बुङ्वाखा पुरस्कारहरू घोषणा


काठमाडौं, १ मंसिर । भाषासेवी डिक बान्तावा ३० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार २०७३’बाट पुरस्कृत हुने भएका छन् । 

बुङ्वाखा पुरस्कार छनोट उपसमितिको बैठकले हालै भोजपुरका बान्तावालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बान्तावा भाषामा लामो समयदेखि कलम चलाउँदै आएका उनको ‘किरात राई बान्तावा शब्दकोश’, ‘बान्तावा राई व्याकरण’लगायत कृति प्रकाशित छन् । उनले बान्तावा चलचित्रहरू ‘सायाबुङ’, ‘सिम्मा’ र ‘साइमा’को लेखन तथा निर्देशन पनि गरेका छन् । 

२० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कार’ गीतकार÷संगीतकार÷गायक बीबी रोक्दुङ (भक्त बहादुर राई)लाई प्रदान गरिने भएको छ । सिक्किम भारतमा जन्मिएका संगीतकर्मी रोक्दुङले ‘सेरेनाम लिसा’, ‘सिकेवा माकेवा’ र ‘छेन्चुक्लि’ एल्बम बजारमा ल्याइसकेको जनाइएको छ । ६ हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ ‘बुङ्वाखा’ मासिकका उदयपुर संवाददाता टीकाराम बादिहाङलाई प्रदान गरिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्का’ बुङ्वाखाको बाह्रौं बान्तावा कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई प्रदान गरिनेछ । पुरस्कारको राशि क्रमशः १० हजार, ६ हजार र ४ हजार रहेको पत्रिकाका सम्पादक पदम राईले जानकारी दिएका छन् ।

मंसिर २४ गते उदयपुरमा हुने बुङ्वाखाको बाह्रौं वार्षिकोत्सव तथा बाह्रौं बान्तावा कविता प्रतियोगितामा पुरस्कारहरू अर्पण गरिने जनाइएको छ ।


                     

 

Related News