​चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न, औपचारिक उद्घाटन शनिवार हुने

दृष्टि न्यूज

काठमाडौं, २६ माघ । सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्ने जनाएको छ ।
शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन सुरु गरेको थियो ।
सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन सुरु गरेको छ ।
आयोजना निर्माणमा भएको ढिलाइले सरकारले करिब १६ अर्ब रुपैयाँ गुमाउन पुगेको छ । आठ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना सम्पन्न गर्न करिब  १५ अर्ब रुपैयाँ खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिएका छन् । 
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताइएको छ । प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्नेछ ।

Related News