​बुटवल पावर कम्पनीको २० प्रतिशत लाभांश

दृष्टि न्यूज

काठमाडौैं । बुटवल पावर कम्पनीको २५औँ वार्षिक साधारणसभाले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांश आव ०७३÷७४ को खुद मुनाफाबाट दिइन लागेको हो । साधारणसभामा नयाँ सेयर निष्कासनपश्चात् सर्वसाधारण सेयरधनीको सेयरको अनुपातअनुसार सर्वसाधारण सेयरधनीका तर्फबाट दुईजना सञ्चालकको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्तावसमेत पारित भएको छ । 
कम्पनीले हालै आफ्नो चिनियाँ साझेदार कम्पनीसँगको संयुक्त लगानीमा मनाङ जिल्लास्थित मस्र्याङ्दी नदीमा ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजना तथा २८२ मेगावाटको मनाङमस्र्याङ्दी जलविद्युत् आयोजना विकासका लागि दुवै आयोजनाको सेयर खरिदको सम्झौता सम्पन्न गरी स्वीकृतिको प्रक्रियामा रहेको जानकारी दिएको छ । उक्त आयोजनाको बीचमा कम्पनीले नै अध्ययन गरेको १४० मेगावाटको लोअर मनाङमस्र्याङ्दी आयोजना रहेको हुँदा उल्लिखित तीनवटै आयोजना नदी बेसिन आयोजनाका रूपमा नेपाली बजारलाई लक्षित गरी प्रचलित निर्देशिकाबमोजिम क्षमता पुनरावलोकन गरी विकास गर्ने सोच रहेको कम्पनीले जानकारी दिएको छ । 
त्यसैगरी इन्फ्राको एसियासँगको संयुक्त लगानीमा हाल ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजना  तथा स्थानीय साझेदारसँगको संयुक्त लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । सो दुवै आयोजनामा कम्पनीको मुख्य लगानी रहेको छ । मनाङ जिल्लास्थित ८.५ मेगावाटको चिनोखोला साना जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको कार्य भइरहेको छ । हालै कम्पनीले १६० मेगावाटको मुगु कर्णाली आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययन कार्य अगाडि बढाएको छ । 

Related News