वीपी प्रतिष्ठानमा भएको भ्रष्टाचार, टुलुटुलु हेर्दै अख्तियार

दृष्टि न्यूज

धरान, १ फागुन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुको आन्तरिक द्वन्द्वको फाइदा उठाउँदै त्यहाँका कर्मचारीहरुले कसरी बजेटको दोहन गर्न थालेका छन् भन्ने तथ्यहरु फेला परेका छन । 
 खास गरी हालका रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानलाई कसरी आर्थिक तथा  प्रशासनिकरुपमा सबल बनाउन सकिन्छ भन्ने भन्दा पनि पूर्वउपकुलपति वीपी दासलाई भ्रष्टाचारको मुद्दाबाट बचाउन सकिन्छ भन्ने षड्यन्त्रमा मात्र लागेको कारण अहिले प्रशासनतन्त्र अस्तव्यस्त बन्न पुगेको कर्मचारीहरु बताउँछन् ।  पदाधिकारीहरुको जुँगाको लडाइँको फाइदा उठाउँदै त्यहाँका कर्मचारीहरुले वजेटको दुरुपयोग गर्न थालेका छन् । लेखा फाँटका अधिकृत कमल रायमाझीले आफू बस्ने क्वार्टर घर सानो भएको भन्दै प्रतिष्ठानबाट १० लाख  बजेट निकासा गरी क्वाटर घर बनाउन थालेका छन । प्रतिष्ठानको भगवती मन्दिर नजिक रहेको ब्रिटिशको पालामा बनेको ३ कोठे भवन सानो भएको भन्दै उनले रजिष्टार बाहेक अन्य पदाधिकारीहरुको स्विकृति नलिई निर्माण कार्य सुरु गरेका छन् ।  रजिष्टारलाई ५ लाखसम्म बजेट निकासा गर्ने अधिकार हुन्छ । त्यसभन्दा माथि गर्नुपर्दा उपकुलपतिको स्विकृति लिनु पर्छ । त्यसै कारण उनले रायमाझीको क्वाटर बनाउन ५÷५ लाख गरी दुई किस्तामा निकासा गर्ने व्यवस्था मिलाएको कर्मचारीहरु बताउँछन् । सो स्थानमा घर बनाउन उनले वन कार्यालयको स्विकृति पनि नलिई ३ वटा ठूल्ठुला मसलाको रुखहरु ढालेका छन् । अस्पतालमा रात दिन सेवा गर्ने नर्सहरुलाई क्वाटर दिन नसक्ने प्रतिष्ठान प्रशासनले लेखा फाँटका एक अधिकृतलाई कसरी थप क्वाटरको लागि १० लाख बजेट दिइयो भन्ने विषयमा हाल प्रतिष्ठानभित्र ठूलो चर्चाको विषय बनेको छ । 
वर्तमान रजिष्टारको दाहिना हात मानिने रायमाझी यसअघि पनि डेण्टलको एक महिला डाक्टरलाई  फोन र फेकबुकमार्फत् यौनजन्य कुराकानी गरेर हैरान पार्ने गरेपछि सो डाक्टरले कारवाहीको लागि रजिष्टारलाई निवेदन दिएको बताइन्छ । तर रजिष्टारले उनलाई कारवाही गर्नुको साटो उल्टै क्वाटर बनाउन सहयोग गर्नुले प्रतिष्ठानका कर्मचारी डाक्टर नर्सहरु क्रुद्ध भएको बताउँछन् । 
रजिष्टारको क्रियाकलाप विवादास्पद 
चार्टर एकाउन्ट र वकिलसमेत रहेका वर्तमान रजिष्टार श्रेष्ठ प्रतिष्ठानमा आउँदा  भ्रष्टाचारमा लिप्त तत्कालीन  उपकुलपति वीपी दासलाई चुनौती दिँदै आफूले कुनै पनि गलत काम नगर्ने बताएका थिए । तर, काम थालेको एक वर्षदेखि नै पूर्वउपकुलपति दासको दास बन्दै उनले गरेका सबै गलत काम कारवाहीमा सहयोगीको भूमिका खेल्न थालेका थिए । यसको उदाहरणस्वरुव पूर्व भिसी दासले विना टेण्डर गाडी खरिद, किड्जी स्कुल खोल्न दिने गरेको निर्णयलाई पनि उनले विरोध गरेनन् । उल्टै   सिनेट सदस्यहरुलाई समेत झुक्याउँदै  मातहतका मन्त्रालयहरुलाई समेत जानकारी नदिई अढाई अर्ब रुपैयाँ बजेटको मातृशिशु स्याहार केन्द्र अस्पताल भवनको ठेक्का लगाउँदा मौन सहमति दिएका थिए । यसैगरी प्रतिष्ठानको विधानविपरीत बाहिर सक्रिय  राजनीति गर्दै प्रतिष्ठानमा काम गरिरहेका केही अधिकृतस्तरका कर्मचारीहरुलाई बर्खास्त गर्नुपर्ने माग उठिरहँदा पनि रजिष्टारले यसबारे कुनै कारवाही गर्न नसक्नुले उनको जिम्मेवारीप्रति नै प्रश्न उठन थालेको छ ।  आफ्नो भाई गोपाल श्रेष्ठलाई प्रतिष्ठानभित्रको सरसफाई ठेक्का, स्टेशनरी, छपाई, औषधीको ठेक्काहरु नियमित दिएर सहयोग पु¥याइरहेका छन् । उनै गोपाल श्रेष्ठले प्रतिष्ठानको सवारी साधनहरुलाई इन्धन दिने ठेक्का पनि लिएका छन् र कर्मचारीसँगको मिलेमतोमा इन्धनको बढी बिल बनाएर करोडौं रुपैयाँ घोटला गर्ने गरेको कुरा कर्मचारीहरु बताउँछन् । भारतले नाकाबन्दी गरेको बेला तिनै गोपाल श्रेष्ठले रजिष्टारको स्विकृति लिएर प्रतिष्ठानको नाममा १० हजार लिटर डिजेल ल्याएर धरानका निर्माण व्यवसायी जनसेवक भण्डारीलाई बेचेका थिए । पछि यो कुरा पत्रपत्रिका आएपछि अख्तियारले समेत सोधखोज गरेको थियो । विना टेण्डर ५ वर्षदेखि प्रतिष्ठानको हाताभित्र लाइफकेयर औषधि पसल खोल्न अनुमति दिने काममा पनि रजिष्टार श्रेष्ठले राम्रै कमिशन लिएर संरक्षण गरेका थिए । तर हालको उच्च पदाधिकारीहरुले सो औषधी पसललाई बलजफ्ती हटाएकोमा रजिष्टार बेखुसी रहेको बताइन्छ । हालै छात्र विद्यार्थी क्वाटरवाट चरेस खाँदै गरेको अवस्थामा एक जना विडिएका विद्यार्थीसमेत  ३ जनालाई प्रहरीले पक्रेर प्रतिष्ठानको बदनाम भएको थियो । तर त्यसबारेमा छानविन गरी होस्टलहरुलाई चुस्तदुरुस्त राख्न रजिष्टारले अहिलेसम्म कुनै चासो नदेखाएकोमा पुनः त्यस्ता घटना दोहोरिन थालेको विद्यार्थीहरु बताउँछन् ।  
 
पूर्वउपकुलपतिलाई कारवाहीको सिफारिस
सरकारले मेडिकल कलेजको सम्वन्धन, प्रवेश परीक्षा भर्ना सिट तथा शुल्क निर्धारणलगायत विषयमा छानविन गर्न गठन गरेको चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदनमा कारवाहीको सूचीमा परेको ४२  जना उच्च पदाधिकारीहरुमध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा दास पनि परेका छन् । स्पोन्सर कोटामा आर्थिक चलखेल गरी अनियमित तरिकाले अयोग्य विद्यार्थी भर्ना गरेको पाइएपछि उनलाई भविष्यमा कुनै पनि सरकारी तथा अर्धसरकारी जागिरमा अयोग्य ठहर्ने गरी कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ । डा. दास उपकुलपतिको पदावधि सकिएपछि पनि प्रतिष्ठान फर्माकोलोजी विभागमा प्राध्यापक छन् । डा. दासलाई स्पोन्सर सिफारिसमा आएको भन्ने निहँुमा अन्य प्रक्रिया पूरा नगरी मेरिट लिष्टमा रहेका प्रतिभावान विद्यार्थीहरुको हक छिन्ने र अप्रत्यक्षरुपमा आर्थिक चलखेल गरी अनियमित तवरले अयोग्य विद्यार्थीहरुलाई भर्ना गरेर जानाजानी कानुन विपरीत  काम गरेको आरोप थियो । सोही आरोपको सम्बन्धमा जाँचबुझ आयोगले छानविन गरी प्रतिवेदनमा कारवाहीको लागि सिफारिस गरेको हो । 
झण्डै अढाई अर्व रुपैयाँ बजेटको हाल प्रतिष्ठानमा निर्माणाधीन  ४ सय शैयाको मातृशिशु अस्पताल भवन बनाउन दिने कुरा  सिनेटबाट पास नै नगरी अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालय समेतलाई जानकारी नगराई ठूलो भ्रष्टाचार गरेको आरोपमा अख्तियारलगायत स्वास्थ्य मन्त्रालयले दास माथि छानविन गरिरहेको छ । तर विगत ४ वर्षदेखि अख्तियारले छानविन थाले पनि कारवाही गर्न नसकेको अवस्थामा चिकित्सा शिक्षा जाँचबुझ आयोगको यो सिफारिसले प्रतिष्ठानका पूर्वपदाधिकारीहरुमा ठूलै भुइँचालो गएको छ ।   कारवाहीको सिफारिसमा परेका ४२ जनाले अकूत सम्पत्ति जोडेका कारण आर्थिक चलखेल गरेरै कारवाहीको प्रक्रिया रोक्न सक्ने कुरा चिकित्सा शिक्षाका प्राध्यायकहरु आशंका व्यतm गर्दछन् ।  

Related News