जंगलमा भेटिए चन्दननाथका मूर्ति

काठमाडौं,२० पुस । जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट एक महिनाअघि चोरी भएका बहुमूल्य मूर्तिहरू मंगलबार बेवारिसे अवस्थामा भेटिएका छन् । देपालगाउँ–२ रोकायाबाडाको जंगल जाने बाटोछेउ मूर्तिहरू भेटिएका हुन् ।

मूर्ति फेला परेपछि धार्मिक परम्पराअनुसार बाजागाजासहित र्‍याली गरेर चन्दननाथ मन्दिरमा भित्र्याइएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले बताए । भेटिएको खुसियालीमा सदरमुकाम खलंगामा अबिर जात्रा पनि गरिएको छ । मन्दिरमा मूर्ति पुनस्स्थापना गर्दा सयौं भक्तजन उपस्थित थिए । १४ मूर्ति र दुईवटा शंख भेटिएको प्रहरीले जनाएको छ । बिहानै घाँसदाउरा गर्न हिँडेका स्थानीय माया गिरी, छाया गिरी र शीतला गिरीले देखेपछि आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए । ‘घाँसदाउरा गर्न जान लागेका थियौं, छरिएको अवस्थामा मूर्ति भेट्यौं,’ शीतलाले भनिन्, ‘मूर्ति कुरेर प्रहरीलाई खबर गर्‍यौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

गत मंसिरको दोस्रो साता चन्दननाथ मन्दिरबाट मुख्य दत्रात्तयलगायत २१ वटा मूर्ति चोरी भएका थिए । तीमध्ये कृष्ण बालगोपाल, गौतम बुद्ध, सरस्वती, मुकुट, पद्मासनमा बसेको पगरी गुथेको मूर्ति भेटिएको हो । त्यस्तै, गणेश, ठूलो तथा सानो बुद्ध मूर्ति, भगवती, बालगोपालको मुरली समातेको मूर्ति, पत्थरको हनुमान र दुईवटा शंख फेला परेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । ‘सुरक्षा घेराबन्दीमा परेपछि चोरले मूर्ति फालेर गएको हुनुपर्छ,’ उनले भने । सोमबार साँझसम्म चहलपहल भएको बाटोमा मंगलबार एकाबिहानै मूर्तिहरू फालेर चोर भागेको हुन सक्ने भन्दै स्थानीय बासिन्दाले अनुसन्धान नभएसम्म मूर्तिहरू उठाउन नदिने भन्दै दिनभर अवरोध गरेका थिए । तालिम प्राप्त कुकुर ल्याएर थप अनुसन्धान थालिएपछि मात्र मूर्तिहरू उठाउन दिएको स्थानीय कालीबहादुर महतले बताए । हराएका अरू मूर्ति पनि त्यसै क्षेत्रमा भेटिन सक्ने भन्दै प्रहरीले खोजी तीव्र पारेको छ । घटनाको थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पुनः झिकाइएको प्रहरीले जनाएको छ । 

Related News