बजेट : भिजन र मिशन

अर्थमन्त्री विष्णु पौडेलले गत शनिबार संसदमा पेश गरेको बजेटले तरंग ल्याएको छ । आइतबारको अखबारले प्रमुख समाचार बनाएर बजेटलाई ‘महंगी निम्त्याउने’, ‘सपनामुखी’, ‘छरपस्ट’, ‘महत्वाकांक्षी’ भनेर टिप्पणी गरेका छन् । अर्थशास्त्रीहरुको प्रतिक्रिया पनि यी समाचार शीर्षक भन्दा फरक छैन । उद्योगी व्यवसायी भने बजेटप्रति सकारात्मक देखिन्छन् । समग्रमा भन्नुपर्दा बजेटले नेपाली जनताको आँखा खोलिदिएको छ । यसर्थ यो बजेट ‘भिजन’ र ‘मिसन’ सहितको बजेट हो । जहाँसम्म कार्यान्वयनको कुरा छ, त्यसका लागि सबैमा सकारात्मक सोचको आवश्यकता पर्छ । देश बनाउने भन्ने कुरा एमाले एक्लैले बनाउँछु भनेर हुँदैन । देश सबैको हो र देश बनाउँछु भन्ने भावना सबैमा जागृत हुन सक्यो भने मात्र यो बजेटले देखाएका सपना पूरा हुन सक्छ । त्यसका लागि सबैभन्दा पहिला राजनीतिक दलका नेताहरुको सोचमा परिवर्तन आउनु जरुरी छ । देश बिग्रिएकै राजनीतिक दलका नेताहरुमा सकारात्मक सोच नभएर हो । अरुले गरेका राम्रा कामलाई राम्रो भन्न नसक्नु र राम्रा कामलाई निरन्तरता दिने संस्कार विकास नभएसम्म देश बन्न सक्दैन । विकास भन्ने कुरा बजेट भाषण गरेको भोलिपल्टै हुन सक्ने कुरा होइन । चीन, कोरिया, सिंगापुर, मलेसिया र छिमेकी भारतकै कुरा गर्ने हो भने पनि ती देश एकै रातमा समृद्ध भएका होइनन् । त्यसका लागि दशकौं लाग्न सक्छ । यो बजेटले देखाएको ‘रोडम्याप’ मा हिंड्न सक्यौं भने धेरै होइन, २० वर्षमा नेपाली जनताले समृद्धि हासिल गर्न सक्ने छन् । अहिलेसम्म हामी किन पछाडि पर्‍यौं भन्ने कुरा फर्किएर हेर्ने हो भने त्यसका दोषी पनि हामी नै हौं र हामीभित्रको नकारात्मक सोच त्यसका लागि बढी जिम्मेवार छ । विकासको पहिलो शर्त शान्ति, सुरक्षा र राजनीतिक स्थायित्व हो । हरेक ६/६ महिनामा सरकार ढाल्ने खेलमा व्यस्त राजनीतिक खेलाडीहरुले देश बनाउने फुर्सद नै पाएका छैनन् । देशका प्रमुख पार्टीहरु अहिले पनि सरकार ढाल्ने खेलमा जुटेका छन् । एमालेले बजेट ल्यायो भने जनता एमालेको पक्षमा जान्छन् र निर्वाचनमा बहुमत ल्याउँछ भन्ने दरिद्र मानसिकताबाट गुज्रिएका दल र तिनका नेताहरुले सकेसम्म एमालेलाई बजेट नै ल्याउन नदिने दुष्प्रयास गरेका थिए । एमालेले राम्रो काम गर्छ । जनताको पक्षमा बजेट ल्याउँछ भन्ने डर विपक्षीलाई छ । त्यसैले बजेट अगाडि सरकार ढाल्न नसके पनि अब विपक्षीको प्रमुख काम भनेको बजेट कार्यान्वयन हुन नदिनु नै हो । त्यसका लागि अब विपक्षीहरुले बजेटको विषयमा सदनमा हंगामा मच्चाउने छन् । बजेटको नांगो आलोचना गर्नेछन् । कर्मचारीको तलब वृद्धि, सांसद विकास कोष, जेष्ठ नागरिकलाई बढाइएको सामाजिक सुरक्षा भत्ता, काठमाडौंमा मेट्रो रेलको अवधारणा, घर घरमा सोलार बत्ती, बुढीगण्डकी जलविद्युतको विकास, काठमाडौं–निजगढ फास्ट ट्रयाक, तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा आदि इत्यादि कुरा विपक्षीलाई पटक्कै मन परेको छैन । मन नपरेर के गर्ने ? एमालेलाई जनताले सम्झने भनेकै मनमोहन अधिकारीको नौ महिने शासनकाल हो । त्यसैको निरन्तरता यो बजेट हो । २०५१ सालदेखि अहिलेसम्म कति सरकार आए गए, जनतालाई सम्झना छैन । किनभने ती सरकारहरुले जनताको सम्झनालायक कामै गरेनन् । अझ नेपाली कांग्रेसको शासन त कुशासनमा परिणत भएको धेरै उदाहरण छन् । विगतका गल्ती, कमजोरीलाई सच्याउँदै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले ल्याएको यो बजेट जनताको सपना हो । यसलाई विपनामा परिणत गर्ने दायित्व पनि एमालेकै हो । त्यसका लागि सबैसँग सहमति गरेर अगाडि बढ्नुको विकल्प छैन । अहिलेको प्रमुख मुद्दा भनेको संविधानको कार्यान्वयन हो । त्यसका लागि पनि प्रमुख दलहरुबीच सहमतिको खाँचो पर्छ । यदि प्रमुख दलबीच सहमति हुन सकेन भने अर्को राजनीतिक दुर्घटना  निम्तन सक्छ । नेपाली कांग्रेसले यतातिर ध्यान पुर्‍याएको देखिँदैन । राम्रा कुराको विरोध गर्ने, नराम्रो कुराको समर्थन गर्ने बानी परेका कांग्रेसका नेतामा मात्रै सुधार आउन सक्यो भने बजेटले देखाएका सपना नेपाली जनताले देख्न पाउनेछन् । अन्यथा, उही बुढापाकाले भनेझैं ‘तेरो घरमा कांग्रेस पसोस’ भन्नु बाहेकको विकल्प नेपाली जनतासँग छैन । 

Related News