​नेपाल टेलिकम सामाजिक उत्तरदायित्वमा पनि अब्बल

दृष्टि न्यूज

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कामहरू गर्दै आएको छ । कम्पनी ऐनले व्यावसायिक प्रतिष्ठानले वार्षिक नाफाको १ प्रतिशत रकम अनिवार्य रूपमा सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरेपछि टेलिकमले त्यसलाई राम्रै गरी पछ्याएको छ । पछिल्ला दुई आर्थिक वर्षमा विभिन्न ८ क्षेत्रमा विभिन्न सामाजिक जिम्मेवारी निर्वाह गरेको छ । टेलिकमले माइतीघरदेखि तिनकुनेसम्म विभिन्न फूलका बिरुवासहितको आकर्षक हरियाली छ । टेलिकमले विभिन्न जातका फूलका बिरुवा रोप्नेदखि त्यसको संरक्षणको काम निरन्तर रूपमा गर्दै आएको छ । 
कम्पनीले आर्थिक वर्ष ०७३/७४ मा पाटन अस्पताल र थापाथली प्रसूतिगृहमा जन्मेका २ सय ५० शिशुका लागि एक–एक थान तथा वीर अस्पताल र गंगालाल अस्पतालका बिरामीको प्रयोगका लागि २ सय थान गरी ४ सय ५० कम्बल वितरण गरेको थियो । त्यस्तै चालू आवमा कम्पनीले ६ वटा अञ्चल अस्पतालमा तथा उदयपुरको जिल्ला अस्पतालमा उपचाररत आगलागीपीडित बिरामीहरूका लागिसमेत १ सय ७५ थान कम्बल वितरण गरेको थियो । 
कम्पनीले चालू आर्थिक वर्षमा राराको पर्यटकीय क्षेत्रको सरसफाइका लागि ८० थान ठूला डस्टबिन उपलब्ध गराइसकेको छ । पर्यटकीय सम्भावना भएका राराजस्ता ठाउँमा सफाइको ठूलो महŒव छ भन्ने कुरो टेलिकमले बुझेको देखिन्छ । 
त्यसैगरी टेलिकमले हरेक वर्ष बागमती सरसफाइका लागि आवश्यक एक सय थान ट्र्याकसुट, ३ सय जोडी गमबुट, ५० डोका, २ हजार थान मास्क, ५० थान सुइरो र ३ सय थान पन्जा उपलब्ध गराउँदै आएको छ । बागमती सफाइको चाहनामा पुग्ने सर्वसाधारणलाई यी सामग्रीले काम गर्न सहज र उत्साहित बनाएको छ । 
कम्पनीले आर्थिक वर्ष ०७४/७५ मा सप्तरी र महोत्तरीका १ हजार ५ सयभन्दा बढी बाढीपीडितहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । साथै त्यस क्षेत्रका बाढीपीडितहरूलाई कम्पनीले निःशुल्क रूपमा मोबाइल सिमकार्डसमेत वितरण गरेको थियो । 
टेलिकमले अघिल्लो आर्थिक वर्षमा तराईका विभिन्न जिल्लामा २० हजार थान सिमकार्ड निःशुल्क रूपमा वितरण गरेको थियो । 
टेलिकमले बागमती सरसफाइ, काठमाडौं महानगरको हर्न निषेधित अभियान, निर्वाचनमा मतदान, विभिन्न चाडपर्व, गणतन्त्र दिवस, मानव तस्करीलगायतका विषयमा सर्वसाधारणलाई सूचित गर्न निःशुल्क एसएमएस पठाउने कार्य गर्दै आएको छ । 
त्यस्तै कम्पनीले भोजपुरको शारदा मावि, काभ्रेको रत्न चुण्डेश्वर मावि, ओखलढुंगाको सगरमाथा मावि, नुवाकोटको कन्यादेवी मावि, रामेछापको सेतीदेवी मावि, सोलुखुम्बुको जीवनज्योति मावि, भक्तपुरको शान्ति निकेतन मावि, लमजुङको अमर मावि र डडेल्धुराको घटाल माविमा आइसिटी सेन्टरहरू स्थापना गरिसकेको छ । त्यसबाहेक चालू आर्थिक वर्षमा उदयपुर, रुकुम र जुम्लामा आइसिटी सेन्टर स्थापनाको कार्य भइरहेको कम्पनीले जनाएको छ । 

Related News