवनीबाट उनी कति दूरदर्शी थिए भन्ने बुझिन्छ । तर, आज उनको पार्टी सत्ताका लागि जतिसक्दो लम्पसार पर्न लालयित छ । सत्ताकै लागि पार्टी फोडेर प्रजातन्त्र राजाको पाउमा चढाएको इतिहास साक्षी छ । वीपी कोइरालाले जीवनभर संघर्ष गरेर स्थापित गरेको नेपाली कांग्रेस आज अविचलित सिद्धान्तहीन बाटोमा लम्कँदै छ । उग्रवामपन्थीको टेकोमा प्रधानमन्त्री बनेको छ । दक्षिणको इसारामा संविधान संशोधन गरेर देश विखन्डनको पूर्वाधार तयार पार्दैछ । भीरमा पुगेको वीपीको नेपाली कांग्रेसलाई भीरबाट जोगाउन सकिएन भने ‘राम राम’ भन्ने बाहेक नेपाली जनतासँग अर्को शब्द रहने छैन भन्ने कुरा स्थानीय निकायको पहिलो र दोस्रो चरणको मत परिणामले स्पष्ट पारिसकेको छ ।
नेपाली कांग्रेसका सभापति कांग्रेस पार्टीलाई पहिलो पार्टी बनाउन होइन, लोकतान्त्रिक मूल्य मान्यता ध्वस्त बनाउन प्रधानमन्त्री बनेका हुन् भन्ने कुरा माओवादी–कांग्रेस गठबन्धन सरकारले गरेका पछिल्ला अलोकतान्त्रिक गतिविधिले प्रष्ट पारेका छन् । वीपीले आफू पहिलो पटक प्रधानमन्त्री बनेपछि न्यायालयलाई स्वतन्त्र न्यायपालिकाको रुपमा स्थापित गर्न हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाएको भनिन्छ । तर दुर्भाग्य, तिनै कांग्रेसका सभापतिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता मात्र गराएनन्, सर्वोच्च अदालतको आदेशविरुद्ध ‘माइन्यूट’ लेख्ने काम गरे । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक बनाउन दिएको आदेशविरुद्ध अर्कालाई महानिरीक्षक बनाएर सर्वोच्चको आदेशलाई खिल्ली उडाए ।
यतिबेला नेपाली कांग्रेस वीपीको जन्मजयन्ती र स्थानीय निकायको निर्वाचन समीक्षामा जुटेको छ । ‘जो चोर उसैको ठूलो स्वर’ भनेझैं कांग्रेसमा जो बढी भ्रष्ट र बद्नाम छ, त्यसैले वीपीको खुब बखान गरिरहेको छ भने ‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भनेझै आफ्नो कर्तुत लुकाउन नेतृत्वले लाजै पचाएर अन्तर्घातको कारण चुनाव हारेको निष्कर्ष निकालिरहेको छ । कांग्रेस चुनाव हार्नुमा कांग्रेसकै नेतृत्व जिम्मेवार छ भन्ने जनताको निष्कर्ष हो । कांग्रेस र माओवादी गठबन्धन दुवैलाई जनताले धुलो चटाउनुको एउटै कारण सत्ताको दुरुपयोग र लम्पसारवादी चरित्र नै हो । कांग्रेसमा वीपी जन्मिन नसके पनि कम्तिमा कांग्रेसले गर्नु नपर्ने काम कम, गर्नुपर्ने काम बढी गरिदिए पुग्छ । वीपीको आदर्श र देउवाका चरित्र भनेकै यही हो ।

Related News