​अख्तियारको निगरानीमा अर्थका कर्मचारी

काठमाडौं, १ फागुन । सरकार छाड्ने बेला देशको कार्यकारी पदमा आसिन प्रधानमन्त्री शेरबहादुर देउवाले गति छाड्दै जथाभावी निर्णय गरेर राष्ट्रको ढुकुटी रित्याउन थालेको कुरा त समाचारमा बाहिर आइसकेको छ । तर, यही मौकामा चौका हान्दै अर्थ मन्त्रालय नै रित्तिने गरी अर्थका कर्मचारीहरु पनि राष्ट्रको ढुकुटी रित्याउँदै विदेश भ्रमणमा निस्किएपछि अर्थ मन्त्रालयको दैनिक काम ठप्पै हुन पुगेको छ । यस घटनालाई अख्तियारका कावा प्रमुख नविन घिमिरेले कार्यभार सम्हालेकै दिनदेखि गम्भीरतापूर्वक लिएको बताइन्छ । 
यतिबेला बजेट निर्माण गर्नुपर्ने र मध्यावधि समीक्षा गर्नुपर्ने काममा अर्थका कर्मचारी जुट्नुपर्ने बेला हो । आगामी जेठ १५ भित्रमा जसरी पनि बजेट पेश गर्नैपर्ने संवैधानिक बाध्यता छ । नयाँ सरकार निर्माण लगत्तै बजेटको काम समेत युद्धस्तरमा अघि बढाउनुपर्ने हुन्छ । अर्थमन्त्रालयमा अहिले संघीयता कार्यान्वयनमा जाँदा परेको थप आर्थिक बजेट भार समेतको व्यवस्थापनको चटारो छ । तर, मन्त्रालयको महत्वपूर्ण काम छाडेर मन्त्रालय नै रित्तिने गरी राजस्व, वैदेशिक, संस्थान र बजेट महाशाखाका कर्मचारीहरु विदेश जानुले थप अराजकता निम्तिएको छ । विदेश सयर गर्ने कर्मचारीहरुमा राजश्व महाशाखाका  उपसचिव राजेन्द्र प्रसाद दुराल, देवी प्रसाद शर्मा, शाखाअधिकृत देवानन्द काफ्ले, संस्थान महाशाखाबाट तीन कर्मचारीहरु उपसचिव बासु शर्मा पौडेल, सह–सचिव गणेश पाण्डे, उपसचिव मोहन सिंह बस्नेतलगायतका छन् । विदेश गएकाहरु मध्ये अधिकांश १० दिनको लागि विदेश उडेका छन् । उनीहरुलाई डलरमा दैनिक भत्ता, होटल, जहाज टिकट लगायतको सुविधाबापत सरकारी ढुकुटीबाट करोडौं रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालय अन्य मन्त्रालय जस्तो खर्च गर्न मात्रै निकाय होइन । नियमनकारी निकाय समेत हो । अरु मन्त्रालयले जथाभावी खर्च गर्ला कि भनेर नियमन गर्ने दायित्व समेत अर्थ मन्त्रालयकै हो । त्यस्तो जिम्मेवारी पाएको मन्त्रालयकै कर्मचारीहरु काम छाडेर विदेश जानुले अर्थ मन्त्रालयको सबै काम चौपट भएको छ ।
समाचार स्रोतका अनुसार विभिन्न बहाना बनाएर विदेश जाने कर्मचारीहरुले नियम विपरीत भत्ता लिने गरेका छन् । यसरी कामै छाडेर विदेश जाने प्रवृत्तिलाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता लिनुपर्ने स्रोत बताउँछ । अझ रोचक प्रसंग चाही एउटै महाशाखाका कर्मचारीहरु दोहो¥याएर समेत विदेश भ्रमणमा गएका छन् । पछिल्लो तथ्यांकका आधारलाई हेर्दा तीन महिनामा एक हजार एक सय बीस कर्मचारीहरु सरकारी ढुकुटी रित्याएर विदेश भ्रमणमा गएका छन् । ती के कति कामले विदेश गएका हुन् भन्ने विषयमा पनि अख्तियारको ध्यान जानुपर्ने देखिन्छ । स्रोतका अनुसार अर्थ मन्त्रालयबाट मात्रै एक सय ६४ जनाभन्दा बढी कर्मचारीहरु तीन महिनाभित्र विदेश भ्रमणमा गएका छन् । 

Related News