​चाकडीको भरमा प्राज्ञ बन्ने परिपाटी अन्त्य हुनुपर्छ

प्रा.डा.बद्रीविशाल पोखरेल

प्रा.डा.बद्रीविशाल पोखरेल । आत्मिक संस्कृति वर्ग पक्षधर हुन्छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक चेतना अनुकूल विषय,विधा र विज्ञतामा उच्च,उदात्त,अध्ययन,अनुसन्धान तथा सिर्जनात्मक क्षमता आजको प्रज्ञा र प्राज्ञमा अपरिहार्य हुन्छ । सामान्य र सरदर सर्जकलाई प्राज्ञ नियुक्त गरेर प्रज्ञा र प्राज्ञको प्राण प्रतिष्ठा हुनसक्तैन । यस्ता प्राज्ञ पदीय हिसावले औपचारिक समारोह र उपस्थितिमा सम्मान्नित भए पनि स्रष्टा समाजमा तिनले कदापि स्थान र मान पाउँदैनन् । कला, साहित्य, संगीत, नाट्य तथा संस्कृतिको सेवा भावनालाई सर्वोपरि राखेर काम गर्ने सोच हुने हो भने मात्र आजको प्रतिष्ठानको प्राण रहनसक्छ । समग्रमा देश र जनताको सेवा भावनालाई साकार पार्ने ध्येय र उद्देश्यका साथ लाग्न सकिएन भने मुलुकको सर्वाङ्गीण समृद्धि केवल नारामा सीमित हुनेछ । सबै भन्दा पहिले स्रष्टा चेत, चिन्तनमा समृद्धि अपरिहार्य हुन्छ । 
प्राज्ञ भनेको प्रखर वा परिपक्व बुद्धि भएको, बुद्धिमान्, अत्यन्त सीप भएको सिपालु, दक्ष, अध्ययनद्वारा प्रशस्त ज्ञान आर्जन गरेकोव्यक्ति,विशिष्ट विद्वान्,पण्डित, तथा विज्ञलाई भनिन्छ । वास्तवमा यस्ता व्यक्तित्वहरु देशका आँखा,कान,दिल, दिमाग,भाग्य र भविष्य हुन् । यिनलाई आफ्ना सृजन कर्ममा नै गौरव बोध हुन्छ र यसैमा तिनलाई भ्याइनभ्याइ हुन्छ । सामान्य र सतही व्यक्ति र राजनीतिले यस्ता व्यक्तित्वलाई गन्दैन । गुणी जनले मात्र गुण,देख्छ,बुझ्छ र गुणको कदर गर्छ । कुनै अमुक विधामा सामान्य सिर्जना गर्ने बित्तिकै प्राज्ञ भए पनि त्यसलाई धान्न सकिँदैन । प्राज्ञ भनेको सरदर लेखक,कवि र सर्जक भन्दा विशिष्ट हुन्छ । विषयगत समग्र सन्दर्भ,प्रसंग र प्रभाव सहितको ज्ञानी ध्यानी चाहिँ प्राज्ञ हो । ०४६ सालपछि प्रज्ञा,विद्वत्ता र विज्ञताका क्षेत्रहरु गैरप्राज्ञ गैरप्राज्ञिक काम बढी देखिन थालेका छन् । सिर्जना, अनुसन्धान, विज्ञता तथा विषयगत कृति प्रकाशन र प्रवाह गर्ने गहन प्राज्ञको प्रायः अभाव महसुस हुन्छ । 
 प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानहरुको मूल काम यस क्षेत्रमा खोज,अनुसन्धान,सीप र क्षमताको उजागर उत्थान र समृद्धि हो । एउटा सामान्य साहित्यिक सांस्कृतिक संस्थाले झैँ एउटा कविगोष्ठी,एक साहित्यिक र सांस्कृतिक कार्यक्रम मात्र गर्नु मात्र प्रज्ञा प्रतिष्ठानहरुको काम होइन । एउटा प्राज्ञ विषयगत र विधागत समग्र विज्ञ हो र हुनुपर्छ । यसरी विशिष्ट ज्ञान,ध्यान र चिन्तन र चरित्रका प्राज्ञहरु चयन गर्ने पद्धति,प्रणाली, विधि र उचित मापदण्डको व्यवस्था गर्नुपर्छ । त्यसका लागि हालसम्मका प्रयोगमा देखापरेका कमीहरु सच्याउनु पर्छ । अहिले प्रतिष्ठानहरुमा कला साहित्यका एउटै विधा र विषयलाई तीन टुक्रा पारेर विभागहरु बनाइएको देखिन्छ । जन सांस्कृतिक महासङ्घका अध्यक्ष तथा वरिष्ठ सर्जक खगेन्द्र राईले प्रतिष्ठानहरु पदराजी होइन कामकाजी हुनुपर्छ भन्छन् । हुन पनि प्रतिष्ठान एक र अनेकको सबाल प्रमुख होइन, यसले दिने प्राप्ति,उपलब्धि र परिणाम सर्वोपरि हो । यसमा स्रष्टा समाजको ध्यान केन्द्रित हुनुपर्छ । प्रसिद्ध संगीतकार तथा तत्कालीन कुलपति अम्बर गुरुङको आग्रहमा प्रतिष्ठान प्रवेश गरेका स्वतन्त्र कलाकार आभासले त्यस बेलाका चरम विसङ्गतिको पोल खोलेका छन् । त्यस बेला जागिरे मनोवृत्ति र राजनैतिक बाँडफाँड र किचलोका कारण आफ्नै सिर्जनशीलता धरापमा पर्ने देखेर उनले त्यतिबेलै राजिनामा दिएको बताएका छन् । 
 यही साउन १९ गते प्रकाशित एक राष्ट्रिय पत्रिकामा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान निराशाका आठ वर्ष शीर्षकमा सर्जकहरुले यस क्षेत्रका कमजोरी उल्लेख गरिएकोछ । प्राज्ञ अशेष मल्लले प्रतिष्ठान आफैँ एक्टर भएको नीति निर्माण गर्ने काम नगरेको उल्लेख गरेका छन् । उनी प्रतिष्ठान भनेपछि अध्ययन, अनुसन्धान र नीति निर्माण गर्नु हो । तर गोष्ठी र महोत्सवमा मात्र सीमित भएको उनी बताउँछन् । मल्लकै धारणासँग सहमत हुँदै नाट्यकर्मी घिमिरे युवराजले प्रतिष्ठानले यस क्षेत्रमा खासै कुनै भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्छन् । कुलपति सरुभक्तले बजेट न्यून हुँदा संगीत र नाट्य विषयमा खोज अनुसन्धान हुन नसकेको बताउँछन् । उनले भक्तपुर ललितपुरमा देखाइने नेपाली नाच र पञ्चेबाजा लोप हुने अवस्थामा रहेको बताए । जान्दा वास्तवमा नेपाली संस्कृति र यस अन्तर्गतका विभिन्न विधा,वाद्य वादन कला,औजार र उपकरण नेपाली मौलिकताका गुदी पक्ष हुन् र आय आर्र्जन गर्ने माध्यम पनि हुन् । संगीत साधना प्रष्ठिान,इटहरीका महासचिव तथा कलाकार राजु केसीले नीति,निर्माण,अध्ययन अनुसन्धान र खोज गर्ने विशिष्ट कर्म नगरेर सामान्य नाचगान,गोष्ठीमा अल्झिएको बताउँछन् । त्यसैगरी कलालय,इटहरीका अध्यक्ष तथा नाट्य क्षेत्रका प्रतिभा सोनु जयन्ती कला साहित्य र संगीतका क्षेत्रमा पाश्चात्य कुप्रभाव मसिनो रुपमा भित्रिन थालेका विषयमा चिन्ता व्यक्त गर्छन् । प्रज्ञा प्रतिष्ठान र प्राज्ञहरुसित राजनीतिक विषय पनि जोडिने गर्छ । 
 राजनीति निरपेक्ष केही र कोही पनि हुँदैन । सामान्य मतदाता, घोषित अघोषित कार्यकर्ता भएर वा नभएर पनि मानिस राजनीति विहीन हुँदैन । तर राजनीति विचार दृष्टिकोण हुँदाहुँदै पनि प्राज्ञ,सर्जक,कलाकार,विज्ञ र विद्वत्तायुक्र्त  हुनुपर्छ । सिरदेखि तिरसम्म कार्यकर्ताको पहिचानले कलाकार, साहित्यकार, बौद्धिक, प्राज्ञिक उचाइ किमार्थ कायम गर्न सकिन्न । अहिलेको ज्वलन्त समस्या नै यही हो प्रधानमन्त्री के.पी.शर्मा ओलीले मुखको नेकपा वा कम्युनिष्ट भन्दा काम,क्षमता र सिर्जनात्मक उच्चताका आधारमा समाजमा परिचय स्थापित गर्नु चाहिँ अहं महत्वको विषय हो भनेका थिए । कम्तीमा घाँटी भन्दा माथि विषयगत,विधागत र विज्ञतागत उच्च पहिचान हुनैपर्छ । तर यस विपरीतका व्यक्ति प्राज्ञ बने भने तिनबाट परिणाम र प्रभाव कमजोर र शून्य हुन्छ । केही समयदेखि प्रज्ञा प्रतिष्ठानहरु,प्राज्ञिक संस्थाहरु र प्राध्यापकीय संस्थान र विश्वविद्यालयहरु प्राज्ञिक पुन्ज भन्दा प्राज्ञिक झुण्डका रुपमा रहेको भनिन्छ । 
आगामी भाद्र २१ गते सबै प्रज्ञा प्रतिष्ठानहरुमा पदाधिकारी र सदस्यको समयावधि समाप्त हुँदैछ । त्यसैले अब प्रज्ञा र प्राज्ञको प्राणतत्वमा आमूल परिवर्तन अपरिहार्य देखिन्छ । सरकारले सुखी नेपाली समृद्ध नेपालको अभिप्राय र उद्देश्यलाई साकार पार्ने योजनाका साथ लागि पर्ने हो भने सोच,सिर्जना र सर्जकहरुमा तदनुसार परिमार्जन र परिष्कार जरुरी देखिन्छ । काम गरे पनि नगरे पनि पदासीन हुने अवस्थामा अब विशेष निगरानी आवश्यक हुन्छ । योग्यता, अनुुभव, सिर्जनात्मक श्रेष्ठता तथा क्रियाशीलतालाई प्राथमिकता नदिई नेताको चाकडी गरेको भरमा गैरप्राज्ञिक गतिविधिलाई महत्व दिएर काम गर्ने हो । सरकारी लक्ष विगत सरकारका नारा सरह हुने निश्चित देखिन्छ । एक प्राज्ञ तथा संस्कृति कर्मीले प्रज्ञा तथा सांस्कृतिक प्रतिष्ठानलाई जागिर ठानेको र अब प्रदेशमा पनि यस खालका जागिर खुल्ने कुरा बताउँदा यो लेखक छक्क परेको थियो । अब कारमा भन्दा किताव,कलम,पठन लेखन संस्कृतिमा रमाउने व्यक्तित्व नै प्राज्ञ हुन् भन्ने प्रभाव दिन सक्नुपर्छ । यी कुनै पनि देशका मूल्य र महत्ता हुन् । कुनै पनि देशको मूल्य र महत्ता त्यस देशको कला, साहित्य, संगीत, नाट्य र संस्कृति, स्रष्टा र सिर्जना हुन् । कुनै पनि देशको राजकीय नेतृत्वले उपर्युक्त विषयमा गम्भीर रुपमा सोच्छ,विचार गर्छ र तदनुसार राष्ट्रिय महत्व दिएर उपयुक्त काम,स्थान र मान प्रदान गर्छ तथा देशका लागि मार्ग दर्शनको माग गर्छ । हरेक देशभक्त राष्ट्र र राजनेताले देशको माग र आवश्यकता अनुसार महत्व दिन्छ । त्यसै अनुसार २०१३ सालमा महाकवि लक्ष्मी प्रसाद देवकोटाका सल्लाहमा तत्कालीन राजाले २०१४ सालमा नेपाली साहित्य कला एकेडेमी स्थापना गरेको देखिन्छ । समय क्रममा अहिले तीनवटा प्रतिष्ठानहरु छन् तर कामको हिसावले हिजोभन्दा कमजोर देखिन्छन् । 
 केही आफूलाई प्रगतिवादी तथा प्राज्ञ भन्ने व्यक्रित्वहरुलाई नकारको नकार कण्ठै छ । तर तिनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई द्वन्द्ववादी दृष्टिकोणले मूल्याङ्कन गर्ने र सकारलाई स्वीकार सम्म पनि गरेको देखिन्न । विशाल चीनलाई एकीकृत गर्ने सम्राट् चिह्वह्वाङलाई माओले सम्मान गर्थे । तर, नेपाल एकीकरणका युग पुरुष पृथ्वीनारायण शाहलाई तिनै बुद्धिजीवी अझै धारेहात लगाउँछन् । ती भानु जयन्तीमा आउँदैनन् । तर जीवन जगत्प्रतिका घोर निराशा, निस्सारता र शून्यताका गोष्ठीहरुमा सबाल्टन प्राज्ञ एकाग्र भावनाका संलग्न हुन्छन् । तर वर्ग पक्षधरताको रटानमा उनै अगाडि देखिन्छन् । कला, साहित्य, संगीत, नृत्य र नाट्यले समाजलाई कलात्मक हस्तक्षेपका साथ अग्रगमनको मार्ग प्रशस्त गर्नुपर्छ । सामान्य मनोरञ्जन र सतही लेखन र प्रचारात्मक कामबाट मात्र अब साहित्यको उद्देश्य पूरा हुन सक्तैन । साहित्य र कलाले समाजलाई गुणात्मक रुपमा परिवर्तन गर्न सक्ने सामथ्र्यको खोज गर्नुपर्छ । संघीय,प्रदेश र स्थानीय तहले चाहे प्रज्ञा प्रतिष्ठानका मातहत होस् वा अरु तहले होस् भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा छुट्याइने वजेटले बाल साहित्य,बाल खेलकुद,बाल सिर्जना जस्ता विषयमा केन्द्रित गर्नुपर्छ । यसरी गर्ने हो भने आजको बालक अबको चार वा पाँच वर्षमा लाठे हुन्छ । ती बालकलाई नैतिकता, इमान्दारिता, राष्ट्रप्रेम, राष्ट्रियता, सामाजिक सद्भाव र श्रममैत्री जस्ता विषयगत कविता, गीत आदि सिर्जनालाई प्रोत्साहित गरियो र तिनलाई पुरस्कृत गरियो भने भोलिको राष्ट्रिय माहौल नै गुणात्मक रुपमा फरक हुने निश्चित देखिन्छ । 

Related News