​बूढीगण्डकीमाथि शंका किन ?

दृष्टि न्यूज

काठमाडौं । बूढीगण्डकी आयोजना विकासका लागि लाग्ने झण्डै साढे ३ अर्ब डलर अर्थात् ३ खर्ब रुपैयाँ सरकारले अन्य आयोजनाहरुको विकासमा लगाउन पाउँछ । सरकारलाई यस्को वित्तीय स्रोत जुटाउन झन्झट पनि पर्दैन । आयोजना निर्माता कम्पनीले नै जुटाउँछ ।
आयोजनाको लागत अस्वभाविक बढाउँछ कि भन्ने आशंकालाई पनि बूढीगण्डकीको हकमा भने सम्भव देखिएको छैन । फ्रान्सको ट्रयाकवेल कम्पनीले झण्डै ४ वर्ष पहिले यसको विस्तृत परियोजना प्रतिवेदन बनाएर सरकारलाई  बुझाइसकेको छ । त्यसलाई आधार मान्दा यो आयोजनामा निश्चिन्त हुनसक्ने अवस्था बनेको छ ।
सीजीजीसीसँगको क्षमता ?
नेपालका जलविद्युत् आयोजनाहरुको निर्माणमा पनि लामोसमयदेखि संलग्न रहँदै आएको सीजीजीसी चीनको सरकारी स्वामित्वका ठूला संस्थामध्ये पर्छ । चीनको दुईतिहाइ थर्मल र एकतिहाइ जलविद्युत् आयोजना निर्माणको गौरवपूर्ण इतिहास रचेको सीजीजीसीसँग २२,५०० मेगावाट क्षमताको विश्वको सबैभन्दा ठूलो थ्री गर्जेज जलविद्युत् आयोजनाको निर्माणको ६५ प्रतिशत काम गरेको अनुभव छ । यसले २७१५  मेगावाट क्षमताको गेजुवा वाटर कन्जरभेन्सी आयोजना निर्माण गरी सञ्चालन गरेको छ । १८४० मेगावाट क्षमताको सुइबुया जलविद्युत् आयोजना, ८४०० मेगावाटको जियाङ्जियाबा जलविद्युत आयोजना, ६३०० मेगावाटको लाङ्तान, ९६९ मेगावाटको निलम झेलुङ् जलविद्युत आयोजना (पाकिस्तान), ७९० मेगावाट क्षमताको म्यानमारको येयेवा जलविद्युत् आयोजना, १७४० मेगावाट क्षमताको अर्जेन्टिनाको नेष्टर क्रिच्नर एण्ड जर्ज सेपर्निक, २१७१ मेगावाट क्षमताको अंगोलाको काकुलो काबाका जलविद्युत् र ८७३.५ मेगावाट क्षमताको पाकिस्तानको सुकि किनारी जलविद्युत् आयोजना निर्माणमा सीजीजीसी संलग्न रहेको छ । यसले २० भन्दा बढी जलविद्युत् र थर्मल पावर प्लान्टमा लगानी गरको छ । जसमा कमरा जलविद्युत् इण्डोनेशिया, स्टेट माइन हेवी आयल पावर स्टेशन लाइबेरिया, हेभी आयल पावर स्टेशन पाकिस्तान छन् । 
एशियाका प्रायः सबै क्षेत्र, मध्य र पूर्वी युरोप, अफ्रिका, दक्षिण अमेरिका, आसियानका मुलुकहरुमा पूर्वाधार विकासका माध्यमबाट नागरिकको जीवनस्तर सुधारमा सक्रिय सीजीजीसीले जल संरक्षण, जलविद्युत, थर्मल पावर, न्यूक्लियर पावर, वायु ऊर्जा, पावर ट्रान्स्मिसन एण्ड ट्रान्स्फरमेसन, हाई—वे, रेल—वे, ब्रिज, म्यूनिसिपल वक्र्स, एअरपोर्ट, पोर्ट, वाटर—वे, औद्योगिक र आवासीय भवन निर्माण, रियल स्टेट, सिमेण्ट उत्पादनमा सक्रिय छ । ऊर्जा इञ्जिनीयरिङ, खानी उत्खनन र कृषिका उपकरणसहित विविध बस्तुहरुको उत्पादनको डिजाइन, निर्माण र सञ्चालन जस्ता क्षेत्रमा वित्तीय लगानीको सेवा समेत प्रदान गरी यसले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।
सन् १९७० मा स्थापित सीजीजीसी बृहद् आयोजनामा लगानी गर्ने हैसियत भएको प्रतिस्पर्धी अन्तर्राष्ट्रिय चिनियाँ कम्पनी हो । वैदेशिक कारोबारमा संलग्न यो कम्पनी चीनमा छिटो प्रगति गर्ने कम्पनीमा पर्दछ । सीजीजीसीले विश्वका १ सय ३६ देशमा करिब १ सय ९० वटा विकास आयोजना कार्यान्वयन गरेको छ । ५० अर्ब अमेरिकी डलर भन्दा बढीको करारमा संलग्न सीजीजीसी विश्वका उत्कृष्ट २ सय ५० अन्तर्राष्ट्रिय निर्माण व्यवसायीहरुको सूचिमा उत्कृष्ट ५० भित्र पर्दछ । सीजीजीसी वित्तीय उद्योगका हरेक पक्षमा संलग्न छ र अत्यधिक बलियो वित्तीय लगानी तथा सहयोग गर्ने क्षमता राख्छ । आफ्ना बृहत् वित्तीय संयन्त्र र सहयोगका नवीन शैलीका माध्यमबाट यसले विश्वभर ख्याति कमाएको छ । 
सीजीजीसीले विश्वमा भरपर्दो ऊर्जा, दिगो उज्यालो, स्वच्छ पानी, गुणस्तरीय जीवन र कल्पनाभन्दा बाहिरका सुविधाहरु प्रदान गरेको छ । बाढी नियन्त्रण, वाटर लगिङ कन्ट्रोल, सिँचाइ, खानेपानी, पानीका स्र्रोत संरक्षणमा समेत संलग्न सीजीजीसीले चीनको दक्षिण–उत्तर क्षेत्रमा पानी स्थानान्तरण आयोजना पनि निर्माण गरेको छ, जुन पानी स्थानान्तरणमा संसारको  सबैभन्दा ठूलो आयोजना हो । सडक र रेल–वे पूर्वाधार निर्माणमा पनि यो कम्पनी अग्रणी रही आएको छ । एक्सप्रेस वे, फस्र्ट क्लास र सेकेण्ड क्लास हाई—वे, हाइस्पीड रेल–वे, पुल, सुरुङ र रेल ट्रान्जिट स्टेशनका साथै एअरपोर्ट, सी—पोर्ट, जलमार्ग निर्माण, पानीको वितरण, ढल प्रशोधन, बाढी नियन्त्रण, फोहोर–मैला व्यवस्थापन, जमीन प्रदूषण नियन्त्रण र पुनरुत्थान, घरजग्गा र आवास विकासमा समेत सीजीजीसी अग्रणी छ । 
यसले सिमेण्ट उत्पादन, स्टिल स्ट्रक्चर एण्ड इलेक्ट्रिक उपकरण उत्पादन, इएचभी स्मूथिङ रियाक्टर, बार्ज डेरिक, ग्राण्टी क्रेन, सुपर गेट, भर्टिकल प्लेटफार्म जस्ता उपकरण निर्माणमा पनि क्षमता राख्छ । यसको २० मिलियन मेट्रिक टन उत्पादन क्षमताको सिमेण्ट कारखाना छ ।  सिन्जियानको हमीमा ६ मिलियन मेट्रिक टन क्षमताको कोइला खानी समेत भएको सीजीजीसी उत्पादन क्षमताको आधारमा चीनको दोस्रो ठूलो नागरिक हितका लागि विष्फोटन सामग्री उत्पादन गर्ने कम्पनी हो । चीनको केन्द्रिय सरकार मातहतका २१ ठूला रियल स्टेट व्यवसायिक कम्पनी मध्येमा सीजीजीसी पनि एक हो । यसले विद्युत, राजमार्ग, उच्चगतिको रेलवे, खानी, जल संरक्षण, प्रदूषण नियन्त्रण र नवीकरणीय ऊर्जा विकासमा स्वदेश तथा विदेशमा समेत लगानी गरेको छ । प्लान्ट र गेजुवा वाटर कन्जरभेन्सी प्रोजेक्ट, भारतको इष्ट—वेष्ट करिडर हाइवे प्रोजेक्ट र चीनकै दक्षिण उत्तर जल स्थानान्तर आयोजनाहरु यसको पहिचानका रुपमा स्थापित छन् ।
यस्तो कम्पनी नेपाल आउनुलाई टाउको दुःखाइको विषय बनाइनु हुन्न । हरेक कुरालाई दोषी चश्माले हेर्दा नेपालको विद्युतीय क्षेत्र कमजोर बन्दै जान्छ । एकातिर विदेशी लगानी भित्र्याउन ठूला ठूला भाषण गर्ने अर्कोतिर चीनकै ठूलो कम्पनी नेपाल आउँदा विरोध गर्ने शैली र व्यवहारले विदेशी लगानी प्रोत्साहित गर्दैन ।

 

Related News